गृहपृष्ठ नेपाली सीमामा भारतले किन बढायो सुरक्षा निगरानी ?
नेपाली सीमामा भारतले किन बढायो सुरक्षा निगरानी ?
नेपाल सीमामा भारतकाे बहुतहका सुरक्षा निगरानी
नेपाली पक्षका सीमा सुरक्षासम्बन्धी अधिकारीहरूले थाह नपाए पनि विगत दुई महिनायता भारतले नेपाल–भारत सीमामा सुरक्षा निगरानी बढाएको छ । गत जनवरी २६ का लागि भनेर एक महिनाअघिदेखि नै सीमा क्षेत्रमा सुरक्षा सावधानी बढाएको भारतीय सीमा सशस्त्र बलले नेपालतर्फको सुरक्षा अझ कडा बनाउँदै लगेको हो ।
भारत–पाकिस्तानबीचको द्वन्द्व र भारत–चीनबीचको तनाबको असर नेपाली सीमामा पनि देखिन थालेको हो । नेपाल हुँदै उग्रवादीहरू भारत छिर्ने भन्दै भारततर्फ सीमा क्षेत्रमा कडाइ गरिन थालिएको हो । सीमा सशस्त्र बल (एसएसबी), युपीको स्पेशल टास्क फोर्स (एसटीएफ) र वाइल्ड लाइफ क्राइम कन्ट्रोल ब्यूरो (डब्लूसीसीबी)सहित भारतीय एजेन्सीहरूलाई नेपाल–भारतको सीमा क्षेत्रमा ड्रोनबाट समेत निगरानी राख्न निर्देशन दिइएको छ ।
भारतमा यसै वर्ष हुने लोकसभा चुनावलाई लक्षित गरेर नेपाल, बंगलादेश र भुटानतर्फको सीमा सुरक्षामा कडाइ गर्न थालिएको हो । भुटानतर्फबाट भारतलाई उस्तो थ्रेट नभए पनि नेपाल भारतबीचको १८०० किलोमिटर लामो सीमा क्षेत्रबाट जुनसुकै पनि बेला जोखिम छिर्नसक्ने संकेत पाइएको भन्दै भारतीय पक्षले नेपाली सीमाक्षेत्रमा कडा सुरक्षा व्यवस्था अपनाएको हो ।
गत वर्षकै निर्णयअनुसार भारतले नेपाली सीमाक्षेत्रमा बहु–तहका सुरक्षा प्रणाली अबलम्बन गरेको हो, गत वर्ष भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपाल–भारत सीमा क्षेत्रको निरीक्षण गरी बहु–तहको सुरक्षा प्रणाली अबलम्बन गरिने जानकारी त्यहाँको लोकसभामा दिएका थिए ।
यसैअन्तर्गत नेपाल–भारत सीमा क्षेत्रमा पूर्वाधारहरू बढाउन थालिएको हो । नेपालसँग जोडिएको उत्तराखन्ड, उत्तरप्रदेश बिहार र सिक्किमसँग जोडिएका १५ किलोमिटर क्षेत्रमा बहु–तहको सुरक्षा चक्र अपनाइएको छ ।
नेपालबाट भारत जाने यात्रुहरूलाई सीमाक्षेत्रमा सुक्ष्म निगरानी राख्न थालिएको छ भने नेपाल भित्रने वस्तुहरूमा समेत केही सीमा विन्दुमा कडाइ गर्न थालिएको यात्रुहरूले बताएका छन् ।
हाल, नेपालसँग सीमाना जोडिएको उत्तर प्रदेश र उत्तराखण्डका वन तथा वनजन्तुसम्बन्धी निकायहरूलाई मानव तथा ड्रोनमार्फत नेपाल भारतको सीमा क्षेत्रको कडा निगरानी दिइएको छ । जबकी, अन्तर्राष्ट्रिय सीमासम्बन्धी प्रावधानहरूअन्तर्गत नेपालको सीमाक्षेत्रभित्र भारतले ड्रोन वा अन्य कुनै माध्यमबाट निगरानी वा गुप्तचरी गर्न पाउँदैन ।
यसैअन्तर्गत भारतीय वन्यजन्तु अपराध नियन्त्रण विभागले नेपालको अनुमति नलिइ नेपाली सीमाक्षेत्रमा धमाधम ‘ट्रेन्च’ खन्न थालेको छ भने ठाउँठाउँमा तारबारसमेत लगाउन थालेको छ । नेपाली पक्षको आपत्तीपछि कञ्चनपुरमा यसरी लगाइएको तारबार र खाडल (ट्रेन्च) पुरिए पनि अन्यत्र यो क्रम जारी नै छ ।
“सीमा क्षेत्रमा वन्यजन्तुसम्बन्धी अपराध बढेको हामीले खबर पाएका छौं, त्यसैले हामीले सुरक्षा सावधानी बढाएका हौं,”यूपीका प्रमुख वन रक्षक सुनिल पाण्डेले इकोनोमिक टाइम्ससँग भनेका छन् । नेपालको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै भारतको पनि कर्तानीघाट निकुञ्ज क्षेत्र जोडिएको छ, तर वन्यजन्तु अपराध सुरक्षामा दुवै पक्षबीच आपसी सहकार्य भने हुनै पर्छ । एक पक्षले मात्र सीमाक्षेत्रमा निगरानी वा गस्ति गर्न पाउँदैन ।
भारतले युपीतर्फबाट यसअघि नै नेपालसँग जोडिएको सीमा सुरक्षाका लागि एसएसबी र एसटीएफका अलावा होम गार्डस् पनि परिचालन गर्ने निर्णय गरिसकेको छ भने एसएसबीको छुट्टै गुप्तचर संयन्त्र पनि परिचालन गरिसकेको छ । नेपाल भारतको १,७५१ किलोमिटर लामो सीमामध्ये उत्तराखन्डसँग २६३ किमि, उत्तरप्रदेशसँग ५६० किमि, बिहारसँग ७२९ किमि, पश्चिम बंगालसँग १०० किमि र सिक्किमसँग ९९ किमि जोडिएको छ ।
यसैबीच अमेरिकाको गुप्तचर संयन्त्र नेसनल इन्टेलिजेन्सका प्रमुख डेनिअल कोट्सले भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीले आउँदो लोकसभा चुनावमा हिन्दुवादी मुद्दा उठाएर साम्प्रदायिक दंगा भड्काउनसक्ने प्रतिवेदन अमेरिकी सिनेटसमक्ष पेश गरेका छन् ।
हिन्दु बाहुल्यता रहेको नेपाल र नेपाल–भारत सीमातर्फ यसको असर प्रत्यक्ष रूपमा देखिने ठहर कुटनीतिक विश्लेषकहरूको छ ।
प्रकाशित समय १७:०९ बजे

















