गृहपृष्ठ महेश बस्नेतको आरोप- नेमकिपा विकास विरोधी
महेश बस्नेतको आरोप- नेमकिपा विकास विरोधी
प्रतिनिधिसभाका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले नेपाल मजदुर किसान पार्टी विकास विरोधी भएको आरोप लगाएका छन् । भक्तपुरमा आयोजित कार्यक्रममा नेकपाका नेता बस्नेतले त्रिभुवन विश्वविद्यालय खरिपाटीमा राख्न खोज्दा नेमकिपाले विरोध गरेका कारण कीर्तिपुर गएको उदाहरण स्मरण गर्दै नेमकिपालार्इ विकास विरोधी भएको बताएका हुन् ।
‘काठमाडौँ विश्वविद्यालय चाँगुनाराणमा राख्न खोज्दा धुलिखेल गयो, भक्तपुरमा आउन लागेको अस्पतालको पनि त्यसैगरी विरोध भयो, ३ नम्बर प्रदेशको अस्थायी राजधानी भक्तपुरमा राख्न खोज्दा पनि विरोध भयो, अहिले अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्न लाग्दा पनि नेमकिपाले विरोध गर्दैछ, नेमकिपा भक्तपुरको विकासमा बाधक बन्दै आएको छ,’ उनले भने ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य मैना भण्डारीले देशको विकासलाई अगाडि बढाउने गरी विकास पत्रकारिता गर्नुपर्नेमा जोड दिँदै सञ्चारमाध्यम निष्पक्ष भएर जान नसकेको गुनासो गरिन् । नेकपा भक्तपुरका अध्यक्ष वचन देउजाले सञ्चारमाध्यम निष्पक्ष भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
प्रकाशित समय १९:३२ बजे

















