गृहपृष्ठ पक्षपाती व्यवहार गरिएको भन्दै ज्ञापनपत्र

पक्षपाती व्यवहार गरिएको भन्दै ज्ञापनपत्र

nekapa-newskarobar

लामो समयदेखि स्थायी समिति बैठक स्थगीत भएपछि असन्तुष्टि जनाउदै आएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेताहरुले नेतृत्वको ध्यानाकर्षण गराएका छन् । २२ जना केन्द्रीय सदस्यले तत्काल केन्द्रीय समिति बैठक बोलाउन माग गर्दै अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई ज्ञापनपत्र बुझाएका छन् ।

अध्यक्षद्वयले भेट्न समय नदिएपछि उनीहरुले महासचिव विष्णु पौडेलमार्फत ज्ञापनपत्र बुझाएका हुन् । बुधबार नेकपाको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा महासचिव पौडेललाई भेटेर २२ जना केन्द्रीय सदस्यले ज्ञापनपत्र बुझाएका हुन् ।

पार्टी एकता भएको लामो समय भइसक्दा पनि पोलिटब्युरो गठन नभएको, सचिवालयलाई मात्रै सर्वैसर्वा बनाइएकोमा आफुहरुको असन्तुष्टि रहेको नेता जगन्नाथ खतिवडाले जानकारी दिए । उनले न्युज कारोबारसँग भने, ‘पोलिटब्युरो गठन गर्नुपर्ने, सचिवालयलाई सर्वैसर्वा बनाउन नहुने, स्थायी समितिलाई कार्यकारी बनाउनुपर्ने र पार्टीका सबै कमिटीको एकीकरण निश्चित मापदण्डका आधारमा टुंग्याउने माग राख्दै ज्ञापनपत्र बुझाएका हौं ।’

जिम्मेवारी वितरणमा हदैसम्म पक्षपातपूर्ण व्यवहार गरिएको उनीहरुको आरोप छ । ज्ञापनपत्र बुझाउने २२ केन्द्रीय सदस्यहरु मध्ये तत्कालीन नेकपा एमालेभित्र माधव नेपाल निकटका धेरै छन् । सरकारले मुलुकको दीर्घकालीन हितका लागि पूर्वाधार विकासमा केही राम्रा काम थालेको तर, सुशासनको क्षेत्रमा सरकार सर्वत्र आलोचित भएको उनिहरुको ठहर छ ।

पार्टी एकतापछि केन्द्रीय सदस्यदेखि स्थायी समिति सदस्यहरुलाई कामविहीन बनाइनु पार्टी कामप्रतिको हदैसम्मको लापरवाही र असफलता भएको नेताहरुले बताएका छन् । मन्त्री चयनदेखि राजनीतिक नियुक्तिहरुमा कुनै विधि र पद्दती पालना नभएको तथा संसदीय दल बैठकलाई केही नेताको भाषण सुनाउने थलो बनाएको भन्दै उनीहरुले विरोध गरेका छन् ।

भ्रष्टाचार, महंगी, कालोबजारी नियन्त्रण, शान्ति सुरक्षा कायम जस्ता विषयमा सरकार कामजोर भएको भन्दै नेताहरुले सरकारमाथि सबैको भरोसा टुट्ने त होइन ? भन्ने आशंका व्यक्त गरेका छन् ।

प्रकाशित समय १८:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु