गृहपृष्ठ अनलाइन सेयर कारोबार सुरु, कसरी गर्ने कारोबार ?

अनलाइन सेयर कारोबार सुरु, कसरी गर्ने कारोबार ?

online-share-karobar-newskarobar (2)

नेपालको सेयर बजार आजदेखि नयाँ युगमा प्रवेश गरेको छ । साउन १ गतेदेखि परीक्षणका रुपमा सुरु गरिएको अनलाइन सेयर खरिद–बिक्री प्रणाली एक सय १० दिनपछि लगानीकर्ताले आफैं कारोबार गर्न सक्ने गरी कार्यान्वयनमा आएको हो ।

होटल याक एन्ड यतिमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले अनलाइन सेयर कारोबारको औपचारिक उद्घाटन गरे । अनलाइन कारोबार सुरु भएसँगै सेयर बजारमा सर्वसाधारणको पहुँच बढ्दै जाने अपेक्षा गरिएको छ । अनलाइन कारोबार नेपालको पुँजीबजारको विकास र विस्तारमा कोसेढुंगा सावित हुने सरोकारवालाले बताएका छन् ।

कार्यक्रममा अर्थमन्त्री डा. खतिवडाले सेयर बजार नबढेको प्रति चिन्तासमेत प्रकट गरे । अर्थतन्त्र यति राम्रो हुँदा पनि सेयर नबढ्नु लगानीकर्ताकै कमजोरी भएको उनको ठहर छ । ‘गत वर्ष ६ प्रतिशतको आर्थिक वृद्धि थियो, यो वर्ष पनि ६ र ८ प्रतिशतको बीचमा आर्थिक वृद्धि हुँदैछ तर पनि सेयर बजार किन माथि गएन ? सोच्नुपर्ने बेला आएको छ,’ उनले भने, ‘आर्थिक वृद्धिदर एकातिर, नेप्से सूचक अर्कातिर हुनु हुँदैन ।’

online-share-karobar-newskarobar (2)

सेयर बजारप्रति अनुदार मानिने अर्थमन्त्री खतिवडाले अनलाइन कारोबारसँगै बजार सुध्रने विश्वास व्यक्त गरे । अहिले आर्थिक परिसूचक र सेयर बजार परिसूचकबीच कुनै तालमेल नदेखिएको उनको भनाइ छ । तरलताको समस्या मौसमी भएको र यस्तो समस्या लामो समय नरहने अर्थमन्त्रीको दाबी छ ।

संस्थागत लगानीकर्ता सेयर बजारमा जोखिम लिनभन्दा मुद्दति निक्षेप राखेर ११ प्रतिशत ब्याज खान आकर्षित भएको उनले बताए । ‘जब ब्याजदर कम हुन्छ तब संस्थागत लगानीकर्ता सेयर बजारमा आकर्षित हुन्छन्, त्यसले बजारलाई सकारात्मक प्रभाव पार्छ, अर्थमन्त्रीले भने, ‘सेयर बजार घट्दा लगनीकर्तामा विचलन नआओस् भनेर मैले संस्थागत लगानीकर्तालाई पनि सेयर बजारमा लगानी गर्नुहोस् भनिरहेको छु ।’

अर्थमन्त्री डा. खतिवडाले कम्पनी विश्लेषण गरेर सुरक्षित लगानी गर्न लगानीकर्तालाई आग्रह गरे । अनलाइन कारोबार प्रणालीको सुरुवातसँगै बजारका अन्य पूर्वाधार विकासमा पनि जोड दिनुपर्ने उनले बताए ।

अनलाइन कारोबार प्रणाली उद्घाटन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले नेप्सेले पुँजीबजारमा विश्वस्तरको सेवा प्रदान गर्ने बताए । ‘जनअपेक्षाअनुसार प्रविधिको विकासलाई आत्मसात गर्दै अनलाइन कारोबार प्रणाली सुरु भएको छ,’ उनले भने, ‘अब हामी विश्वस्तरको सेवा दिने सक्षम भएका छौं ।’ अनलाइन सेयर कारोबार नेपाली पुँजीबजारमा कोसेढुंगा सावित हुने उनको दाबी छ ।

त्यस्तै, बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले जीबन बिमा कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांशलाई मात्र आधार बनाएर सेयर खरिद–बिक्री नगर्न लगानीकर्तालाई सुझाव दिए । कम्पनीले घोषणा गरेको लाभांश स्वीकृतिमा लामो प्रक्रिया पूरा गरेर आउँदा फेरबदल हुनसक्ने भएकाले रेगुलेटरको स्वीकृतिपछि मात्र निर्णय लिन उनले लगानीकर्तालाई आग्रह गरे ।

 

कसरी गर्ने अनलाइन कारोबार ?
अनलाइनमार्फत सेयर खरिद–बिक्री गर्न लगानीकर्ताले हितग्राही खाता नम्बर, बैंक खाता नम्बर, इमेल र फोन नम्बरसहितको विवरण ब्रोकर कार्यालयमा बुझाउनुपर्छ । त्यसलाई ब्रोकर कार्यालयले नेप्सेको सिस्टममा कनेक्ट गरी लगानीकर्तालाई युजर नेम र पासवर्ड उपलब्ध गराउँछ । लगानीकर्ताले इमेलमार्फत युजर नेम र पासवर्ड पाउनेछन् । लगानीकर्ताले आफू अनुकूल पासवर्ड परिवर्तन गरेर सेयर खरिद–बिक्री गर्न सक्नेछन् ।

इन्टरनेटको माध्यमबाट अनलाइन सेयर खरिद–बिक्री आदेश दिएपछि लगानीकर्ताको हितग्राही खाता ब्रोकरको माध्यमबाट नेप्सेमा जोडिन्छ । सो सेयर आदेश प्रमाणित गर्न नेप्सेले सीडीएस एन्ड क्लियरिङमा पठाउँछ । सीडीएसले तथ्यांक प्रमाणित गरेपछि नेप्सेलाई सूचित गर्छ । नेप्सेले उक्त आदेश ब्रोकर कार्यालयलाई पठाउँछ । नेप्सेको आदेश पाइसकेपछि ब्रोकरले बैंकमा २५ प्रतिशत ब्यालेन्स र हितग्राही खातामा सेयर भएको सुनिश्चित गरी सेयर खरिद–बिक्री गरिदिन्छ ।

प्रकाशित समय १७:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु