गृहपृष्ठ नेपाल ट्रष्टको जग्गा, कौडीको भाउमा भाडामा
नेपाल ट्रष्टको जग्गा, कौडीको भाउमा भाडामा
बाहिर सस्तो भित्र-भित्रै अर्बौंको खेल
नेपाल ट्रष्टले आफू मातहातका जग्गा कौडीको भाउमा भाडामा लगाएर अर्बौं रुपैयाँ घोटाला गर्दै आएको खुलासा भएको छ । पूर्वराजपरिवारको सम्पत्ति खोजबिन गर्ने र त्यसको संरक्षण गर्न भन्दै स्थापना गरिएको ट्रस्टले आफू निटकका व्यक्तिलाई निक्कै सस्तोमा जग्गा भाडामा दिएर घोटाला गरेको खुलेको हो ।
राजनीतिक दलका नेतृत्वको दवाव तथा ट्रष्ट पदाधिकारीको मनोमानीका कारण नेपाल ट्रष्टको स्वामित्वमा रहेका राजपरिवारका सम्पत्ति चल्तीको मूल्यभन्दा ज्यादै सस्तोमा दिइएको पाईएको हो ।
विभिन्न ठाँउका जग्गा भाडामा दिँदा पारदर्शिता नअपनाएको ट्रष्टले पछिल्लो समय दरबारमार्गस्थित नारायणहिटी दरबार संग्रहालय अगाडि रहेको १ रोपनी १४ आना जग्गा भाडामा लगाउँदा अर्बौं रुपैयाँ हिनामिना गरेको भेटिएको छ । ६ अर्ब ४५ करोड ६६ लाख ३७ हजार रुपैयामा भाडामा लगाउनुपर्ने जग्गा १ अर्ब ४० करोड रुपैयाँमा ३० वर्षको लागि भाडामा दिईएको छ । जसबाट ट्रष्टलाई झण्डै ५ अर्ब रुपैयाँ घाटा भएको छ ।
पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको कम्पनीलाई भाडामा दिँदा संरचना बनाउन ३ वर्ष लाग्ने अनुमानसहित व्यावसायिक प्रयोगका लागि २७ वर्ष गरी ३० वर्षेको भाडासम्बन्धी कागजातसमेत स्वीकृत गरिएको छ । सुरुमा ५ वर्षको लागि मासिक ५० लाख रुपैयाँ भाडा आउने र त्यसपछी प्रत्यक ५ बर्षमा १० प्रतिशतका दरले बढाउने गरी भाडामा दिईएको ट्रष्टका सूचना अधिकारी अमृत महर्जनले जानकारी दिए ।
उनले न्यूज कारोबारसँग भने, ‘५-५ वर्षमा भाडामा बढ्दै जानेछ, ३० वर्षसम्म १ अर्ब ४० करोड रुपैयाँ भाडा आउनेछ ।’

ट्रस्टका माथिल्ला तहका पलाधिकारीले समेत दरबारमार्गको जग्गा भाडामा दिईएको बारेमा जानकारी दिन चाहँदैनन् । सह-सचिव यदुप्रसाद पन्थीले भने, ‘मलाई यस विषयमा खासै जानकारी छैन । विवरण अख्तियारले लगिसकेले त्यहाँ उल्लेखित विषयमा अध्ययन गर्न पाएका छैन ।’
ट्रस्ट सञ्चालक समितिको २०७१ साउन २८ मा बसेको ३१ औं बैठकले दरबारमार्गको सो जग्गा भाडामा दिने प्रस्ताव स्वीकृत गरेको थियो । ६ अर्ब ४५ करोड ६६ लाख ३७ हजार रुपैयाँ भन्दा कम मूल्यमा भाडामा नदिने ट्रष्टको आर्थिक प्रस्ताव मूल्यांकन समितिले २०७३ साल असोज १९ गते निर्माण गरेको थियो ।
तर सोही जग्गा करिब ५ अर्ब कम भाडा पाउने गरी थामसेर्कु ट्रेकिङलाई दिईएको छ । थामसेर्कु ट्रेकिङ कम्पनी पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको समूहको हो । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै प्रभावमा पारि आफ्नो कम्पनीलाई ३० आना जग्गा कौडिको भाउमा हात पार्न सफल भएका हुन् ।
उनले यसअपघि पनि गोकर्णमा रहेको पूर्वराजा विरेन्द्र शाहको जग्गा गोकर्ण फरेस्ट रिसोर्ट सञ्चालनको लागी चल्तिको मूल्यभन्दा ज्यादै सस्तोमा लिजमा लिएका थिए । उनले दलका नेताहरुसँग नजीकिँन आफ्नो गोकर्ण रिर्सोटमा राजनीतिक दलको बैठक समेत बसाल्दै आएका छन् ।
केपी शर्मा ओली पहिलो पटक र अहिले प्रधानमन्त्री हुँदा चीन भ्रमाण जाँदा शेर्पाले आफ्नो हिमालय एयरलाईन्स प्रयोग गराएका थिए ।
सित्तैमा दिने पनि चलखेल
दरबारमार्गको जग्गामा अस्वभाविक डिल गर्दै शेर्पाको कम्पनीलाई सित्तैमा दिने चलखेल समेत भएको ट्रष्टका केही अधिकारीहरु बताउछन् । थामसेर्क ट्रेकिङमा एक अर्ब ४० करोड रुपैयाँ लिजमा लिए पनि भवन निर्माणमा लाग्ने खर्च त्यही भाडा वापतको रकममा कटौती गर्न सक्ने व्यवस्था सम्झैतामा उल्लेख भएको बताईन्छ ।
‘१ अर्ब ३९ करोड भाडामा पाउने भनिए पनि कम्पनीलाई नै पोस्ने चलखेल छ, तीस वर्षमा भवन बनाउन लाग्ने खर्च त्यहीबाट कटाउन पाइने प्राबधान राखिएको छ,’ ट्रष्टकै पदाधिकारी भन्छन् ।
महालेखा परीक्षकको प्रतिवेदनमा के छ ?
ट्रस्टका सचिवले गरेको निर्णयलाई सहसचिवले लत्याउँदै ५ अर्ब रुपैयाँ घोटाला गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । सचिवस्तरबाट भएको निर्णयभन्दा फरक निर्णय सहसचिवले गर्नु कानुनविपरीत भएको ठहरसहित महालेखाको प्रतिवेदनमा अनियमितता गर्नेलाई तुरुन्त छानबिन गरी कानुनको दायरामा ल्याउन सुझाइएको छ ।
पहिला निर्णय गर्ने सचिवमा अर्जुन कार्की अहिले राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणमा सरुवा भएका छन् । उनी सरुवा भएपछि सहसचिव लेख बहादुर कार्कीले उल्टाउदै ५ अर्ब रुपैयाँ कममा जग्गा भाडामा लगाएका हुन् ।
जग्गा भाडामा दिनका लागि संरचना बनाउन ट्रस्टले बोलपत्र आह्वान गरेको थियो । नियमअनुसार ९० दिनभित्र प्रस्ताव स्वीकृत गरिसक्नुपर्ने भए पनि परेका बोलपत्र प्रस्ताव दुई महिनामा खोलिएको थियो । परेका बोलपत्रको म्याद गुजारी ९ महिनापछि कानुनविपरीत पहुँचको थामसेर्कु ट्रेकिङको प्रस्ताव स्वीकृत गरी ठूलो रकम घोटाला गरिएको ट्रष्टकै अधिकारीहरु बताउँछन् ।
जग्गा भाडामा लगाउदा अर्बौंको चलखेल देखिएपछि अहिले यो विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेको छ ।

ऐनविपरित जग्गा भाडामा
नेपाल ट्रष्ट ऐन, २०६४ को दफा ५ मा ट्रष्टको सम्पत्ति व्यापक र सर्वोत्तम सार्वजनिक लाभ हुने गरी राष्ट्रहितमा प्रयोग गरी शैक्षिक, प्राज्ञिक र स्वास्थ्यसम्बन्धी कार्यमा प्रयोग गर्नुपर्ने व्यवस्था छ । तर ट्रष्टले आफूमातहतको जग्गा ऐनविपरित व्यापारिक प्रयोजन गरेको छ । त्यो पनि निजी स्वार्थमा अर्बौं रुपैयाँ घोटाला गरी सस्तोमा दिएर ऐन उल्लघन गरेको देखिन्छ ।
दरबारमार्ग मात्रै नभई नेपाल ट्रस्टको कार्यालयले आफू मातहतमा आएका अधिकांश जग्गा चल्तिको मूल्य भन्दा निक्कै सस्तोमा भाडामा लगाएको छ । यस्तै सयौं रोपनी जग्गा प्रयोगविहीन अवस्थामा छन् । ट्रस्टले अहिलेसम्म १२ जिल्लामा रहेको पूर्वराजपरिवारको २१ हजार ५ सय ५२ रोपनीभन्दा ज्यादा जग्गा आफू मातहत ल्याएको छ ।
के हो नेपाल ट्रष्ट, के छ कार्यादेश ?
नेपालको अन्तरिम संविधान २०६३ को धारा १५९(४) ले राजा वीरेन्द्र रानी ऐश्वर्य र राजपरिवारको सम्पत्ति नेपाल सरकारको मातहतमा ल्याएर ट्रष्ट बनाएर राष्ट्रहितमा प्रयोग गरिनेछ भन्ने व्यवस्था गरेको छ । यही व्यवस्था अनुसार नेपाल ट्रष्ट स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्ने अध्यादेश, २०६४ जारी भएपछि २०६४ साल मंसिर ६ गते नेपाल ट्रष्ट स्थापना भएको थियो ।
ट्रष्टलाई राजा वीरेन्द्र, रानी ऐश्वर्य र निजहरूका परिवारको कानुन बमोजिम ट्रष्टलाई प्राप्त हुनु पर्ने सम्पत्ति नेपालभित्र वा नेपाल बाहिर खोज तलास गर्ने र त्यसको वास्तविक स्थिति पत्ता लगाएर यथार्थ विवरणसहितको अभिलेख राख्ने अधिकार छ ।
ट्रष्टले आफ्नो नाममा आएको सम्पत्ति कानुन बमोजिम राष्ट्रहितमा प्रयोग गर्न र आयआर्जन हुने कार्यमा लगानी गर्न वा गराउन सक्छ ।
नेपाल ट्रष्ट ऐन, २०६४ को दफा ५ मा ट्रष्टको सम्पत्ति व्यापक र सर्वोत्तम सार्वजनिक लाभ हुने गरी राष्ट्रहितमा प्रयोग गरी शैक्षिक, प्राज्ञिक र स्वास्थ्यसम्बन्धी कार्यमा प्रयोग गर्नुपर्ने व्यवस्था छ । तर, ती अर्बौंका चल अचल सम्पत्तिलाई कसरी उपयोग गर्ने भन्नेबारे ट्रष्टले अहिलेसम्म कुनै योजना बनाएको छैन ।
सम्पत्तिको उपयोग नभएकोबारे महालेखा परीक्षकको विगतको प्रतिवेदनले औंल्याए पनि अहिलेसम्म सरकारले कुनै चासो दिएको छैन । ट्रष्ट ऐनको दफा २५ ले अचल सम्पत्ति सम्भार एवं संरक्षण तथा आर्थिक प्रशासनका सम्बन्धमा आवश्यक विनियम बनाउन सक्ने उल्लेख छ । तर, ट्रष्टले हालसम्म विनियमसमेत तयार गरेको छैन ।
प्रकाशित समय १९:३८ बजे

















