गृहपृष्ठ मन्त्री स्थापितलाई बर्खास्त गर्ने तयारी
मन्त्री स्थापितलाई बर्खास्त गर्ने तयारी
पार्टीमा छलफल गर्न मुख्यमन्त्री काठमाडौं आउँदै
एकपछि अर्काे विवादमा मुछिएपछि प्रदेश ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थापितको पद संकटमा परेको छ । यौन दुव्यवहारको आरोप खेप्दै आएका उनीमाथी मुख्य मन्त्रीलाई अभद्र व्यवहार गरेको आरोप लागेपछि पदबाट हटाउने चर्चा चलेको छ ।
प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई अभद्र व्यवहार गरेको भन्दै नेकपाका केही नेताहरुले मन्त्री स्थापितलाई हटाउनेबारेमा छलफल सुरु गरेका छन् ।
‘नेकपाकै नेताहरुको आग्रहमा मुख्यमन्त्री पौडेलले मन्त्री स्थापितलाई हटाउने प्रक्रिया सुरु गरेका छन्, स्थापितलाई हटाउने विषयमा नेकपा नेतृत्वसँग परामर्श गर्न मुख्यमन्त्री ज्यू बिहीबार काठमाडौं आउदै हुनुहुन्छ,’ प्रदेश ३ का एक मन्त्रीले भने । मुख्यमन्त्रीसँगै अर्थ तथा योजना मन्त्री कैलाश ढुंगेल पनि काठमाडौं आउन लागेका छन् ।
मुख्यमन्त्री पौडेलले स्थापितसँग काम गर्न नसकिने जानकारी गराएका छन् । बुधबारको मन्त्रिपरिषद् बैठक सकिनासाथ उनले मुख्यमन्त्री पौडेलसामु अभद्र व्यवहार देखाएका थिए । बैठकका सकिएसँगै स्थापितले मुख्यमन्त्रीसँग मन्त्रिपरिषदका निर्णयबारे केही कुरा गर्नुछ भन्दै गालीको शैलीमा आफ्ना कुरा राखेका थिए ।
‘बैठक सकिएलगतै स्थापितले मुख्यमन्त्रीलाई एकोहोरो गालीगलौज गरे, अशिष्ट, अमर्यादित भाषा प्रयोग गरे, व्यक्तिगत विषयमा समेत टिका टिप्पणी गरे ’ प्रदेश ३ का एक मन्त्रीले न्युज कारोबारसँग भने ।
स्थापितले यसअघि पनि पटकपटक मुख्यमन्त्रीसँग अभद्र व्यवहार गर्दै आएका थिए । फागुनमा प्रदेश सरकार बनेसँगै मुख्यमन्त्री पौडेलले गठन गरेको पहिलो पटकको मन्त्रिमण्डलमा स्थापित परेका थिए ।
यसअघि काठमाडौं महानगरपालिकाको मेयर हुँदा महिला हिंशा गरेको भन्दै उनीमाथि आरोप लागेको थियो । रश्मिला प्रजापतिले मिटू अभियानमार्फत स्थापितलाई आरोप लगाएकी हुन्् । अर्की सञ्चारकर्मी उज्जवला महर्जनले पनि स्थापितले अनावश्यक फोन कल गरेको आरोप लगाएकी छन् ।
यद्यपी स्थापितले सो आरोपको प्रतिवाद गर्दै प्रमाणित गर्न चुनौती दिदै आएका छन् ।
प्रकाशित समय १९:०८ बजे

















