गृहपृष्ठ सिमेन्टमा नेपाल आत्मनिर्भर

सिमेन्टमा नेपाल आत्मनिर्भर

cement-newskarobar

नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर बनेको छ । दुई खर्ब रुपैयाँको लगानी भएको र वार्षिक १५० अर्बको कारोबार हुँदै आएको सिमेन्ट उत्पादनमा नेपाल यो वर्षदेखि आत्मनिर्भर भएको व्यवसायीले बताएका छन् ।

निजी क्षेत्र प्रवेश भएको झण्डै १६ वर्षको अन्तरालमा शून्यबाट आत्मनिर्भरमा पुगेको बताउँदै नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुवराज थापाले अर्काे वर्षदेखि नेपाल सिमेन्ट निर्यात गर्ने अवस्थामा पुग्ने उल्लेख गरे । ‘अन्य उद्योगको तुलनामा सिमेन्टमा फरक किसिमले छिटो उत्पादन बढेको छ, यो नेपाल कै लागि गौरव हो, अब सरकारले उद्योगमा देखिएका समस्या समाधानमा पहल गर्नुपर्ने देखिन्छ’, थापाले भने ।

सन् १८४५ देखि सिमेन्ट उत्पादन सुरु भए पनि नेपालमा १९६० देखि मात्रै उत्पादन सुरु गरिएको थियो । नेपालमा अहिले तीन किसिमका सिमेन्टको गुणस्तर मापन भएको छ । नेपालमा पहिलो हिमाल सिमेन्टले उत्पादन शुरु गरेको थियो । निजी क्षेत्रबाट भने १६ वर्ष पहिलादेखि मात्रै लगानी थालिएको हो । नेपालमा अहिले ५६ वटा सिमेन्ट उद्योगले उत्पादन गर्दै आएका छन् । हाल उदयपुर र हेटौँडा सिमेन्ट उद्योग सरकारले सञ्चालन गर्दै आएको छ ।

अध्यक्ष थापाले नेपालमा गएको वर्ष ९० लाख टन सिमेन्ट उत्पादन भएको र झण्डै त्यति नै खपत भएको जानकारी दिए । उनले भने– ‘उत्पादन क्षमता भने एक करोड ३० लाख टन रहेको छ तर विभिन्न कारणले केही विदेशी उद्योगीका सिमेन्ट गुणस्तरका लागि पाँच प्रतिशत मात्रै गत वर्ष आयात भएको थियो ।’ अबदेखि त्यो पनि आयात नहुने बताइएको छ ।

आगामी दिनमा आयात शून्य प्रतिशतमा जाने अपेक्षा गरिएको व्यवसायीले बताएका छन् । नेपालमा वार्षिक १० प्रतिशतले सिमेन्ट उत्पादनमा वृद्धि भइरहेको छ । आर्थिक वर्ष २०७६–७७ सालदेखि नेपालमा उत्पादित सिमेन्ट निर्यात हुने जनाइएको छ । लागत मूल्य कम गर्न नसकेकाले समस्या बढी रहेको उनीहरूको भनाइ छ ।

विश्वमै महँगो उत्पादनका रूपमा नेपालको सिमेन्ट रहेको बताइएको छ । आगामी वर्ष एक करोड १० लाख टन माग हुने र उत्पादन भने एक करोड ७० लाख टनमा पुग्ने अनुमान गरिएको छ । ‘त्यसैले अब निर्याततर्फ हामी जानै पर्छ’, संघका महानिर्देशक गोकुल धितालले भने । विश्वमा सिमेन्टको कूल उत्पादन चार अर्ब २० करोड टन रहेको छ । सबैभन्दा बढी चीनले सिमेन्ट उत्पादन गर्दै आएको छ । कूल उत्पादनको ५५ प्रतिशत चीनले उत्पादन गर्ने गरेको थापाले जानकारी दिए ।

नेपालमा चुन भण्डार प्रशस्त रहेको छ । सरकार परिवर्तन भएसँगै नीतिमा आउने परिवर्तन, श्रम कानूनमा देखिएको समस्या विदेशी जनशक्ति ल्याउनुपर्ने अवस्था, खानी तथा वनसँग हुने समस्या स्थानीय तह र प्रदेशले पनि करमा हिस्सा खोज्नेलगायत समस्या रहेको व्यवसायीले बताएका छन् । नेपालमा कच्चापदार्थ र कोइला नहुँदा पनि ठूलो समस्या छ ।

व्यवसायीले विदेशी उद्योगीलाई प्रोत्साहनभन्दा नेपाली उद्योगलाई प्रोत्साहन गर्नु जरुरी रहेको बताएका छन् । नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले नेपालमा ९२७ गुणस्तर स्वीकृत भएका उद्योगमध्ये ३७० ले अनुमति प्राप्त गरिसकेको जानकारी दिए ।

अहिलेसम्म नेपालमा ६९ वटा उद्योगले गुणस्तर प्राप्त गरिसकेका छन् । कूल १३४ ले लाइसेन्स प्राप्त गरेको र पूरा क्षमतामा चल्ने हो भने नेपाली सिमेन्टको बजार २५० अर्बको हुने बताइएको छ ।
खानी तथा भूगर्भ विभागका इञ्जिनीयर जयराज घिमिरेले नेपालमा चुनखानीको प्रवद्र्धन कार्यक्रम गर्ने कार्यक्रम सुरु गरेको जानकारी दिँदै १६८ उद्योगलाई उत्खनन अनुमति दिइएको र ४० वटालाई उत्खनन अनुमतिको प्रक्रियामा रहेको उल्लेख गरे ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विगतका ऐन कानून तत्कालै हटाउन नसकिने भएकाले परिवर्तन हुने चरणमा रहेको भन्दै उद्योगलाई कसरी विकास गर्न सकिन्छ भनेर सरकार लागि परेको बताए ।(रासस)

प्रकाशित समय ०९:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु