गृहपृष्ठ पर्यटन क्षेत्रको लगानीका लागि नेपाल मुख्य गन्तव्य : ढकाल
पर्यटन क्षेत्रको लगानीका लागि नेपाल मुख्य गन्तव्य : ढकाल
फाइल तस्बिर
आईएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन क्षेत्रको लगानीका लागि नेपाल मुख्य गन्तव्य भएको बताएका छन् । चाइना एड्भेन्चर टुरिजम फोरमद्वारा मंगलबार राजधानीमा आयोजित ‘हिमालयन समिट’ मा अध्यक्ष ढकालले पर्यटन पूर्वाधार निर्माण गर्न र अन्तर्राष्ट्रियस्तरको सेवा प्रदान गर्न नेपालमा दक्ष तालिमप्राप्त शिक्षित युवा जनशक्ति तयार हुँदै गएको बताए ।
काठमाडौंको दक्षिण पश्चिम पर्वतमा निर्माण भएको एकीकृत पर्यटकीय पूर्वाधार चन्द्रागिरि हिल्सका अध्यक्षसमेत रहेका ढकालले नेपाल अद्वितीय प्राकृतिक एवं सांस्कृतिक धरोहरको केन्द्र रहेको बताए । माउन्ट एभरेस्ट, उच्च हिमशृंखला र बुद्व जन्मस्थल लुम्बिनीमा संसारका पर्यटकको मुख्य आकर्षण रहेको महासंघका उपाध्यक्ष ढकालको भनाइ छ । ‘यस्ता प्रचुर सम्भावना नेपालका अन्य क्षेत्रमा पनि छन्,’ उनले भने, ‘नेपालमा स्थिर सरकार बनेकाले लगानीका लागि सुरक्षित वातावरण निर्माण भएको छ, यसबाट भरपुर फाइदा लिन म विश्वभरका लगानीकर्तालाई आग्रह गर्छु ।’
नेपालको धार्मिक र सांस्कृतिक पर्यटनको प्रवद्र्धन गर्न यहाँको निजी क्षेत्र सबैसँग सदैव सहकार्य गर्न तयार रहेको अध्यक्ष ढकालले बताए । ‘प्रशस्त रोजगारीका अवसर सिर्जना गर्न पर्यटन उद्योगको विकासमा सबैको ध्यान जान जरुरी छ,’ उनले भने । दुई विशाल छिमेकी मित्रराष्ट्रहरूको सद्भाव र सहयोगको लाभ नेपालको आर्थिक रुपान्तरणमा सदुपयोग गर्न नेपाली निजी क्षेत्र तयार रहेको उनको भनाइ छ । कार्यक्रममा चिनियाँ र नेपाली पर्यटन क्षेत्रमा लगानी गरेका र अन्य प्रतिनिधिसहित करिब सय जनाको सहभागिता थियो ।
प्रकाशित समय १८:०३ बजे

















