गृहपृष्ठ नगर प्रोफाइल बनाउँदै बेलका नगरपालिका, मनमोहक डाँडाको चर्चा

नगर प्रोफाइल बनाउँदै बेलका नगरपालिका, मनमोहक डाँडाको चर्चा

बेलका नगरपालिकाले व्यक्ति–व्यक्तिको सम्पूर्ण विवरणसहितको नगर प्रोफाइल बनाउने तयारी गरेको छ । नगर प्रोफाइल बनाउन नगरपालिकाले सरोकारवालासँग गत शुक्रबार र शनिबार प्रारम्भिक छलफल पनि गरेको छ । नगरपालिकाको विकास, नागरिकको सुरक्षालगायतसँग जोडिने भएकाले नगर प्रोफाइल आवश्यक भएको नगरपालिकाले जनाएको छ ।

नगरवासीको सम्पूर्ण विवरण ऐनाजस्तै देखिने भएकाले घर–घरमा गएर व्यक्ति–व्यक्तिको प्रोफाइल तयार गरिने बताइएको छ । घर, टोल, व्यवसाय, शिक्षा, रोजगारी, कृषि, प्रविधि, स्वास्थ्य, सहकारी, पशु, सवारी साधन, जग्गा, लालपूर्जा, नागरिकता, व्यक्तिको जन्म, मृत्यु, विवाह, बसाइँ सराइँलगायत घरको तस्वीर र नक्सासमेत रहने गरी सम्पूर्ण विवरणसहितको तथ्यांक संकलन गर्दै यसलाई दैनिक अपडेट गर्ने व्यवस्था गर्ने नगरपालिकाको तयारी छ ।
जानकारहरुले भने ड्रोन क्यामराको माध्यमबाट नगरपालिकाको सिंगो डिजिटल नक्सा लिएर थ्रिडी इमेजसहितको नक्सा तयार पार्नुपर्ने, कुन र कसको घर कति डिग्रीमा छ, घर कहाँ पर्छ भन्नेसम्मको सिंगो नगरपालिकाको चित्र आउने गरी प्रोफाइल तयार पार्नुपर्नेमा जोड दिएका छन् ।

मन लोभ्याउने डाँडाको चर्चा
बेलका नगरपालिका वडा नं. ६ मा एउटा डाँडा छ । जहाँबाट बेलका नगरपालिकाका अधिकांश भू–भाग प्रष्टसँग देख्न सकिन्छ । बुद्धचोकबाट उत्तर १० मिनेटको दूरीमा रहेको यो डाँडालाई बेलका नगरपालिकाको पर्यटकीय क्षेत्रको रुपमा हेरिएको छ । जंगलको बीच र हाइटमा भएकाले निकै शीतल छ । डाँडासम्म पुग्ने सडक कच्ची भएकाले मोटरसाइकल पुगे पनि चारपांग्रेलाई भने अलि अप्ठ्यारो पर्ने गरेको स्थानीय कान्छा मोक्तानले बताए । ‘पानी नपर्दा त ठिकै छ, पानी पर्यो भने चाहिँ मोटरसाइकल पनि यहाँ आउन सक्दैन,’ उनले भने ।

हालैमात्र नगरपालिकाले नगर प्रोफाइलबारे सुरु गरेको छलफलमा पनि यो डाँडाबारे विशेष चर्चा भएको वडा नं. ६ का वडाअध्यक्ष बसन्तकुमार मगरले जानकारी दिए । उनका अनुसार यो डाँडा संरक्षणका लागि यही साता ३,९ र ६ नम्बर वडाका स्थानीयलाई समेटेर एक समिति बनाउने तयारी छ । ‘हामीले यसको रुपरेखा बनाउने काम गरिरहेका छौँ,’ वडाध्यक्ष मगरले भने, ‘कस्तो बनाउने, के–के राख्ने भन्नेबारे हामी डिजाइन गर्छौँ, अहिलेलाई यो क्षेत्र संरक्षण र हेरचाहको जिम्मा समिति बनाएर त्यसैलाई दिन्छौँ ।’ उनले यही वर्ष खानेपानी र शौचालयको व्यवस्था गर्ने तथा वरिपरी फूल रोप्ने काम गर्ने बताए ।

नाम के राख्ने ?
अहिले यो डाँडा ‘लभिङ डाँडा’को नामले परिचित छ । कतिपयले ‘लभ डाँडा’ पनि भन्ने गरेका छन् । तर, बेलकाका बौद्धिक जमातले भने यस्तो नाम नराख्न नगरपालिकालाई सुझाएका छन् । यसको नामबारे नगरपालिकामा सामान्य छलफलसमेत भएको बुझिएको छ । त्यसक्रममा संघीय समाजवादी फोरमका नगर अध्यक्ष टिकाराम थामीले लभ डाँडा नाम नराख्न सुझाव दिएका छन् । ‘साथीहरुले पत्रपत्रिकामा बेलका हाइट भनेर लेखेका छन्,’ उनले भने, ‘यो नाम नराम्रो छैन, यसैलाई मान्यता दिँदा हुन्छ ।’ बेलका नगरपालिकाका प्रमुख दुर्गा थापाले भने ‘पिरती चौतारी’ राख्नुपर्नेमा जोड दिएका छन् । ‘नामबारे विभिन्न सुझाव आएको छ,’ वडा अध्यक्ष मगरले भने, ‘स्थानीयले पनि लभिङ डाँडा भन्ने नामलाई परिवर्तन गर्न नहुने बताइरहेका छन्, अब हामीले बनाउने समितिलाई यसबारे छलफल गरी निर्णय लिन भन्ने छौँ ।’

तर, उक्त डाँडामा घुम्न जाने बहुसंख्यक पर्यटकले ‘बेलका हाइट’ राख्दा उपयुक्त हुने बताएका छन् । ‘यहाँ भोलि विदेशी पनि आउन सक्छन, त्यसैले नाम अलि राम्रो र भविष्य पनि सोचेर राख्दा राम्रो हुन्छ,’ डाँडा घुम्न आएका बराह खबरका प्रधान सम्पादक विजय राउतले भने, ‘बेलका हाइट नाम निकै राम्रो छ, नगरपालिकाकै नामबाट राख्न ठिक हुन्छ ।’ स्थानीय पत्रकार कर्ण श्रेष्ठले पनि बेलका हाइट नाम राख्दा उपयुक्त हुने बताए ।

प्रकाशित समय १३:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु