गृहपृष्ठ प्रजातन्त्रमाथिको हस्तक्षेप कांग्रेसलाई सह्य नहुने देउवाको चेतावनी

प्रजातन्त्रमाथिको हस्तक्षेप कांग्रेसलाई सह्य नहुने देउवाको चेतावनी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ संविधानका मौलिक अधिकार र प्रजातान्त्रिक प्रावधान अवमूल्यन गर्ने कोसिस भइरहेको आरोप लगाएका छन् । इन्टरनेसनल युनियन अफ सोसलिस्ट युथ, नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलद्वारा संयुक्त रुपमा आयोजित युवा सम्मेलनको उद्घाटन गर्दै देउवाले प्रजातन्त्रमाथि हुने कुनै पनि हस्तक्षेप कांग्रेसलाई सह्य नहुने चेतावनी दिए ।

देउवाले कांग्रेस नेपालको एकमात्र प्रजातान्त्रिक समाजवादी पार्टी भएको जिकिर गरे । कांग्रेस स्थापनाकालदेखि नै नेपालको प्रजातन्त्रका लागि संघर्षरत पार्टी भएको उनको भनाइ छ ।

कांग्रेसकै नेतृत्वमा मुलुकको द्वन्द्व समाधान हुनुका साथै शान्ति प्रक्रिया सफल भएको अवगत गराउँदै उनले कांग्रेसकै नेतृत्वमा संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक संविधान जारी भएको बताए । सभापति देउवाले प्रजातान्त्रिक समाजवाद र समावेशितालाई अंगीकार गरेको नयाँ संविधानले राज्यका हरेक निकायमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित गरेको जनाए ।

कार्यक्रममा उपसभापति विमलेन्द्र निधिले प्रजातन्त्र र मानवअधिकारका लागि दशकौँ लामो संघर्षपछि कांग्रेसकै नेतृत्वमा नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान पाएको बताए । ‘नयाँ संविधान कार्यान्वयनका लागि कांग्रेसकै नेतृत्वको सरकारले तीन तहका निर्वाचन सफल रुपमा सम्पन्न गरेको हो,’ उनले भने ।

कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले सरकारले निर्वाचनमा वाचा गरेअनुसार जनतालाई सेवा प्रवाह गर्न नसकेको टिप्पणी गरे । उनले नेपालमा प्राकृतिक स्रोत साधनको अपार सम्भावना रहेको र राजनीति स्थायित्व कायम भएकाले अब सबै मिलेर समृद्धितिरको यात्रामा अघि बढ्नुपर्ने विचार व्यक्त गरे ।

सहमहामन्त्री डा. प्रकाशशरण महतले वर्तमान सरकारको नौमहिने अवधि जनताका काममा भन्दा आश्वासन र नारा बाँड्नमा सीमित रहेको आरोप लगाए । ‘सरकार कामभन्दा बढी प्रोपगाण्डामा लागेको छ,’ उनले भने ।

तरुण दलका पूर्वअध्यक्ष तथा पूर्वअर्थराज्यमन्त्री उदयशमशेर राणा, इन्टरनेशनल युनियन अफ सोसलिस्ट युथका उपाध्यक्ष जस्टिन गलने, महासचिव अना पिर्तसाल्भा, तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेत, नेविसंघका अध्यक्ष नैनसिंह महरलगायतले विश्वमा प्रजातन्त्र स्थापना र संस्थागत गर्न युवाले खेलेको भूमिकामाथि प्रकाश पारे । तीन दिनसम्म चल्ने सम्मेलनमा समसामयिक विषयका विभिन्न विषयमाथि छलफल हुने बताइएको छ ।

प्रकाशित समय १५:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु