गृहपृष्ठ रामवीरको राजीनामाबारे नेकपामा शनिबार छलफल हुने
रामवीरको राजीनामाबारे नेकपामा शनिबार छलफल हुने
फाइल तस्बिर
सांसद रामवीर मानन्धरको राजीनामा घोषणा र वामदेव गौतमको उम्मेदवारीका विषयमा नेकपामा शनिबार छलफल हुने भएको छ । बुधबारका लागि बोलाइएको नेकपा सचिवालयको बैठक शनिबारका लागि सारिएको छ । बैठक सरेपछि मानन्धरको राजीनामा र गौतमको उम्मेदवारीका विषयमा शनिबार छलफल हुने भएको हो ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ व्यस्त रहेको भन्दै बुधबारको लागि तय गरिएको सचिवालय बैठक शनिबारका लागि सारिएको हो । यसअघि सोमबार बसेको बैठकमा नेता माधवकुमार नेपालले छलफलका छुट्टै बुँदा लिखित रुपमा राखेका थिए ।
नेपालले दर्ता गराएको ‘असहमति पत्र’ र मातहतका कमिटी एकता प्रक्रियाको विषयमा पनि शनिबार नै छलफल हुने भएको छ । वरिष्ठ नेता नेपालले पार्टी मुख्यालयमा आफ्नो असन्तुष्टि पत्र नै दर्ता गराएका छन् । असोज ५ गतेको सचिवालय बैठकका निर्णय विवादमा आएपछि यो बैठकले समाधान खोज्ने अनुमान छ । तर सहजै समस्याको समाधान निस्कने सम्भावना भने छैन ।
आन्तरिक विषयमै अल्झेको नेकपाले सरकार संचालनबारे पनि छलफल गर्ने बताइएको छ ।
गएको शुक्रबार दुवै अध्यक्षबीच भएको छलफलपछि सचिवालय बैठक डाकिएको हो । बैठकमा नेता नेपालको असहमति पत्र, प्रदेश कमिटी सदस्य र जिल्ला कमिटी पदाधिकारी तथा सदस्यबारे पूर्वनिर्धारित मापदण्डमा थप मापदण्ड बनाउने विषयमा छलफल गर्ने योजना थियो ।
वरिष्ठ नेता नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ विदेशमा रहँदा सचिवालय बैठकले प्रदेश कमिटी इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव चयन गरेपछि नेपालले विमति जनाएका हुन् । प्रभावशाली नेता मानिने नेपाल पक्षका नेताहरु प्रदेश स्तरीय नेता चयनमा नपरेपछि यो मुद्दालाई उनले पेचिलो बनाएका छन् । नेता नेपालले संसदम पनि सरकारको आलोचना गरेका थिए ।
प्रकाशित समय १२:२१ बजे

















