गृहपृष्ठ युवाको सिपले देश बनाउँछाैं : श्रममन्त्री विष्ट
युवाको सिपले देश बनाउँछाैं : श्रममन्त्री विष्ट
नेपाली युवाको सिपले देश बनाउने श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले बताएका छन् । बुधबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा श्रमसम्बन्धी नीतिगत र कानुनी व्यवस्था विषयमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
श्रम तथा रोजगार कार्यालय सुर्खेतले आयोजना गरेको कार्यक्रममा मन्त्री विष्टदे नेपाली युवालाई समय सुहाउदो सिप सिकाएर देशको विकास गर्ने बताए । ‘हामी नेपाली युवाहरुलाई नेपालमै सिप सिकाएर देशको विकास गर्न चाहान्छौं,’ विष्टले भने, ‘जसले गर्दा खाडीमा गएर पसिना बगाउने बाध्यताको अन्त्य हुनेछ ।’
नेपालको इतिहासमा यसअघि कहिल्यै पनी रोजगारलाई सरकारले प्राथमिकता नदिएको उल्लेख गर्दै मन्त्री विष्टले यो सरकारले रोजगारीलाई पहिलो प्राथमीकतामा राखेर काम गरिरहेको बताए ।
‘करिब ३ लाख युवाहरुलाई नेपालमै रोजगार दिनको लागी विभिन्न कार्यक्रमहरुको तय गरिएको छ,’ उनले भने, ‘सबै श्रमिकहरुलाई सामाजिक सुरक्षा कार्यक्रममा जाडेर अगाडि बढ्नेछौं ।’ अब नेपालमा कुनै पनि श्रम गर्ने नेपालीले सामाजिक सुरक्षा कार्यक्रम नपाउने अवस्थाको अन्त्य हुने उनको भनाइ थियो ।
कार्यक्रममा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले कर्णालीमैत्री रोजगारमा सरकारले जोड दिनुपर्ने बताए । कार्यक्रममा कर्णालीका सामाजिक विकास मन्त्री दल रावलले जनताको आशालाई व्यवहारमा उतार्न आफूहरु प्रतिबद्ध रहेको उल्लेख गरे ।
कर्णालीको राजधानी सुर्खेतमा बुधबारै श्रम तथा रोजगार कार्यालयको उद्घाटन गरिएको छ ।
प्रकाशित समय १९:४७ बजे

















