गृहपृष्ठ नेपालको विकासमा अमेरिकी सहयोग महत्वपूर्ण : प्रचण्ड

नेपालको विकासमा अमेरिकी सहयोग महत्वपूर्ण : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणमा अमेरिकी सरकार र जनताको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।
आफ्नै निवास खुमलटारमा शिष्टाचार भेटका लागि पुगेका नेपालका लागि अमेरिकी राजदूत र्यान्डी डब्ल्यु बेरीलाई अध्यक्ष दाहालले नेपाल आर्थिक समृद्धिको युगमा प्रवेश गरेकाले सबैको सहयोग र सद्भाव आवश्यक रहेको बताए ।

‘जलविद्युत, पर्यटन र कृषिमा आधारित उद्योग समृद्ध नेपालका प्राथमिक कार्यसूची रहेको छ’, उनले भने । अध्यक्ष दाहालले भर्खरै मात्र राजदूतको जिम्मेवारी पाएर नेपाल आएका राजदूत बेरीलाई भने, ‘तपाईको कार्यकालमा नेपाल र अमेरिकाको सम्बन्ध अझैं प्रगाढ बन्ने मैले विश्वास लिएको छु ।’ उनले नेपालको शान्ति प्रक्रिया विश्वका लागि उदाहरणीय भएको पनि बताए ।

उनीहरुबीच भएको द्विपक्षीय भेटमा दुई देशबीचको सम्बन्ध, नेपालमा अमेरिकी लगानी, आपसी सहयोग र सहकार्यबारे छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।
सो अवसरमा राजदूत बेरीले मिलिनियन च्यालेन्ज कर्पोरेसन (एमसिसि) मार्फत नेपालको पूर्वाधारमा लगानीका लागि स्थायी सरकार बलियो आधार भएको बताउँदै देशको आर्थिक विकासका लागि अहिले उचित अवसर भएको र त्यसमा सफलता मिल्ने विश्वास व्यक्त गरे ।
(रासस)

प्रकाशित समय १४:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु