गृहपृष्ठ बुटवलमा राष्ट्रिय छात्रा भलिबल प्रतियोगिता सुरु
बुटवलमा राष्ट्रिय छात्रा भलिबल प्रतियोगिता सुरु
उद्घाटन खेलमा एभरेस्ट आवासीय मावि विजयी
बुटवलमा एभरेस्ट कप राष्ट्रिय छात्रा भलिबल प्रतियोगिता सुरु भएको छ । एभरेस्ट माध्यमिक विद्यालय बुटवलको आयोजनामा भएको प्रतियोगिताको पहिलो दिनमा १० वटा खेल भएका छन् । पहिलो दिनमा भएका खेलबाट विजयी भएका समूह अघिल्लो चरणमा प्रवेश गरेको छ । बिहीबारको खेलमा काभ्रे जिल्ला भलिबल संघलाई आयोजक एभरेस्ट माविले हराएर अघिल्लो चरणमा प्रवेश गरेको छ ।
यस्तै, सुदूरपश्चिमाञ्चल एकेडेमी कैलालीले रुद्रपुर पिसल्यान्ड भूपू सैनिक रुपन्देहीलाई, जानकी माध्यमिक विद्यालय चितवनले सगरमाथा माविलाई, थ्रिस्टार एकेडेमी काठमाडौंले विसडम एकेडेमी कञ्चनपुरलाई हराएर अघिल्लो चरणमा प्रवेश पाएको छ । त्यसैगरी, सिद्धमावि दाङले नवज्योति मावि रुपन्देहीलाई र ज्ञानज्योति मावि बाँकेले प्यारामाउन्ट मावि काठमाडौंलाई पराजित गरेका छन् ।
यस्तै न्यु डायमन्ड एकेडेमी काठमाडौं र टप्स मावि कास्कीले वाक ओभर पाएर विजयी भएका छन् । प्रतियोगिताअन्तर्गत बिहीबार पहिलो चरणका खेलहरु सम्पन्न भएका तथा दोस्रो चरणका खेलहरुमा शुक्रबार प्रिक्वाटर फाइनल र क्वाटरफाइनलका खेलहरु हुने प्रतियोगिता संयोजक अर्जुन घिमिरेले जानकारी दिए । प्रतियोगिताको उद्घाटन गर्दै नेपाल भलिबल संघका केन्द्रीय अध्यक्ष मनोरञ्जन शरण शर्माले भलिबल खेलको विकास आशा लागेजस्तो नभएकाले यसको विकासमा राज्यले गम्भीरताका साथ सोच्नुपर्ने बताए ।
उनले मुलुकमा तीन सरकार भएकाले तीनै सरकारले खेल क्षेत्रको विकासमा योजनाबद्ध भई लाग्नुपर्ने सुझाव दिए । उनले भलिबलको विकासका लागि संघका तर्फबाट छात्रा भलिबलका लागि ५० हजार सहयोग गरेको उद्घोषसमेत गरे । एभरेस्ट मावि विद्यालय सञ्चालक समितिका अध्यक्ष गमप्रसाद रेग्मी, हिसान रुपन्देहीका अध्यक्ष कृष्ण पौडेल, प्याब्सन बुटवल नगर समितिका अध्यक्ष कुलराज शर्मा, विद्यालयका प्रिन्सिपल कृष्ण न्यौपाने, वरिष्ठ सहायक प्रिन्सिपल माधव आचार्य, शिक्षक माधव पौडेललगायतले भलिबलको विकासमा सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताए ।
कात्तिक १७ गतेसम्म चल्ने प्रतियोगितामा काठमाडौं, बुटवल, पोखरा, दाङ, धनगढी, नेपालगन्ज, कञ्चनपुर, चितवन, काभ्रे र रुपन्देहीका गरी १६ समूहले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।
प्रकाशित समय १९:४६ बजे
















