गृहपृष्ठ टि–ट्वान्टी विश्वकप छनोट : नेपालको लगातार दोस्रो जीत, सन्दीपले लिए ५ विकेट
टि–ट्वान्टी विश्वकप छनोट : नेपालको लगातार दोस्रो जीत, सन्दीपले लिए ५ विकेट
फाइल तस्बिर
नेपालले टि–ट्वान्टी विश्वकप अन्तर्गत एसिया उपक्षेत्रीय छनोट प्रतियोगितामा लगातार दोस्रो जीत दर्ता गरेको छ ।
सन्दीप लामिछानेको उत्कृष्ट बलिङ र कप्तान पारस खड्काको अर्धशतकको मद्दतमा नेपालले घरेलु टोली मलेसियालाई ८ विकेटले पराजित गरेको हो । क्वालालम्पुरस्थित बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले दिएको १०१ रनको लक्ष्य नेपालले १२. ४ ओभरमा पुरा गर्यो ।
नेपालको जीतमा सन्दीपले ४ ओभरमा पाँच विकेट लिदै मात्र २० रन खर्चिए भने कप्तान पारसले नटआउट ५२ रनको योगदान गरे । मलेसियाको पारी धराप पार्ने क्रममा सोमपाल कामीले ३ विकेट लिएका थिए । उपकप्तान ज्ञानेन्द्र मल्लले २७ रन जोडे । ज्ञानेन्द्रले १३औं ओभरको चौथो बलमा छक्का प्रहार गर्दा नेपालले मलेसियाले दिएको समान्य लक्ष्य भेटिसकेको थियो ।
नेपालको सुरुवात भने राम्रो हुन सकेन । ओपनर अनिल शाह १ रन मात्र जोडेर पेभेलिएन फर्किए । अर्का ओपनर विनोद भण्डारीले १२ रनको योगदान गरे ।
मलेसियाका लागि सफिक सरिफले सर्वाधिक ४९ रनको योगदान गरे । लगातार दुई खेलमा जीतपछि नेपाल ४ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिेको छ । तीन खेलबाट मलेसियाले तीन अंक नै जोडेको छ ।
प्रकाशित समय १०:५४ बजे

















