गृहपृष्ठ प्राविधिक शिक्षालय सञ्चालन प्रक्रिया अघि बढ्यो
प्राविधिक शिक्षालय सञ्चालन प्रक्रिया अघि बढ्यो
प्रदेश १ को सरकारले पहिलो बहुप्राविधिक शिक्षालय सञ्चालनको प्रकृया अगाडी बढाएको छ । प्रदेश सरकारको आइतबार साँझ बसेको मन्त्रीपरिद बैठकले बहुप्राविधिक शिक्षालय सञ्चालनका लागि आवश्य विधेयक निर्माणका लागि सामाजिक विकास मन्त्रालयलाई सैैद्धान्तिक सहमति दिएको छ ।
सरकारले सैद्धान्तिक सहमति दिएसँगै मोरङको हात्तीमुडामा मनमोहन मेमोरियल पोलिटेक्निकलाई प्रदेशको पहिलो बहुप्राविधिक शिक्षालय सञ्चालनको बाटो खुलेको छ ।
सामाजिक विकास मन्त्रालयले मनमोहन मेमोरियल पोलिटेक्निकलाई बहुप्राविधिक शिक्षालयका रुपमा सञ्चालनका लागि मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा यसअघि नै प्रस्ताव लगेको थियो ।
सामाजिक विकास मन्त्रालयका उपसचिव एवं प्रवक्ता फणिन्द्र खत्रीका अनुसार मन्त्रीपरिषद्को बैठकले मनमोहन प्राविधिक विश्व विद्यालय सम्बन्धी बिधेयक निर्माणका लागि मन्त्रालयलाई सैद्धान्तिक स्वीकृत दिएको छ ।यो सँगै अब आवश्य कानुन निर्माण गरी मनमोहन मेमोरियल पोलिटेक्निकलाई प्रदेश सरकारको मातहतमा सञ्चालन गरिने गरी प्राविधिक विश्व विद्यालय बनाउने प्रकृयाले अगाडी बढ्ने छ ।
सामाजिक विकास मन्त्रालयले ६ महिनाभित्र आवश्य कानुन निर्माण गरी एक वर्षभित्र मनमोहन पोलिटेक्निकलाई वहुप्राविधिक शिक्षालय बनाउने योजनासहित आवश्यक गृहकार्य थालेको थियो ।
प्रदेश सरकारले बहुप्राविधिक शिक्षाको विकासका लागि मनमोहनलाई प्राविधिक विश्व विद्यालयको रुपमा सञ्चालनका लागि बजेट समेत विनियोजन गरेको थियो ।
मन्त्रालयका अनुसार मनमोहन पोलिटेक्निकलाई यो चालु आर्थिक वर्षका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्न साढे २ करोड रुपैयाँ विनियोजित गरिएको छ ।प्रदेशकै अब्बल प्राविधिक शिक्षालय बनाउने सरकारको योजना अनुरुप अब मन्त्रालयले काम अगाडि बढाउने सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए ।
उनले बहुप्राविधिक शिक्षालाय सञ्चालनमा आएसँगै प्रदेश १ अन्तर्गत पर्ने १४ जिल्लाका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गरिने लक्ष्य राखिएको जानकारी दिए । हाल सो पोलिटेक्निकमा डिप्लोमा इन इन्जिनियरिङ अन्तर्गतका सिभल, मेकानिकल, इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स विषयमा पढाइ भइरहेको छ ।प्रदेश सरकार मातहतमा आएसँगै सो बहुप्राविधिक शिक्षलायमा कृषि, भेटनेरी, हेल्थ र इन्जिनियरिङ कक्षा सञ्चालनको तयारी छ ।
मनमोहन स्मृति प्रतिष्ठानका सदस्य तथा मेमोरियल पोलिटेक्निकका सूचना प्रमुख सत्यनारायण चौधरीले प्रदेश सरकारको योजना अनुसार बहुप्राविधिक शिक्षालय सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार प्रर्याप्त रहेको बताए । मनमोहन पोलिटेक्निकले अहिले आधारभूत र मध्यमस्तरको तालिम र प्राविधिक शिक्षा दिँदै आएको छ ।
प्रकाशित समय १६:१५ बजे

















