गृहपृष्ठ राजधानी र नामकरण समितिले यतिक्कै बितायो तीन महिना
राजधानी र नामकरण समितिले यतिक्कै बितायो तीन महिना
राजधानी र नामकरणका लागि सिफारिस गर्न गठित संसदीय समितिले तीन महिनाको समय त्यत्तिकै गुजारेको छ । साउन २४ गते तीन महिनाका लागि गठन भएको समितिले निर्धारित समयमा एउटा परिचयात्मक र एउटा सामान्य छलफलको बैठकबाहेक केही गर्न सकेन ।
निर्धारित समयमा कुनै काम नगरेपछि स्थायी राजधानी र नामकरणको विषयलाई केही समय धकेल्न समिति गठन गरिएको हो कि भन्ने आशंका उब्जिएको छ । समितिले तीन महिनामा कार्यविधि बनाउन र संयोजकसमेत तोक्न सकेन ।
समितिको संयोजक नै नभएकाले दुर्इवटा बैठक जेष्ठ सदस्य सरस्वती गौतमको अध्यक्षतामा बसेका थिए । पहिलो बैठकमा सामान्य परिचयमात्रै भएको र दोस्रो बैठकमा प्रदेश सभा सचिवालयले तयार गरेको समितिको कार्यविधिको मस्यौदामा सामान्य छलफल भएको थियो ।
मुख्यमन्त्री शंकर पोखरेलको कार्यव्यस्तताका कारण कार्यविधिका सम्बन्धमा व्यापक छलफल हुन र पारित हुन नसकेको समितिका जेष्ठ सदस्य गौतमले जानकारी दिए । तीन महिनाभित्र प्रदेशको स्थायी राजधानी र नामकरणको प्रतिवेदन तयार गरी सभामुखलाई बुझाउने अधिकार पाएको समितिमा रुपन्देहीका तुल्सीप्रसाद चौधरी र रमा अर्याल, कपिलवस्तुका विष्णुप्रसाद पन्थी र सहर्षराम यादव, अर्घाखाँचीका निर्मला क्षेत्री, कल्पना पाण्डे र चेतनारायण आचार्य, गुल्मीका दिनेश पन्थी, पाल्पाका वीरबहादुर राना र नारायणप्रसाद आचार्य, दाङका सरस्वती गौतम, प्युठानका तारा जिसी, रोल्पाका दिपेन्द्रकुमार पुन तथा बर्दियाका दिपेश थारु र भुवनेश्वर चौधरी सदस्य छन् ।
प्रकाशित समय १७:२० बजे

















