गृहपृष्ठ नेपाली विषय बचाउ अभियानमा ऐक्यबद्धता
नेपाली विषय बचाउ अभियानमा ऐक्यबद्धता
काठमाडौं । कक्षा १२ सम्म अनिवार्य नेपाली विषय पठनपाठन गर्न जारी अभियानमा नेपाल शिक्षक महासङ्घ, त्रिवि नेपाली केन्द्रीय विभाग र मानक नेपाली भाषा अन्तर्राष्ट्रिय सञ्जालले ऐक्यबद्धता जनाएका छन् ।
नेपाली विषय बचाउ अभियान २०७५ ले शनिबार राजधानीमा आयोजना गरेको ‘१ देखि १२ सम्मका प्रत्येक कक्षामा १००÷१०० पूर्णाङ्कको अनिवार्य नेपाली विषयको अनिवार्यता’ विषयक अन्तरक्रियामा नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले भाषाको जगेर्ना र अर्को पुस्तालाई हस्तान्तरण गर्ने प्रक्रिया विद्यालय तहबाटै हुने भएकाले कक्षा १ देखि १२ सम्म नेपाली विषय अनिवार्य रुपमा पठनपाठन हुनुपर्ने बताए । उनले भने, ‘कक्षा ९–१२ विद्यालय तह हो । यसमा नेपाली विषयको समान सय÷सय पूर्णाङ्कको पढाइ हुनुपर्छ । तपाईंहरुको अभियानमा महासङ्घ नेतृत्वदायी भूमिका निर्वाह गरी सहयोग गर्न तयार छ ।’ महासङ्घका उपाध्यक्ष तिलक कुँवरले नेपालीकै विद्वान्ले नेपाली विषयलाई कमजोर बनाइरहेको बताए । उनले भने, ‘विभिन्न प्रलोभनमा नेपालीकै विद्वान्ले नेपालीमाथि आक्रमण गरिरहेका छन् । यसविरुद्ध हामी सबै लाग्ने छौँ ।’
त्रिवि नेपाली केन्द्रीय विभागका प्रमुख प्राध्यापक देवीप्रसाद गौतमले अभियानको उद्देश्य पूरा गर्न विभागले अभिभावकीय भूमिका निर्वाह गर्ने बताए । उनले भने, ‘अनिवार्य नेपाली विषय बचाउने अभियानको उत्साहलाई कम हुन दिँदैनाँै । यसका लागि शिक्षा मन्त्रालयमा अनशन बस्नुपरे पहिला हामी आफैं बस्छौँ ।’ उनले कक्षा ११ को नेपाली निराकरणात्मक पाठ्यक्रममा आधारित हुनुपर्ने र १२ मा प्रयोजनपरक नेपाली समावेश गर्न सुझाव दिए । गौतमले पाठ्यक्रम विकास केन्द्रको नेपाली विषय समितिको प्रमुख भूमिकामा विद्यालय तहमा लामो समय अध्यापन गरेका शिक्षकलाई अवसर नदिँदा बेलाबेलामा विद्यालय तहबाट नेपाली विषयलाई खुम्च्याउने प्रवृत्ति देखिएको बताए । उनले भने, ‘विषय समितिका विज्ञका रुपमा प्राध्यापकहरु राखिँदा यस्ता समस्या आएकाले अब यसबारे शिक्षक सङ्घसङ्गठनको ध्यानाकर्षण हुनुपर्छ ।’
मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष प्राध्यापक खगेन्द्रप्रसाद लुइँटेलले विगतमा वर्णविन्यासका नाममा र अहिले पाठ्यभार घटाउने नाममा नेपाली भाषालाई कमजोर पार्न षड्यन्त्र भइरहेको बताए । उनले भने, ‘अभियानमा सञ्जालको पूर्ण साथ र सहयोग छ । हामी त्रिभुवन विश्वविद्यालय र शिक्षकका पेसागत सङ्घसङ्गठनसँग मिलेर कक्षा १२ सम्म १००÷१०० पूर्णाङ्कको नेपाली विषय कायम राखेरै छाड्छौँ ।’
नेपाल शिक्षक महासङ्घका पूर्वउपमहासचिव लक्ष्मीकिशोर सुवेदीले राष्ट्रियताको चिनारी भाषामाथि विभिन्न पक्षबाट आक्रमण भइहरेको बताउँदै यसलाई निस्तेज पार्न सङ्घ अभियानसँगै रहेको बताए । उनले भने, ‘विद्यालय तहमा नेपाली कमजोर बनाउनु नेपालका नेपाली भाषीका लागि मात्र नभएर संसारमा रहेका नेपाली भाषी वक्ताको सवाल हो । त्यसैले हामी सधैँ तपाईंहरुको साथमा छौँ ।’ नेपाल शिक्षक सङ्घ काठमाडौं महानगरपालिकाका अध्यक्ष नारायण गौतमले नेपाली विषय बचाउनका लागि थालिएको अभियान सफल बनाउन आफूहरु जस्तोसुकै सहयोग गर्न प्रतिबद्ध रहेको बताए ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका महासचिव लक्ष्मण शर्माले नेपाली भाषाको सान्दर्भिकताबारे अझै जनचेतना फैलाउनुपर्ने बताए । अखिल नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका वरिष्ठ उपाध्यक्ष लछीराम ढकालले नेपाली भाषाका सन्दर्भमा भाषावैज्ञानिक बहस गरेर यसलाई विस्तार गर्नुपर्नेमा विषय बचाउन लाग्नुपर्ने अवस्था आउनु ज्यादै दुःखद भएको बताए ।
कार्यक्रममा पत्रकार गोपाल घिमिरेले नेपाली विषय पढेर प्राध्यापक बनेका, उच्च पदमा पुगेका केही व्यक्तिहरुको स्वार्थका कारण विद्यालय तहमा नेपाली विषय खुम्च्याउने षड्यन्त्र भइरहेको बताए । उनले सङ्घसङ्गठनका प्रतिनिधिरुलाई अन्य विषयमा राजनीति गरे पनि भाषाका विषयमा राजनीति नगरी अघि बढ्न सुझाव दिए ।
कार्यक्रममा त्रिवि नेपाली दर्शनाचार्यका विद्यार्थीहरु सबिन लम्साल, अमृता भट्टराई, मेनुका वाग्ले, विजय वाग्ले, भद्रकला न्यौपाने, अर्जुन दाहाललगायतले नेपाली विषय बचाउने अभियान कुनै व्यक्तिको जागिरको सबाल मात्र नभएर यो त राष्ट्र र राष्ट्रियताको सबाल रहेको भन्दै अभियान सफल नभएसम्म आफूहरुले दबाबमूलक कार्यक्रम गरिरहने प्रतिबद्धता जनाए । वैशाख ८ गते ३५ विद्यार्थीले थालनी गरेको अभियानमा हालसम्म नेपालभर यसका ४७ वटा एकाइ गठन भएका छन् भने देशका अधिकांश क्याम्पसका नेपाली विभागले अभियानप्रति ऐक्यबद्धता जनाइसकेका छन् ।
प्रकाशित समय १९:०१ बजे

















