गृहपृष्ठ प्रदेश १ मा डेढ दर्जन ऐन निर्माण
प्रदेश १ मा डेढ दर्जन ऐन निर्माण
प्रदेश १ मा डेढ दर्जन ऐन निर्माण भएका छन् । प्रदेशसभाबाट पारित २० वटा विधेयकमध्ये १८ वटामा लालमोहर लागेपछि तीनले ऐनको रुप लिएका छन् । प्रदेश प्रमुखबाट लालमोहर लागेका यी ऐन कार्यान्वयमा आएका छन् ।
प्रदेश प्रमुख प्रा. डा. गोविन्दबहादुर तुम्बाहाङले प्रदेशसभाका विभिन्न बैठकबाट पारित भई आएका १८ वटा विधेयक प्रमाणीकरण गरेका छन् । उनले मंगलबारमात्र एकैदिन तीनवटा विधेयक प्रमाणीकरण गरेको प्रदेश प्रमुखको कार्यालयका सचिव रामकृष्ण गुरागाईंले जानकारी दिए ।
गुरागाईंका अनुसार प्रदेशसभा बैठकबाट पारित विपत व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सामाजिक विकास विधेयक र प्रशासकीय कार्य विधि (नियमित गर्ने) सम्बन्धमा बनेको विधेयक मंगलबार प्रमाणीकरण भएको हो ।
प्रदेश सरकारका सम्बन्धित मन्त्रालयले पेस गरेको विधेयकलाई प्रदेशसभाले पारित गरेपछि त्यसलाई कानुनको रुपमा दिन प्रदेश प्रमुखले प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
जसअनुसार संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख तुम्बाहाङले प्रमाणीकरणका लागि पेस भएका विधेयकहरुलाई लालमोहर लगाएका हुन् । विधेयक प्रमाणीकरणपछि आवश्य कानुन कार्यान्वयका लागि नियमन गर्न प्रदेश सरकारलाई सहज हुने भएको छ ।
प्रदेशसभा सचिवालका कानुन अधिकृत मञ्जु खड्काका अनुसार प्रदेशसभाले अहिलेसम्म २० वटा विधेयक पारित गरेको छ । दुईवटा विधेयक प्रदेशसभा सचिवालयमा दर्ता भएको छ । फागुन ७ गते प्रदेशसभाको गठन भएको थियो ।
प्रकाशित समय १९:४४ बजे

















