गृहपृष्ठ पूर्वलडाकुको चेतावनी : प्रचण्डलाई छाड्दैनौं

पूर्वलडाकुको चेतावनी : प्रचण्डलाई छाड्दैनौं

purba-ladaku-newskarobar

माओवादीका पूर्वलडाकुहरुले आफ्ना माग सम्बोधन नगरे नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नछाड्ने चेतावनी दिएका छन् । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनीहरुले अबको दुई महिनाभित्र आफ्ना माग सम्बोधन नभए सार्वजनिक रुपमा आत्मदाह गर्ने चेतावनी पनि दिए ।

बहिर्गमित जनमुक्ति सेना केन्द्रीय संघर्ष समितिले मागप्रति पार्टीले बेवास्ता गरेको भन्दै आक्रोश व्यक्त गरेको हो । जनयुद्ध र गणतन्त्रका लागि जीवन वलिदान दिएका व्यक्तिबारे सरकार र नेकपाका अध्यक्ष प्रचण्ड बेखबर बनेकाले सहन गर्न नसकिएको उनीहरुको भनाइ छ ।

वर्षाैंसम्म शरीरमा गोली बोकेर हिँड्दा पनि उपचार नपाएको भन्दै बहिर्गमित जनमुक्ति सेनाका एक सदस्यले बुधबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’कै अगाडि बिष सेवन गरी आत्महत्या प्रयास गरेका थिए । पत्रकार सम्मेलनमा समितिका अध्यक्ष असिम लिम्बूले तत्कालीन माओवादीले आफूहरुलाई प्रयोग गरेर अहिले फ्याँकेको आरोप लगाए । उनले भने, ‘हाम्रा साथीहरुले उपचार गर्न नसकेर रुँदै हिँड्नुपरेको छ, गृहमन्त्रीकै सामु बिष सेवन गर्नुपरेको छ, यो सुरुवात हो, माग पूरा नगरे अब हामीसँग प्रचण्ड र नेकपाका शीर्ष नेतालाई अंगालो हालेर पड्किनुको विकल्प छैन ।’

पत्रकार सम्मेलनमा समितिका उपाध्यक्ष यज्ञबहादुर कार्की ‘प्रदीप’ले आफूहरुलाई जबर्जस्ती अयोग्यको बिल्ला भिराइएको बताए । उनले भने, ‘हामीले लडेर ल्याएको गणतन्त्र र परिवर्तन योग्य हुने तर हामी कसरी अयोग्य ?’ भावुक बनेका कार्कीले रगतसँग साटेर ल्याएको गणतन्त्रमा हामीलाई अयोग्यताको बिल्ला भिराएर किन अपमान गरिएको भन्दै गुनासो गरे । राष्ट्रपति विद्यादेवी भण्डारीले १८ करोडको गाडी सुविधा लिन लागेकोप्रति पनि उनीहरुले आपत्ति जनाए ।

पत्रकार सम्मेलनमा समितिका महासचिव राजन थापा ‘सुवास’ले आफूहरु वार्तामा बस्न तयार रहे पनि सरकारले बेवास्ता गरिरहेको बताए । तर, सरकारले यसरी अपमान गरिरहँदा धैर्यको बाँध फुटेर कसैले नसोचेको अवस्था आउने उनले चेतावनी दिए ।

कालिकोटका बहिर्गमित सेना कुलप्रसाद भट्टराई ‘कुसुम’ले गृहमन्त्रीकै कार्यकक्षमा पुगेर बुधबार विष सेवन गरेका थिए । सोही घटनालाई स्मरण गराउँदै उनीहरुले आफ्नो पार्टी नेतृत्वको सरकारप्रति असन्तुष्टि पोखेका हुन् । बहिर्गमित लडाकुहरु ४ हजार ९ सय छन् ।

प्रकाशित समय १९:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु