गृहपृष्ठ नेपाल टेलिकम र चिनियाँ कम्पनीबीच फोजी विस्तार सम्झौता
नेपाल टेलिकम र चिनियाँ कम्पनीबीच फोजी विस्तार सम्झौता
एक वर्षभित्रै काम सकिने
नेपाल टेलिकम र दुई चिनियाँ कम्पनीबीच फोजी विस्तारका लागि सम्झौता भएको छ । एक वर्षमा काम सक्नेगरी टेलिकमले सम्झौता गरेको हो ।
देशभर फोजी विस्तार परियोनाका लागि करिब १९ अर्ब लागतको योजना अख्तियार दूरुपयोग अनुसन्धान आयोगले अनुसन्धानका लागि भन्दै यो सम्झौता हुनबाट १० महिना रोकेको थियो ।
टेलिकमले फोजी विस्तारका लागि गत वर्ष कात्तिकमा गरेको टेन्डर आह्वानका प्रस्ताव गत वर्ष पुसको पहिलो साता खोलिएको थियो । टेलिकमले प्रक्रिया सुरु गर्नुअघि नै अख्तियारमा अनियमितता भन्दै उजुरी परेपछि काम ठप्प भएको थियो ।
फोजी विस्तारका लागि हङकङस्थित चाइना कम्युनिकेसन सर्भिस इन्टरनेसनल सीसीएसआई र जेडटीईसँग आइतबार सम्झौता भएको हो । सीसीएसआईले रेडियो एक्सेस नेटवर्क र्यान र जेडटीईले कोर नेटवर्कको काम गर्ने गरी सम्झौता भएको टेलिकमको विज्ञप्तीमा उल्लेख छ ।
नेपालभर ६५ लाख क्षमताको फोजी एलटीई विस्तारका लागि कोर नेटवर्क र र्यान नेटवर्क तयारीको काम अघि बढ्ने टेलिकमले जानकारी दिएको छ । फोजीका लागि ६ हजार ७ सय बढी टावर राखिने टेलिकमले जनाएको छ । यो बाहेक सहरी क्षेत्रमा समेत ६ हजारजति साना टावर राख्ने टेलिकमले जनाएको छ ।
कोर नेटवर्क विस्तारको काम १ अर्ब ५६ करोड ७३ लाखमा सक्ने गरी जेडटीईले प्रस्ताव राखेको टेलिकमले जनाएको छ । र्यान नेटवर्कका लागि भने तत्कालिन मध्यमाञ्चल र मध्यपश्चिमाञ्चल एउटा नेटवर्क एकमा राखिएको छ भने नेटवर्क दुई अन्तर्गत सुदूरपश्चिमाञ्चल, पश्चिमाञ्चल र पूर्वाञ्चल विकास क्षेत्र समावेश गरिएको छ ।
नेटवर्क र्यान एकका लागि ८ अर्ब ७५ करोड २६ लाख र र्यान २ का लागि ८ अर्ब ३९ करोड ३१ लाखको प्रस्ताव सीसीएसआईले राखेको टेलिकमले जनाएको छ ।
टेलिकमले नेपालमा पहिलो पटक फोजी प्रविधि भित्र्याएको बताए पनि काठमाडौंबाहिर भने विस्तार हुन सकेको थिएन ।
प्रकाशित समय ०९:५२ बजे

















