गृहपृष्ठ थप हवाई रूट बारे छलफल गर्न निर्देशन
थप हवाई रूट बारे छलफल गर्न निर्देशन
काठमाडौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणपछि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी मोदीले नेपाललाई थप हवाई रूट दिनेबारे छिट्टै प्राविधिक छलफल गर्न आ–आफ्ना देशका अधिकारीलाई निर्देशन दिएका छन् ।
मोदीको नेपाल भ्रमणकै क्रममा शनिबार नेपाल र भारतबीच १६ बुँदे संयुक्त वक्तव्य जारी भएको थियो । सोही संयुक्त वक्तव्यको सातौं बुँदामा आकाश, जमिन र पानीबाट दुई देशबीच रहेको आर्थिक र भौतिक सम्पर्कलाई अझ बलियो बनाउन थप कदम चाल्न दुई प्रधानमन्त्री सहमत भएको उल्लेख गरिएको छ ।
भारतले नेपाललाई थप हवाई रूट दिँदा गर्नुपर्ने प्राविधिक छलफल छिटै सम्पन्न गरी नागरिक उड्ययन क्षेत्रमा द्वीपक्षीय सहयोग विस्तार गर्ने सम्बन्धित अधिकारीलाई दुबै प्रधानमन्त्रीले निर्देशन दिएको सो वक्तव्यमा उल्लेख छ । नेपालमा अहिले भारतीय आकाश भएर एउटा रूट (सिमरा)बाट मात्र विमान प्रवेश गर्दै आएका छन । भैरहवामा निर्माण हुँदै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न नेपाललाई थप हवाई रूट नभई हुँदैन।
यसैगरि, संयुक्त वक्तव्यमा गत महिना प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा भएका समझदारीका विषयमा कुराकानी भएको र दुबै प्रधानमन्त्री कृषि, रेल र जलमार्गबारे प्रभावकारी कार्यान्वयन गर्न सहमत भएको उल्लेख गरिएको छ। भ्रमणका क्रममा भारतसँग रहेको नेपालको व्यापार घाटाबारे पनि दुई प्रधानमन्त्रीबीच छलफल भएको थियो । प्रधानमन्त्री ओलीले भारतसँगको व्यापार घाटा कम गर्न आवश्यक कदम चाल्नुपर्ने बताएका थिए ।
प्रकाशित समय ०६:५६ बजे

















