गृहपृष्ठ भक्तपुरको गठ्ठाघरमा कालिमाटीजस्तै ठूलो तरकारी बजार
भक्तपुरको गठ्ठाघरमा कालिमाटीजस्तै ठूलो तरकारी बजार
काठमाडौंको कालिमाटीपछिको दोस्रो ठूलो र भक्तपुरमा पहिलो ठूलो तरकारी बजार आउँदो पुस २५ गतेदेखि सञ्चालनमा आउने भएको छ । मध्यपुर थिमी नगरपालिका–३, गठ्ठाघरमा आठ रोपनीमा ६ करोड ५० लाख लगानीमा तरकारी बजार निर्माण भएको हो । व्यवस्थित तरकारी बजारमा दुई रोपनीमा पार्किङसमेत बनाइएको छ ।
सूर्यविनायक नगरपालिका–३, बालकोटमा आफ्नै कृषक बाबु श्यामबहादुर र आमाले अथक मेहनतले उब्जाएको एक मुठा फर्सीको मुन्टा विचौलियाले १० रूपैयाँमा किनेर एक किलोमिटर पर गठ्ठाघरमा ३० रूपैयाँमा बिक्री गरेको देखेपछि विचौलियाको दलाली अन्त्य गर्ने अठोटका साथ तरकारी बजार निर्माण गर्न आफू जुटेको नेकपाका भक्तपुर जिल्ला कमिटी सदस्य एवं युवानेता श्यामसुन्दर बस्नेतले बताए ।
मध्यपुरथिमिको चारदोबाटो, गठ्ठाघर र सूर्यविनायकको बालकोटको मुख्य सडकबाट तरकारी बजारमा जान सक्ने गरी दुईतर्फी पक्की सडकसमेत विस्तार गरी बस्नेतले १३० वटा सटर र १५० वटा स्टल गरेर २ वटा ८० तरकारी पसल रहने गरी तरकारी बजार निर्माण गरेका छन् ।
माघे सङ्क्रान्तिलाई लक्षित गरी पुस २५ गतेदेखि सस्तोमा तरुल बिक्री सुरु गर्ने र माघ १ गतेदेखि सबै तरकारी पाउने गरी बजार सञ्चालन गरिने उनले बताए । उनका अनुसार पसल राख्न ७० प्रतिशत सटर स्टल बुकिङ भइसकेका छन् ।
‘कृषकलाई बजार खोज्न नपर्ने र उपभोक्तालाई सस्तो मूल्यमा ताजा तरकारी उपलब्ध गराउने लक्ष्य छ,’ बस्नेतले भने, ‘म राजनीतिकमात्रै होइन, सामाजिक मान्छे पनि हुँ, कृषकले मरिमरि गरेको मेहनत र दुःखको मूल्य नतिर्ने र बिनालगानी ३०० प्रतिशतसम्म नाफा खाने विचौलियाको अन्त्य गर्ने लक्ष्यले मैले बजार सञ्चालनमा ल्याएको हुँ ।’ कालिमाटी र बल्खुलगायतका अन्य तरकारी बजारभन्दा सस्तोमा उपभोक्तालाई सहजै ताजा तरकारी उपलब्ध गराउने र कृषकको मेहनतअनुसार उचित मूल्य दिएर गाउँगाउँबाट तरकारी संकलन गर्ने गरी व्यवस्था गरिएको उनको दाबी छ ।
भक्तपुरको चारवटै नगरपालिकाका कृषकले उत्पादन गरेको तरकारी संकलन गर्न चारवटै नगरपालिकाको प्रत्येक वडामा एक तरकारी संकलन केन्द्र खोलिने उल्लेख गर्दै सञ्चालक बस्नेतले तत्कालका लागि १८ स्थानमा संकलन केन्द्र खोलिने जानकारी दिए ।
बजारमा मौसमी तथा बेमौसमी तरकारी, फलफूल, दुर्गम गाउँमा उत्पादित विभिन्न प्रकारका तरकारी, पिठा, जिउँदो माछा तथा मासु, मसला, डेरी, बेकरी क्याफे, सौन्दर्यका सामग्रीदेखि व्यापारीलाई कारोबार गर्न सहज हुने गरी सहकारी संस्थासमेत सञ्चालन गरिनेछ । बजारको सुरक्षा व्यवस्था पनि चुस्त बनाउन तरकारी बजार प्रवेश गर्न दुई मुख्यद्वारमा र बजारभित्र २४सैँ घण्टा सुरक्षागार्डको व्यवस्था गरिएको छ भने बजारभित्र १८ वटा सिसी क्यामरा जडान गरिएको छ ।
वि. सं. २०५२ सालदेखि विद्यार्थी राजनीति सुरु गरेर तत्कालीन एमाले भक्तपुरको प्रचार विभाग प्रमुख हुँदै हाल नेकपाको जिल्ला कमिटी सदस्यको क्रियाशील उनी १८ वर्षदेखि कृषि पेसामा पनि संलग्न छन् । तरकारी बजार र संकलन केन्द्रबाट प्रत्यक्ष रुपमा १०० जनाभन्दा बढीलाई युवा विद्यार्थीलाई रोजगारी प्राप्त हुने र प्रत्येक पसलमा गरी करिब ८०० जनाले प्रत्यक्ष–अप्रत्यक्ष रोजगारी पाउने सञ्चालक बस्नेतले बताए । (रमेश गिरी/रासस)
प्रकाशित समय १४:०० बजे

















