गृहपृष्ठ रानीपोखरी पुनर्निर्माणमा तगारो के हो ? के भन्छन् तालुकदार निकाय ?
रानीपोखरी पुनर्निर्माणमा तगारो के हो ? के भन्छन् तालुकदार निकाय ?
ऐतिहासिक र पुरातात्विक महत्व बोकेको रानीपोखरी लामो समययता पुनर्निर्माणको पर्खाइमा छ । २०७२ साल वैशाख १२ गते गएको भूकम्पले क्षतिग्रस्त बनेको यो सम्पदाको पुनर्निर्माण कहिले हुुन्छ भन्ने प्रश्नको जवाफ कोहीसँग छैन । निर्माणको जिम्मा पाएको महानगर आफैं अन्योलमा छ ।
कुन शैलीमा कसरी बनाउने भन्ने विवादले गर्दा लामो समयदेखि रानीपोखरी पुनर्निर्माणको काम नै रोकिएको छ । विवाद तत्काल समाधान हुने र पुनर्निर्माणको काम फटाफट अघि बढ्ने सम्भावना पनि नरहेको महानगरकी उपप्रमुख हरिप्रभा खड्गी बताउँछिन् ।
अहिले रानी पोखरीभित्रको बालगोपालेश्वर मन्दिर पुरातत्वविभागले बनाउने तथा पोखरी र वरिपरीका भाग महानगरपालिकाले बनाउने भनिएको छ । यसका लागी कुनै कदम चालिएको छैन । महानगरपालिका र पुरातत्व विभागबीच कुरा नमिलेपछि रानी पोखरीको पुनर्निर्माणको काममा अवरोध उत्पन्न भएको हो ।
अहिले रानीपोखरी घाँसे मैदानमा परिणत भएको छ । राष्ट्रिय भूकम्प दिवसको अवसर पारेर गत माघ २ गते पुनर्निर्माणको शिलान्यास गरिएको थियो । त्यसपछि महानगरपालीकाले पुरातत्व विभागको मान्याताविपरीत रड, सिमेन्ट, गिटी तथा बलुवाजस्ता सामाग्री प्रयोग गरेर बनाउने थालनी गर्याे । उक्त डिजाइनअनुसार बनाउने रानी पोखरीमा डुंगा चलाउन मिल्ने थियो भने रंंगीन फोहराको साथमा धेरै आकर्षक र अत्याधुनिक दृष्य हुने थियो ।
तर, स्थानियवासीले रानीपोखरी ऐतिहासिक एवं सांस्कृतिक सम्पदा भएकाले पहिलेको तरिकाबाट नै निर्माण गर्नुपर्ने भन्दै विरोध गरेपछि निर्माण कार्य राकिएको थियो । रानीपोखरी पवित्र भएका कारण त्यसमा डुंगा चलाउन नहुने र पहिलेको तरीकाबाट नै पुनर्निर्माण गर्नुपर्ने उनीहरुको माग थियो ।
सबैतिर विवाद आएपछि महानगरले मल्लकालीन शैलीमा बनाउन आफूसँग जनशक्ति नभएको भन्दै बनाउन नसक्ने जानकारी पुरातत्व विभागलाई पठाएपछि निर्माण कार्य रोकिएको हो । पोखरी भित्रको क्षतिगस्त रहेको बालगोपालेश्वर मन्दिर बनाउने भन्दै पानी सुकाइयो र त्यहाँका ५ सय माछा बालाजु उद्यानमा सारियो तर काम सुरु भएन् ।
के भन्छ महानगरपालिका ?
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य रानीपोखरी पुनर्निर्माणको काम महानगरपालिकाको कमजोरी वा उदाशीनताका कारण नरोकिएको बताउँछन् । महानगरले अझै पनि चाँडोभन्दा चाँडो रानीपोखरी पुनर्निर्माण हुनुपर्छ भन्ने चाहेको उनको भनाइ छ । ‘रानीपोखरी पुनर्निर्माणमा ढिलाइ गर्न ममा कुनै स्वार्थ छैन,’ उनले भने, ‘महानगरले त काम नै थालिसकेको थियो, अब पुरानो संरचनामा निर्माण गर्ने भन्ने कुरा आयो, त्यसका लागि महानगरसँग पर्याप्त तयारी थिएन ।’ रानीपोखरी पुनर्निर्माणका लागि अनौपचारिक वार्ताहरु भइरहेको उनको भनाइ छ ।
महानगरकै उप्रमुख हरिप्रभा खड्गी भने नगरप्रमुख शाक्यकै कारण रानीपोखरी पुनर्निर्माणको काम अन्योलमा परेको आरोप लगाउँछिन् । ‘म पनि छक्क परेकी छु,’ उनले भनिन्, ‘हाम्रा पुरानो कलाकृति जोगाएर रानीपोखरी पुनर्निर्माण गर्न उहाँलाई केले छेकेको छ ?’
महानगरपालिकाका प्रवक्त ईश्वरमान डंगोल उपप्रमुखको प्रश्नको जवाफमा प्रतिप्रश्न गर्दै भन्छन्, ‘हामीसँग मल्लकालका सामाग्रि र निर्माता छैनन्, मेयरले पनि पुरानो शैली चाहानुभएको छ, तर त्यो धेरै महँगो छ, निकै जटिल पनि छ । पुरानो आकृति नमारिकन अझै आकर्षक बनाउँ भन्नु कसरी नाजायज हुन्छ ?’
के भन्छ पुरातत्व विभाग ?
मन्दिरको पुनर्निर्माण पाएको तर अझै कुन शैलीमा बनाउने भन्ने टुङगो लागेको छैन् । पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवर भन्छन्, ‘हामीले मन्दिरको मात्रै निर्माण गर्ने जिम्मा पाएका छौं । तर, कुन शैलीमा निर्माण गर्ने भन्ने कुरा अझै तय भएको छैन्, त्यसैले निर्माण कार्य कहिले सुरु हुन्छ टुङगो छैन् ।’
आखिर किन रोकियो निर्माण कार्य ?
निर्माण कार्य के कारणले रोकियो भन्ने ठोस कारण छैन् । तर, महानगरले बताएको रेडिमेट जवाफ ‘निर्माण शैलीको विवाद’ मात्र भने पक्कै होइन् । महानगरले अत्याधुनिक प्रविधिबाट निर्माण गर्ने भनेर केही कार्य सुरु गरियो । रोडा, बालुवा, रड, सिमेन्टलगायतका निर्माण सामाग्री किनियो । फेरि विवाद आयो र भत्काउने भनियो । पहिलेका सामग्री कति खेर गए । निर्माणकार्यका लागि विनियोजित केही रकम खेर गयो । त्यसकारण निर्माण कार्य रोकिनुमा बजेटको चलखेल हुन सक्ने अनुुमान पनि कतिपयले गरेका छन् ।
राजा प्रताव मल्लले आफ्नो माईला छोरा चक्रवर्तेन्द्रको मृत्युपछि सोकमा परेकी रानीको मन भूलाउन १७ औं (वि.स. १७२७) सताब्दीमा रानी पोखरीको निर्माण गरेका थिए । रानी पोखरीको बीचमा बालगोपालेश्वर (यमलेश्वर) मन्दिर थियो । उक्त मन्दिर शिखर शैलीमा निर्माण भएको थियो । यो शैलीमा अरु थुप्रै मन्दिर निर्माण भएको पाइन्छ । यो शैलीको सुरुवात लिच्छविकालमा भएको मानिन्छ ।
रानी पोखरीलाई शोकको प्रतीकको रुपमा लिइन्छ । जेठा छोरा भुपेन्द्र मल्लको मृत्युपछि उनका माहिला छोरालाई भावी राजाको रुपमा अघि सारियो । युवराजको पदावी पाएसँगै चक्रवर्तिको निधन भयो । छोेराकोे शोकमा डुबेकी रानीलाई शान्त पार्न काठमाडौंको उत्तरपूर्वी कुनामा राजाले पोखरी खन्न लागाए । पोखरीमा काशी, मुक्तिक्षेत्र, वैद्यनाथ धाम, सप्तगण्डकीलगायतका प्रसिद्ध तीर्थस्थलबाट पानी ल्याएर हालीएको थियो ।
प्रकाशित समय १४:३८ बजे

















