गृहपृष्ठ यसकारण चुलिँदैछ नेकपामा विवाद
यसकारण चुलिँदैछ नेकपामा विवाद
गुट नत्यागे समस्या बढ्छ : झलनाथ
पार्टीेकै वरिष्ठ नेतादेखि कार्यकर्तासम्मले सरकार र नेतृत्वको आलोचना गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपामा विवाद चुलिँदै गएको छ । संस्थापन पक्ष र संस्थापन पक्ष ईतरबीचको आरोप–प्रत्यारोपले विवाद बढाएको हो । वरिष्ठ नेता माधवकुमार नेपालले संसदमा सरकारको आलोचना गर्दै पार्टीको बैठक बोलाएपछि सतहमा आएको विवाद प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरु नेपालमाथि खनिन थालेसँगै उग्र बनेको छ । नेपाल पक्षधर नेताले भने सरकारलाई थप प्रभावकारी एवं सफल बनाउने उद्देश्यले सरकारको आलोचना गरिएको तर्क गरिरहेका छन् ।
नेता नेपालले संसदमा सरकारको कार्यशैलीको विरोध गरेका थिए । त्यसपछि पार्टीभित्र अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले एकलौटी गरेको भन्दै स्थायी कमिटी बैठक बोलाएर नेतृत्वको आलोचना गरेका थिए । प्रदेशको इन्चार्ज, सह–इन्चार्ज, अध्यक्ष र सचिव चयनमा नेपालको चर्को असन्तुष्टि छ । नेपालको यो असन्तुष्टिलाई ओली पक्षले ‘सरकारलाई घेराबन्दी गर्ने षड्यन्त्र’ का रुपमा बुझेका छन् । गत शनिबार गुल्मी पुगेका गृहमन्त्री रामबहादुर थापा ‘बादलले’ सरकारलाई घेराबन्दी गर्ने र ढाल्ने षडयन्त्र भइरहेको बताएका थिए । नेता नेपालले मुलुकमा हत्या तथा बलात्कार बढिरहेको भन्दै ‘देशमा गृहमन्त्री खोइ ?’ भन्दै प्रश्न गरेका थिए ।
यस्तै प्रधानमन्त्रीकै राजनीतिक सल्लाहकार विष्णु रिमालले ‘मानिसको पतन तब हुन्छ, जब आफ्नैलाई ढाल्न पराईसँग सल्लाह लिन शुरू गरिन्छ’, भन्दै ट्वीट गरेका थिए । यसरी नेपाल पक्षको आलोचनालाई ओली पक्षले कडा प्रतिवाद गर्दै आएका छन् भने नेपाल पक्ष प्रतिरक्षामा उत्रिएको छ ।
समाधान के हुन सक्छ ?
पार्टीका समस्या समाधानका बारेमा छलफल गर्न तत्काल स्थायी कमिटीको बैठक बस्नुपर्ने बरिष्ठ नेता झलनाथ खनाल बताउँछन् । गुटबन्दीले प्रश्रय पाउँदा पार्टी खोक्रो बन्ने भएकोले त्यो हटाउन सामूहिक छलफल हुनुपर्नेमा उनको जोड छ ।
‘एकीकृत नेकपा, राष्ट्रव्यापी नेकपा, जनव्यापी नेकपा, शक्तिशाली नेकपालाई विवादरहित र अझै सशक्त बनाउन तत्काल स्थायी समिति बैठकमा छलफल हुनुपर्ने देखिन्छ, अहिले केही समस्या देखिएका छन्, त्यसको समाधान बैठकमै खोजिनुपर्छ,’ खनालले भने,‘कुनै पनि नेताले गुटबन्दी गर्ने खालको कुरा गर्छ भने त्यो दुर्भाग्य हुन्छ ।’
पार्टीका निर्णय संस्थागत ढंगले निश्चित विधि, पद्धति र मापदण्डका आधारमा हुन थाले विवाद स्वतः समाधान हुँदै जार्ने बताउँछन् अर्का नेता बेदुराम भुसाल । वर्तमान स्थितिलाई योभन्दा बढी बिग्रन नदिन नेतृत्वले निश्चित मापदण्ड, विधि र पद्धतिका आधारमा संस्थागत निर्णय गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।
‘कुनै पदमा राख्दा व्यक्ति नहेरी मापदण्ड बनाएर अगाडि बढ्ने हो भने समस्या आउँदैन, तर अहिले त विधि, पद्धति र मापदण्ड नबनाइ मेरो नजिकको मान्छे प¥र्याे कि परेन भनेर बिग्रिएको हो’ भुसालले भने, ‘छलफल गरेर कमी–कमजोरी सच्याउँदै अगाडि बढ्नुपर्छ ।’
नेता नेपाल पक्षका नेताहरु संस्थापन पक्षलाई ठूलो दबाब दिन सफल भएको भन्ने विश्वासमा छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएका प्रधानमन्त्री ओली स्वदेश फर्किएलगतै आफूहरुको मागअनुसार बैठक बस्नेमा उनीहरु ढुक्क छन् । नेकपाका नेता सुरेन्द्र पाण्डे पनि स्थायी कमिटी बैठकमा सरकारको कामकारबाहीको समीक्षा तथा पार्टीको एकता प्रक्रिया छिटो टुंग्याउने सम्बन्धमा छलफल हुने बताउँछन् । स्थायी कमिटी राख्ने भनिए पनि नबसेको बताउँदै प्रधानमन्त्री ओली स्वदेश फर्किएपछि बैठक बस्न सक्ने उनले बताए । नेता नेपाल निकट मानिने पाण्डेले भने, ‘चाँडोभन्दा चाँडो स्थायी कमिटी बैठक राखेर छलफल हुन्छ ।’
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि विभिन्न सार्वजनीक कार्यक्रममा पार्टीको बैकठमार्फत सबै असन्तुष्टि समाधान हुने बताएका छन् । सरकारप्रतिको आलोचनालाई सरकार सफल पार्ने हिसाबले लिनुपर्ने बताउँदै उनले सरकारको विकल्पमा सोच्नु पार्टी, जनता र देश कसैको हितमा नहुने श्रेष्ठले टिप्पणी गर्दै आएका छन् ।
सांसद हुनेले संसदमा र सांसद नभएकाले सामाजिक सञ्जाल र मिडियामा आफ्ना असन्तुष्टि पोख्नु स्वभाविक भएको विश्लेषकहरु बताउँछन् । ‘माधव नेपालले विपक्षीलाई बल पुग्ने गरी सरकारलाई अप्ठेरोमा पारेका हुन् भने यसबारे पार्टीको बैठक बोलाएल छलफल गर्नुपर्ने हो,’ राजनीतिक विश्लेषक तथा वरिष्ठ अधिवक्ता वोर्णबाहदुर कार्की भन्छन्, ‘तर ओली आफैँ विदेशबाटै जवाफ फर्काउँदै हुनुहुन्छ, पार्टीभित्र छलफल गराउन प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई कसैले रोकेको छैन ।’
अध्यक्षद्वयभन्दा पछिल्ला वरियताका नेता नेपालले सरकार र पार्टी नेतृत्व विरुद्धको सार्वजनिक रुपमा अभिव्यक्ति दिनुभन्दा अघि पार्टीभित्र छलफल गर्नुपर्ने कार्कीको सुझाव छ ।
प्रकाशित समय १८:५२ बजे
















