गृहपृष्ठ प्रदेश १ का कांग्रेस सांसद राजधानी विकेन्द्रीकृतको विपक्षमा

प्रदेश १ का कांग्रेस सांसद राजधानी विकेन्द्रीकृतको विपक्षमा

प्रदेश नम्बर १ को नाम र राजधानीको टुंगो लगाउन प्रदेश सरकारले तयारी गरिरहेको बेला साझा धारणा बनाउन बसेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि नाम र राजधानीमा छलफल सुरु गरेको छ । छलफलमा राजधानी र नाममा टुंगोमा नपुगेपनि राजधानी विकेन्द्रीकृत गर्न नहुने पक्षमा कांग्रेसका अधिकांश सांसद उभिएका छन् ।

बिहीबार बसेको प्रदेश संसदीय दलको बैठकले राजधानी विकेन्द्रीत गर्न नहुने निर्णय गरेको कांग्रेसका सचेत सुयर्माराज राईले जानकारी दिए । राजधानी र प्रदेशको नामबारे पनि कांग्रेसले ठोस निर्णय गर्ने बताउँदै कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्र्कीले त्यसका लागि केहीदिनमा पार्टी नेतृत्वसहित अर्काे बैठक बस्ने जानकारी दिए ।

प्रदेशसभामा दुईतिहाई मत रहेको नेपाल कम्युनिष्ट पार्टीले राजधानी र नामबारे गएको आइतबार र सोमबार संसदीय दलको बैठकमा सांसदहरुको धारणा बुझेको थियो । बैठकमा केही सांसद र मन्त्रीहरुले धारणा राख्न भने बाँकी नै छ । नेकपाका ६७ सांसदमध्ये ५४ सांसदले बोलेपछि स्थगित भएको बैठक कहिले बस्ने भन्ने मिति तोकिएको छैन ।

नेकपाका सांसदहरुले नाम र राजधानीबारे मिश्रित धारणा राखेपनि राजधानी विकेन्द्रीकृत गर्न नहुने पक्षमा भने अधिकांश नेकपाका सांसद उभिएका छन् । मुख्यमन्त्री शेरधन राईले सबै सांसदको चित्त बुझाउनेगरी राजधानी विकेन्द्रीत गर्ने प्रस्ताव गरिरहेको बेला त्यसविरुद्ध आफ्नै पार्र्टी र विपक्षी सांसदहरु समेत उभिएपछि प्रदेश १ राजधानी विकेन्द्रीत नहुने लगभग निश्चित देखिएको छ ।

प्रकाशित समय ११:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु