गृहपृष्ठ नेपाललाई थाहै नदिई भारतले बनायो लिपुलेकमा बाटो
नेपाललाई थाहै नदिई भारतले बनायो लिपुलेकमा बाटो
भारतले नेपाललाई थाहै नदिइ नेपाल–भारत–चीनबीचको त्रिदेशीय विन्दु हुँदै कैलाश मानसरोबर जाने बाटो खनेको छ । नेपालको दार्चुला–धार्चुला नाका हुँदै त्रिदेशीय विन्दु (चिकन नेक करिडोर) जोड्ने र चिनियाँ सेना रहने विन्दुसम्म पुग्ने गरी भारतीय सेनाले उक्त बाटो बनाएको हो ।
लिपुलेक भारतद्वारा कब्जा गरिएको नेपाली भूमि हो । करिब तीन वर्षअघि (२०१५ को मे १५ मा) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका समयमा भारत र चीनले दार्चुला जिल्लाको लिपुलेक भन्ज्याङ हुँदै अन्तर सीमा व्यापारिक मार्ग खोल्ने सम्झौता गरेका थिए । त्यही सम्झौतामा टेकेर लिपुलेक हुँदै तिब्बततर्फ निस्कने बाटो बनाउन भारत र चीन दुवै लागिपरेका छन् । यसमा नेपालको कुनै राय सल्लाह वा अन्तर्राष्ट्रिय प्रचलनअनुसार नेपालका सहमति लिइएको छैन ।
चीनले पनि पश्चिमी तिब्बततर्फबाट लिपुलेक जोड्न यसअघि नै आफ्नो क्षेत्रतर्फ व्यापक पूर्वाधार निर्माण गरिरहेको छ । चीनले ताक्लाकोटबाट लिपुलेकतर्फ चार लेनको सडक बनाइसकेको भारतीय रक्षा मन्त्रालयलाई उद्धृत गर्दै पीटीआईले लेखेको छ ।

भारतीय सीमा सडक निर्देशनायन (बीआरओ)ले तावाघाट–घाटिआबाग्राह–लिपुलेकको बाटो बनाउँदैछ । करिब तीन वर्षअघि नै भारतीय सेनाले लिपुलेकस्थित नदीमा पुल बनाइसकेको छ, जुन नेपाल-चीन-तिब्बतका त्रिदेशीय विन्दुका १२ किमि वर छ ।
हाल भारतीयहरू नेपाल र सिक्किमको रूटबाट कैलाश–मानसरोबरको यात्रामा जाने गरेकोमा भारतले सोझै उक्त रुटबाट जान मिल्ने बनाउन लागेको हो । लखनपुरबाट तावाघाटसम्मको २ किलोमिटर बाटो यसअघि नै बनाइसकेको छ भने बुधी गाउँबाट लिपुलेक पाससम्मको ५१ किलोमिटर पनि जोडिइसकेको छ । नाजाङदेखि बुधीसम्मको खण्ड धमाधम भारतीय सेनाले खन्दैछ । यो मोटर चल्ने सडकको कुल आयतन ७५.६५ किलोमिटर रहने जनाइएको छ ।
भर्खरैमात्र उत्तराखण्डको लखनपुरदेखि नजंगबीचको अढाइ किलोमिटर लामो बाटो सीमा सडक संगठन (बीआरओ) परियोजनाअन्तर्गत जोडिएको छ । यो ब्यास उपत्यकाभित्रको सबैभन्दा कठिन खण्ड भएको भारतीय रक्षा मन्त्रालयले उल्लेख गरेको छ । भर्खरै खनिएको यो खण्ड २४०० मिटर उचाइँमा छ ।

उक्त बाटो बनाउनका लागि भारतीय सेनाका बीआरओ– ७६५ दल र रोड कन्स्ट्रक्सन कम्पनी (आरसीसी)– ६७ दल परिचालित छन्, उनीहरूले उक्त खण्डको ठाउँ–ठाउँमा ‘अट्याक प्वाइन्ट’ बनाएर काम भइरहेको बीआरओका महानिर्देश हरपल सिंहले बताएका छन् ।
सन् २००८ मा सुरु भएको यो सडक सन् २०१२ मा नै पूरा हुनुपर्नेमा विभिन्न कारणले निर्माण लम्बिएपछि सन् २०२० भित्रमा कैलाश–मानसरोवर खण्डको बाटो निर्माण गरिसक्ने भारतीय सेनाको सीमा सडक निर्माण गुल्मले योजना बनाएको छ । यो बाटो पूर्ण भइसकेपछि व्यापार र मानव आप्रवासनलगायतका क्षेत्रहरूमा योगदान पुग्ने भारतीय दाबी छ ।

विगत १० वर्षयता भारतीय सेनाले यो रणनीतिक महत्वको बाटो खन्न थालेको हो । यो सडक नेपालको मुख्य सीमाकेन्द्र टनकपुर हुँदै तावाघाटमा पुग्ने बीआरओले आफ्नो परियोजना प्रतिवेदनमा उल्लेख गरेको छ । हालको टनकपुर बाँधलाई दायाँ बनाउँदै यो सडक अगाडि बढाइएको छ ।
यसरी नेपालसँग ठ्याक्कै सीमा जोडिएको क्षेत्रमा व्यापक रूपमा भारतले सेना परिचालन गरेर रणनीतिक महत्वको सडक बनाइरहँदा नेपाली अधिकारीहरू भने अनभिज्ञ देखिएका छन् । उता भारतले यो सडक खण्डभरि नै सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) परिचालित गरेको छ ।
(पीटीआई, आईएएनएस तथा प्रेस इन्फरमेसन ब्यूरो अफ इन्डियाको सहयोगमा)
प्रकाशित समय १९:२० बजे

















