गृहपृष्ठ संसदीय सुनुवाइ समितिको बैठक कांग्रेसद्वारा बहिष्कार
संसदीय सुनुवाइ समितिको बैठक कांग्रेसद्वारा बहिष्कार
प्रमुख प्रतिपक्षी दलका नेताको सहभागिताबिनै नाम प्रस्ताव भएको आरोप
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय सुनुवाइ समितिको बैठक बहिष्कार गरेको छ । कांग्रेस सांसदहरुले संवैधानिक आयोगमा गरिएको सिफारिसप्रति लिखित असहमति राख्दै सुनुवाइ समितिको बैठक बहिष्कार गरेका हुन् । माघ ६ गते सिफारिस भएका विभिन्न पाँच संवैधानिक आयोगका प्रमुखमाथि उजुरी आह्वान गर्ने विषयमा छलफल गर्न आइतबार सुनुवाइ समितिको बैठक बोलाइएको थियो ।
कांग्रेसले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको उपस्थितिबिनै बसेको बैठक गैरकानुनी भएको भन्दै आपत्तिसमेत जनाएको छ । बैठकमा सुरु भएलगत्तै कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले प्रमुख प्रतिपक्षी दलको नेताको सहभागिताबिना भएको निर्णय अमान्य हुने बताए ।
सभापति लक्ष्मणलाल कर्णले भने १० दिनको समय दिएर उजुरी आह्वान गर्ने र त्यसबीचमा छलफल गर्न सकिने बताए । त्यसलगत्तै कांग्रेस सांसदहरु कार्की, जितेन्द्र देव र पुष्पा भुसाल लिखित असहमति बुझाएर बैठकबाट बाहिरिएका हुन् ।
परिषद्ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा शान्तराज सुवेदी र मधेसी आयोगको अध्यक्षमा विजयकुमार दत्तलाई सिफारिस गरेको थियो । त्यस्तै, थारु आयोगको अध्यक्षमा विष्णुकुमार चौधरी र मुस्लिम आयोगको अध्यक्षमा समिम अन्सारीको नाम सिफारिस गरिएको छ ।
कांग्रेसका तर्फबाट सुनवाइ समिति सदस्य भीमसेनदास प्रधानले आफूहरुले असहमति जाहेर गरेका थिए । ‘संविधानविपरीत आयोगका अध्यक्षहरुको नाम सिफारिस भएकाले लिखित असहमति जनाएका छौं,’ प्रधानले न्युज कारोबारसँग भने, ‘त्यसमा असहमति जनाउँदै हामी प्रक्रियाबाट बाहिरिएका छौं । प्रस्तावित अध्यक्षहरुको सुनवाइ प्रक्रियामा हामी सहभागी हुँदैनौं ।’
प्रकाशित समय १३:२६ बजे

















