गृहपृष्ठ बुद्ध एयर २२ औं वर्षमा, तीन वर्षपछि अन्तर्राष्ट्रिय उडान

बुद्ध एयर २२ औं वर्षमा, तीन वर्षपछि अन्तर्राष्ट्रिय उडान

नेपालकै निजी क्षेत्रको सफल विमानसेवा कम्पनी बुद्ध एयर २२औं वर्षमा प्रवेश गरेको छ । आन्तरिक उडानमा स्थापित बुद्ध एयरले सन् १९९७ देखि हवाई यात्रा सुरु गरेको हो ।

स्थापनाको २१ वर्ष पूरा गरेको अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले पोखरा विमानस्थल सम्पन्न भएसँगै अन्तर्राष्ट्रिय उडान सुरु गर्ने जानकारी गराए । पोखरा विमानस्थल तीन वर्षपछि अर्थात् सन् २०२१ जुनमा सम्पन्न हुँदैछ ।

‘हाम्रो अबको लक्ष्य भनेकै पोखरा विमानस्थल हो,’ उनले भने, ‘पोखरा विमानस्थलको सम्भावना बुझेरै हामीले त्यसलाई विशेष प्राथमिकतामा राखेर अघि बढेका हौं ।’ अन्तर्राष्ट्रिय उडानलाई पब्लिक कम्पनीमा लैजाने उनले घोषणा गरे । अन्तर्राष्ट्रिय उडानको ३० प्रतिशत सेयर कम्पनीमा रहनेछ भने ३० प्रतिशत सर्वसाधारणले पाउनेछन् । ‘बाँकी ४० प्रतिशतमध्ये ३० प्रतिशत अन्तर्राष्ट्रिय रणनीतिक साझेदारलाई दिइनेछ,’ प्रबन्ध निर्देशक बस्नेतले भने, ‘बाँकी १० प्रतिशत हवाई क्षेत्रमा आउन चाहने स्वदेशी संघ–संस्था या व्यक्तिले पाउनेछन् ।’ आन्तरिक उडान भने पब्लिकमा नजाने उनले प्रस्ट पारे ।

आफ्नो हवाई सेवा कम्पनी सफल हुनुको मूल कारक मानव संसाधन भएको उनले बताए । ‘मानव संसाधन तथा पूर्वाधारमा लगानी र फन्ड व्यवस्थापन नै बुद्ध एयरलाइन्स सफल हुनुको मुख्य कारक हो,’ उनले भने ।

बुद्ध एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको लाइसेन्स लिएर काठमाडौंबाट भारतको बनारस उडान भरिरहेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि भारत र चीन उडान सुरु गरिने प्रबन्ध निर्देशक बस्नेतले जानकारी गराए । भारतका १० भन्दा बढी सहरमा उडान भर्ने बुद्धको तयारी छ ।

पहिलोपटक १९०० डी जहाजमार्फत उडान सुरु गरेको बुद्ध एयरसँग हाल दुईवटा १९०० डी बिचक्राफ्ट, चारवटा एटीआर ४२ र पाँचवटा एटीआर ७२ जहाज छन् ।

प्रकाशित समय १८:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु