गृहपृष्ठ सिंहदरबारमा करार कर्मचारीको धर्ना, जागिर खोसिए विद्रोह गर्ने चेतावनी

सिंहदरबारमा करार कर्मचारीको धर्ना, जागिर खोसिए विद्रोह गर्ने चेतावनी

सिंहदरबारमा थप प्रहरी परिचालन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि अस्थायी, करार र ज्यालादारी कर्मचारी धर्नामा बस्न थालेपछि सुरक्षा व्यवस्था कडा गरिएको छ । सरकारले उनीहरुलाई कामबाट हटाउने निर्णय गरेपछि सिंहदरबारस्थित सामान्य प्रशासन मन्त्रालय अगाडि धर्ना दिँदै आएका छन् ।

कर्मचारी धर्नामा बस्न थालेपछि मन्त्रालय परिसर अगाडि प्रहरीले सुरक्षा घेरा बढाएको छ । सिंहदरबार प्रवेशमा परिचयपत्र, प्रवेशपत्र वा नागरिकताको जाँचमा समेत कडाइ गरिएको छ । संघीय संरचनानुसार समायोजनमा परेर हटाइएका कर्मचारीले आफ्नो रोजीरोटीको सुनिश्चितता गर्न माग गर्दै कार्यालय समयमा मन्त्रालयको प्रवेशद्वारमा दैनिक चार घण्टा धर्ना दिन थालेपछि  सुरक्षाकर्मीले कडाई गर्न थालेका हुन् ।

विभिन्न मन्त्रालय, विभाग, आयोग, सचिवालय, कार्यालय र जिल्ला अन्तर्गतका अस्थायी, करार र ज्यालादारी कर्मचारीले २४० दिन काम गरेकालाई स्थायी प्रक्रियामा सामेल गराउन माग गर्दै तीन दिनदेखि धर्नामा बस्दै आएका छन् । करार, ज्यालादारी कर्मचारीलाई विगतमा सरकारले गरेको सम्झौताअनुसार व्यवस्थापन गर्न आपूुहरुले माग गर्दै आएको आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष भोला पोखरेलले बताए ।

उनले न्यूज कारोबारसंग भने, ‘अस्थायी, करार, ज्यालादारी र ठेकेदारी कर्मचारीलाई सरकारले नियम र विगतमा भएका सम्झौता अनुसार व्यवस्थापन गर्नुपर्छ ।’ सरकारले ३२ हजार कर्मचारीको रोजिरोटी खोस्न लागेको भन्दै उनले त्यसो भए विद्रोह हुने चेतावनी दिए ।

अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघका संयोजक कुमार राउतले आफूहरुको रोजिरोटी नखोस्न सरकारलाई चेतावनी दिएका छन् । माग पूरा नभए सिंहदरबारमा जे पनि गर्न सकिने उनको चेतावनी छ । ‘छठसम्म माग पूरा नभए सशक्त आन्दोलन गर्छौँ । हामी मर्न पनि तयार छौँ । रोजिरोटी खोसिएका कर्मचारीका परिवारलाई सिंहदरबार छिराउँछौँ,’ उनले भने ।

प्रकाशित समय १३:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु