गृहपृष्ठ हार्ने गरी उपचुनाव हुँदैन : प्रचण्ड
हार्ने गरी उपचुनाव हुँदैन : प्रचण्ड
फाइल तस्बिर
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको सिट गुम्ने गरी उपनिर्वाचन नहुने बताएका छन् । काठमाडौं क्षेत्र नम्बर ७ मा हालका सांसद रामवीर मानन्धरलाई राजीनामा गराएर हुने उपनिर्वाचनमा नेता वामदेव गौतमलाई उम्मेदवार बनाउने चर्चाकाबीच प्रचण्डले यस्तो बताएका हुन् ।
बर्दिया १ बाट कांग्रेस नेता सञ्जय गौतमसँग पराजित भएका नेकपाका नेता गौतमका लागि काठमाडौं ७ का सांसद मानन्धरले राजीनामा दिने घोषणा गरिसकेका छन् । त्यसपछि उपनिर्वाचन हुने चर्चा भइरहेको नेकपाका अध्यक्ष दाहालले भने यसबारेमा गम्भीर छलफल हुने बताए ।
पाथिभरा सद्भावना दूत परिचयपत्र वितरण तथा दसैं, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले भने ‘आज पनि प्रधानमन्त्री र म यही विषयमा कुरा गरेका थियौं, पार्टीले निर्णय गर्न बाँकी छ, हाम्रो सिट गुम्ने गरी चुनाव हुँदैन ।’
उनले आफूले प्रधानमन्त्रीसँग गम्भीर छलफल गरिरहेको भन्दै केही दिनभित्रै महत्वपूर्ण निर्णय लिने बताए । नेकपाले आफ्नो कामको समीक्षा गर्दै कमी कमजोरी सच्याएर अघि बढ्ने समय रहेको भन्दै उनले निराश नहुन आग्रह गरे । अहिले सरकार ५ वर्ष चल्नका लागि कुनै व्यवधान नभएको भन्दै प्रचण्डले सरकारका मन्त्री र नेताहरुले आफ्नै कामको समीक्षा गर्दै कमी कमजोरी भए सच्याउँदै अघि बढ्ने अवसर रहेको बताए ।
प्रकाशित समय १९:०० बजे

















