गृहपृष्ठ प्रदेश १ सरकारले धुलो दूध उत्पादन गर्ने
प्रदेश १ सरकारले धुलो दूध उत्पादन गर्ने
प्रदेश १ सरकारले बिक्री नभएर खेर गइरहेको दूध सदुपयोग गर्दै धुलो दूध उत्पादन गर्ने भएको छ । प्रदेशका मुख्यमन्त्री शेरधन राईले प्रदेशमा उत्पादन भएर पनि बिक्री हुन नसकेको दूधलाई चालू आर्थिक वर्षदेखि नै खरिद गरी धुलो दूध उत्पादन सुरु गरिने बताएका हुन् ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा विराटनगरमा बिहीबार स्थापित पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको उद्घाटन गर्दै उनले प्रदेशमा मिल्क होलिडेमार्फत दैनिक खेर गइरहेको एक लाख लिटर दूधलाई दुग्ध विकास संस्थान केन्द्रले किसानसँग खरिद गरी धुलो दूधको रुपमा व्यवस्थापन गरिने जानकारी दिएका हुन् । प्रदेश १ का भूमि व्यवस्था मन्त्रीसमेत रहेका मुख्यमन्त्री राईले कृषिलाई आधुनिक व्यावसायिक उद्योगको रुपमा विकास गरी रोजगारी प्रदान गर्न सरकारले विज्ञहरुसँग परामर्श र छलफल गरिरहेको पनि बताए ।
मुख्यमन्त्री राईले कृषिलाई प्रदेशको समृद्धिको आधार बनाई यस क्षेत्रमा कृषिमा आधुनिक प्रविधिको प्रयोग गरी उत्पादन गृद्धि गरी आयात विस्थापन गर्न सरकारले कार्य गरिरहेको पनि जानकारी दिए । कार्यक्रममा सामाजिक विकासमन्त्री जीवन घिमिरेले युवापुस्तालाई कृषिक्षेत्रमा आकर्षित गर्न आधुनिक सीप र प्राविधिक ज्ञान दिनुपर्ने बताए । प्रदेशमा माछा, बंगुर र मसला जस्ता नगदे बालीको उत्पादन र बजार विस्तारका लागि सरकारले किसानलाई आवश्यक सम्पूर्ण सहयोग र सुविधा उपलब्ध गराउने उनको भनाइ छ ।
विराटनगरमा स्थापित कार्यालयले प्रदेशका १४ जिल्लामा पशुपन्छी तथा मत्स्य उत्पादन वृद्धिका लागि अनुगमन, निरीक्षण र स्थलगत रुपमा कृषकलाई प्राविधिक सहयोग उपलब्ध गराउनेछ ।
प्रकाशित समय १६:१८ बजे

















