गृहपृष्ठ फेरि विवादमा गोकुल बाँस्कोटा, पत्रकारले सोधे, ‘तपाईंले दसैं खर्च लिनुभाथ्यो ?’

फेरि विवादमा गोकुल बाँस्कोटा, पत्रकारले सोधे, ‘तपाईंले दसैं खर्च लिनुभाथ्यो ?’

सञ्चारमन्त्रीमा दम्भ बढ्यो : विश्लेषक

gokul-banskota-final

गत बिहीबार संसदीय समितिको बैठकमा पत्रकार र मिडियाबारे दिएको एउटा विवादास्पद अभिव्यक्तिपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा थप आलोचित बनेका छन् । संसदको विकास तथा प्रविधि समितिको बैठकमा उनले पत्रकारलाई ‘दसैं आएको छ पैसा लिन आए हुन्छ’ भनेका थिए ।

उनको यो अभिव्यक्तिलाई लिएर पत्रकारसँगै आमनागरिकले पनि विभिन्न माध्यमबाट असन्तुष्टि पोखिरहेका छन् । एउटा जिम्मेवार पदमा रहेका व्यक्तिले अरुको पेसागत मर्यादामा आँच आउने र अपमान हुने गरी दिएको यो अभिव्यक्तिलाई लिएर वर्षौंदेखि इमानदारीपूर्वक पत्रकारितामा सक्रिय पत्रकार निराश बनेका छन् । नेपाल पत्रकार महासंघले विज्ञप्ति निकालेरै मन्त्री बाँस्कोटाले दिएको अभिव्यक्तिको भत्र्सना गरेको छ भने कतिपय पत्रकारले सामाजिक सञ्जालमार्फत बाँस्कोटाप्रति रोष प्रकट गरेका छन् ।

यसअघि, नेपाल टेलिभिजनमा अराजक शैलीमा प्रस्तुत हुँदै ‘प्रश्न सहन नसकेर पत्रकारलाई जागिरबाट निकालेर’ विवादमा आएका बाँस्कोटा दिगम्भर झा नियुक्तिमा २० करोड घोटाला गरेको आरोपले तनावमा छन् । तर, मन्त्रीजस्तो पदमा रहेर सम्हालिन नसक्दा उनी एकपछि अर्को गर्दै अलोकप्रियताको सिँढी चढिरहेको विश्लेषक बताउँछन् । राजनीतिक विश्लेषक आनन्दराम पौडेल भन्छन्, ‘म चाहिँ गोकुल बाँस्कोटालाई निकै अगाडिदेखि चिन्छु । उनी पहिलेदेखि नै आक्रामक र रुखो स्वभावका थिए । त्यसैले अलि नजिक भएका साथीहरु पनि टाढा हुन्थे । सांसद हुँदै मन्त्री भएपछि सुध्रिन्छन् कि भनेको तर सुध्रिएनन् ।’

मन्त्री बाँस्कोटाको दम्भले नै उनलाई असफल बनाउने पौडेल बताउँछन् । ‘अरुको पेसाको मानमर्दन गर्ने मन्त्रीले सोच्नुपर्छ, आफ्नो पेसाबारे पनि कतै अरुले त्यस्तै भनिरहेका पो छन् कि !’ पौडेल भन्छन्, ‘यस्ता गैरजिम्मेवार अभिव्यक्ति दिन छाडेनन् भने घाटा उनलाई नै लाग्छ ।’

कुनै बेलाका पत्रकार नै हुन् बाँस्कोटा
गोकुल बाँस्कोटा स्वयं पनि कुनै बेलाका पत्रकार नै हुन् । झण्डै दुई दशक उनले पत्रकारिता गरेका छन् भने पत्रकारितामै स्नातक गरेका छन् । यतिमात्रै होइन, तत्कालीन एमालेनिकट प्रेस चौतारी नेपालका संस्थापक पनि हुन् बाँस्कोटा । उनी ०३८ देखि अनेरास्ववियु पाचौँमा आबद्ध भई राजनीतिमा लागेका थिए । नेकपा एमाले काभ्रेको ०६३ देखि ०७१ सम्म पार्टी प्रमुख (सचिव र पछि अध्यक्ष) जिम्मेवारी सम्हालेका बाँस्कोटा २०४८ सालमा अखिलको जिल्ला अध्यक्ष बनेका थिए भने राजनीतिमा सक्रिय नहुन्जेल लामो समय पत्रकारिता पेसामा आबद्ध थिए । अखिलको अध्यक्ष बनेपछि पनि उनी पत्रकारितामा सक्रिय थिए ।

दृष्टि साप्ताहिक, चेष्टा साप्ताहिक, छलफल साप्ताहिक, रेडियो नेपालको कार्यक्रम ‘घटना र विचार’ हुँदै आफैंले चलाएको सम्बोधन साप्ताहिकमा बाँस्कोटा सम्पादक थिए । उनी नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यसमेत भएका थिए । पत्रकारितामा उनको चतुर्याईंलाई धेरैले अहिले पनि सम्झन्छन् । वामपन्थी आन्दोलनका क्रममा बाँस्कोटाले पुलिस प्रशासनलाई समेत झुक्याएर तत्कालीन शाहजादी हेलेन शाहकै गाडीमा ०४६ सालको आन्दोलनका प्रचार सामग्री ओसारेका थिए ।

मान्छे जति नै इतिहास बोकेको वा राम्रो, चिल्लो, चतुर किन नहोस्, बोली रुखो छ भने अगाडि बढ्न मुस्किल पर्छ । बाँस्कोटाको छुच्चोपन र रुखो स्वाभावकै कारण तत्कालीन एमालेको पकड भए पनि ०७० सालको संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका कञ्चनचन्द्र वादेसँग काभ्रे २ बाट झिनो मतले पराजित भए । तर, वाम शक्ति एक ठाउँमा उभिएको र तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘आशीर्वाद’ पाएकाले २०७४ सालको निर्वाचनमा काभ्रे क्षेत्र नम्बर २ बाट बाँस्कोटा विजयी भए ।

उनी प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीका विश्वासपात्र मानिन्छन् । त्यसैले उनले सञ्चार तथा सूचना राज्यमन्त्री हुँदै मन्त्री बन्ने अवसर पाए । तर, मन्त्री भएपछि उनको दम्भ झन् बढेको पत्रकार प्रतीक प्रधान बताउँछन् । ‘सञ्चारमन्त्री भनेका सञ्चार जगतको अभिभावक पनि हुन् तर उनको अभिव्यक्ति सुन्दा यस्तो लाग्दैन,’ पत्रकार प्रधान प्रश्न गर्छन्, ‘उहाँले पत्रकारिता गर्दा चाडबाड खर्च लिने गर्नुभएको थियो र ?’

मन्त्रीको अभिव्यक्तिले पत्रकारिता क्षेत्रकै बदनाम भएको प्रधान बताउँछन् । ‘सञ्चारमन्त्रीको अभिव्यक्ति पत्रकारले आफ्नो पेसालाई मागी खाने भाँडो बनाएको भन्ने आशयमा आएको छ,’ उनले भने, ‘यो निकै खेदजनक छ ।’

‘आफ्ना गल्ती कमजोरीलाई पनि पत्रकारले राम्रो भन्दै लेखिदिउन् भन्ने चाहना उनमा देखिन्छ तर पत्रकारले लेखेनन्, त्यसैले उनी आक्रोशित छन्’

पत्रकार महासंघका महासचिव रमेश विष्ट पनि सञ्चारमन्त्री बाँस्कोटाको अभिव्यक्ति आपत्तिजनक र पत्रकारिता क्षेत्रकै मानमर्दन गर्ने खालको रहेको बताउँछन् । ‘मन्त्री बाँस्कोटाले अभद्र ढंगले प्रस्तुत हुँदै आमसञ्चार क्षेत्रमाथि आक्षेप लगाउनु आपत्तिजनक छ,’ विष्ट भन्छन्, ‘पत्रकारहरुलाई दसैं आएको छ, खर्च पुगेन भने लिन आउनु भन्ने मन्त्रीको अभिव्यक्तिले आमपत्रकारको अपमान भएको छ ।’

संविधानविद् एवं विश्लेषक नीलाम्बर आचार्य समाचार गलत भए त्यसको खण्डन गर्न पाइने तर पेसाप्रति नै वितृष्णा फैलिने गरी बोल्नु अस्वाभाविक हुने बताउँछन् । ‘मिडियामा आएको समाचार गलत छ भने यो समाचार गलत आयो भनेर खण्डन गर्नुपर्यो,’ उनी भन्छन्, ‘प्रेस जगतकै अपमान हुने गरी बोल्नु हुँदैन थियो ।’

किन झन्–झन् रुखो हुँदैछन् बाँस्कोटा ?
राजनीतिक विश्लेषक आनन्दराम पौडेल सञ्चारमन्त्रीमा दम्भ बढ्नुका तीन कारण रहेको बताउँछन् । ‘पहिलो कारण उनले चुनाव जिते, दोस्रो कारण उनको शिरमा पार्टी अध्यक्षको हात छ, तेस्रो कारण संसद छिर्नेबित्तिकै उनी दुईतिहाइ बहुमत प्राप्त सरकारको सञ्चारमन्त्री बने,’ पौडेल भन्छन्, ‘आफूलाई अहिले कसैले छुन नसक्ने कन्फिडेन्ट बाँस्कोटामा छ ।’

नेपाल टेलिभिजनमा पत्रकार राजु थापाले अन्तर्वार्ताका क्रममा कडा र असभ्य शैलीमा प्रश्न गरेको भन्दै मन्त्री बाँस्कोटाले थापाको जागिर खाइदिएका थिए । त्यतिबेला पनि उनको निकै आलोचना भयो । उनी दूरसञ्चार प्राधिकरणको प्रबन्ध निर्देशकमा दिगम्बर झालाई पुनः नियुक्त गर्न कम्मर कसेर लागेका थीए ।

स्वतन्त्र प्रतिस्पर्धाबाट छनौट गर्नुपर्ने पद टिका लगाएर दिइएकाे भन्दै एक दैनिक पत्रिकाले मन्त्री बाँस्कोटाले २० करोड घुस खाएको समाचार लेखेको थियो । सोही समाचारलाई लिएर सम्पूर्ण पत्रकारको अपमान हुने गरी मन्त्री बाँस्कोटाले अभिव्यक्ति दिएपछि नेकपाभित्र पनि यो विषयले चर्चा पाएको छ । ‘मन्त्रीले जवाफ कहाँ कसरी दिने भन्ने विषयमा सोच्नुपर्छ,’ नेकपाका एक नेताले भने, ‘उहाँले दिएको पछिल्लो अभिव्यक्तिबारे पार्टीभित्रका कतिपय साथी पनि सन्तुष्ट हुनुहुन्न ।’

आफूले गरेका राम्रा काममात्रै मिडियामा आउन् तर गल्ती र कमजोरी नआउन् भन्ने चाहना अपवादबाहेक सबैमा हुन्छ । तर, सञ्चारमन्त्री बाँस्कोटामा भने आफ्ना गल्ती कमजोरीलाई पनि पत्रकारले राम्रो भन्दै लेखिदिउन् भन्ने चाहना देखिएको कतिपय विश्लेषकहरु बताउँछन् । आफ्नो चाहनाअनुसार नलेखिदिएकाले बाँस्कोटाका अभिव्यक्ति प्रेस जगतमाथि नै प्रहार गर्ने गरी आउन थालेको अग्रज पत्रकारहरुको बुझाइ छ ।

प्रकाशित समय १३:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु