गृहपृष्ठ डेंगु नियन्त्रणका लागि पोखरा महानगरको सचेतना अभियान

डेंगु नियन्त्रणका लागि पोखरा महानगरको सचेतना अभियान

dengu-newskarobar

पोखरामा डेंगु संक्रमण देखिएसँगै सचेतना अभियान सुरु गरिएको छ । असोज पहिलो सातादेखि सुरु भएको डेंगुको संक्रमण बढ्दै गएपछि पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाले सचेतना अभियान सुरु गरेको हो । पोखरामा एक महिनामा २८ जना डेंगुका बिरामी फेलापरेपछि सचेतना अभियान सुरु गर्नुपरेको पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका निर्देशक हेमन्त पौडेलले जानकारी दिए ।

असोज पहिलो साता पोखरा महानगरपालिका–८ का दुई जनामा डेंगु पुष्टि भएको थियो । डेंगुका बिरामी खोजी गर्दै जाँदा गण्डकी मेडिकल कलेज, चरक मेमोरियल र फेवासिटी हस्पिटलमा उपचार गर्न पुगेका २८ जना बिरामीमा संक्रमण भेटिएको निर्देशक पौडेलले बताए । हाल पोखरामा भेटिएको डेंगु संक्रमण अति घातक भने नभएको तर पूर्व सावधानी र सतर्कता जरुरी रहेको उनको भनाइ छ ।

‘पोखरा महानगरपालिका–८ मा सचेतना जगाउँदै, पानीका भाँडा खोजतलास गरी पानी नष्ट गर्ने काम गरेका छौं,’ उनले भने, ‘अब अन्य वडामा सचेतना अभियान सुरु गर्छौं ।’ खुला भाडामा धेरै दिनसम्म सफा पानी राख्नाले वा कुनै स्थानमा नबग्ने गरी सफा पानी भए पनि लामखुट्टेले धेरै फूल पार्न सक्ने निर्देशक पौडेलले बताए ।

गण्डकी मेडिकल कलेजका मेडिसिन विभाग प्रमुख डा. तीर्थलाल उपाध्यायले हालसम्म अस्पतालमा १० जना डेंगुका बिरामी भेटिएको बताए । उनका अनुसार हालसम्म भेटिएका डेंगुका बिरामी सामान्य उपचारपछि घर फर्किएका छन् । डेंगु संक्रमणलाई समयमै रोकथाम गर्न नसके बढी रक्तश्राव भएर मानिसको ज्यान जान सक्ने उनले जानकारी गराए । उनका अनुसार पोखराको नागढुंगा क्षेत्रमा बढी डेंगुको संक्रमण देखिएकोछ । पोखरामा दुई वर्षअघि पनि केही मानिसमा डेंगुको संक्रमण देखिएको थियो ।

गण्डकी प्रदेशको राजधानी पोखरामा डेंगुका बिरामी भेटिएसँगै प्रदेश सरकारले समेत चासो दिएको छ । सामाजिक विकास मन्त्रालयका स्वास्थ्य निर्देशक डा. तारा अधिकारीले पोखरामा डेंगु संक्रमित भेटिएसँगै प्रदेश सरकारले रोकथामका लागि सचेतना अभियानमा महानगरपालिकासँग सहकार्य गर्ने बताए ।

वान्ता हुने, शारीर कमजोर हुने, खानामा रुचि नहुने, शारीरमा साना–साना राता दाना हुने जस्ता लक्षण देखिनासाथ नजिकको अस्पतालमा स्वास्थ्य जाँच गराउन उनले आग्रह गरेका छन् । लामखुट्टेबाट सर्ने डेंगु रोग नियन्त्रण तथा रोकथामका लागि समुदायमा अभियान सञ्चालन गर्ने तयारी प्रदेश सरकारले गरेको छ ।

प्रकाशित समय १४:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु