गृहपृष्ठ प्रदेश १ योजना आयोगमा मानवअधिकारकर्मी प्याकुरेल
प्रदेश १ योजना आयोगमा मानवअधिकारकर्मी प्याकुरेल
प्रदेश १ सरकारले प्रदेशमा योजना निर्माणका लागि प्रादेशिक योजना आयोग गठन गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको गठन आदेश पास गर्दै प्रदेश योजना आयोग गठन गरेको छ ।
बैठकले प्रादेशिक योजना आयोगको उपाध्यक्षमा मानवअधिकारकर्मी सुवोधराज प्याकुरेललाई नियुक्ति गरिएको सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सरकारका प्रवक्ता हिक्मत कार्कीले जानकारी दिए । प्याकुरेल विराटनगर निवासी हुन् ।
त्यसैगरी, आयोगको सदस्यमा मीना भण्डारी र पुर्ण लक्समलाई नियुक्त गरेको छ । हाललाई तीन सदस्यीय समिति रहेको आयोगमा दुईजना सदस्य थप गरिने मन्त्री कार्कीले जानकारी दिए ।
मन्त्रिपरिषद बैठकपछि आयोजित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले प्रदेश १ को सार्वजनिक खर्च मापदण्ड र मितव्ययतासम्बन्धी निर्देशिका २०७५ तथा प्रदेशको आन्तरिक नियमावली कार्यविधि २०७५ स्वीकृति दिने निर्णयसमेत गरेको जानकारी दिए ।

त्यसैगरी मन्त्रिपरिषदको बैठकले सुनसरीको कोशी गाउँपालिकास्थित कोशी कटानक्षेत्र नियन्त्रण परियोजना अघि बढाउन तथा मध्यपहाडी लोकमार्गअन्तर्गत तेह्रथुम र फिदिमलाई नयाँ सहरका रुपमा विकास गर्र्ने स्वीकृति प्रदान गर्ने निर्णयसमेत गरेको छ । यी दुई सहरलाई व्यवस्थित गर्न केन्द्र सरकारबाट १७ करोड रुपैयाँ विनियोजन भइसकेको छ । यसैगरी, मन्त्रिपरिषद बैठकले प्रदेश १ सरकारको मातहतमा रहेका भौतिक सम्पत्ति प्रदेश सरकारमातहत ल्याउने निर्णय गरेको छ ।
यसैगरी, संविधानसँग मेल खाने शब्द भएका सरकारी कार्यालयलाई १५ दिनभित्र संविधानसम्मत हुने गरी परिमार्जन गर्ने निर्णयसमेत गरेको छ । कोशी प्रतिष्ठान विधेयक मस्यौदा स्वीकृत प्रदान गर्ने तथा प्रदेश विकास स्वयंसेवक परिचालन कार्यक्रम– २०७५ लाई स्वीकृति प्रदान गर्ने निर्णयसमेत गरेको छ । मन्त्रिपरिषद बैठकले झापाको दमकमा रहेको ग्रामीण सडक सुधार सञ्जाल आयोजनालाई प्रदेश सरकारको मातहतमा ल्याउने निर्णय पनि गरेको छ ।
प्रकाशित समय १३:०८ बजे

















