गृहपृष्ठ रौनियारको निलम्बन फुकुवा गर्न माग गर्दै सभामुखलाई ज्ञापनपत्र
रौनियारको निलम्बन फुकुवा गर्न माग गर्दै सभामुखलाई ज्ञापनपत्र
सत्तारुढ संघीय समाजवादी फोरम नेपालले प्रतिनिधिसभा सदस्य हरिनारायणप्रसाद रौनियार (पप्पु)को निलम्बन फुकुवा गर्न माग गर्दै सभामुख कृष्णबहादुर महरालाई ज्ञापन पत्र बुझाएको छ । पर्सा क्षेत्र नम्बर ३ बाट जितेका पार्टीका सांसद रौनियारलाई संविधान र प्रतिनिधिसभा नियमावलीविपरीत निलम्बन गरिएको तत्काल फुकुवा गर्न माग गर्दै बुधबार फोरमले सभामुख महरालाई ज्ञापनपत्र बुझाएको हो ।
निलम्वन संविधान र प्रतिनिधिसभा नियमवलीविपरीत रहेकाले तत्काल फुकुवा गरी संसदीय गतिविधिमा सहभागी गराउन माग गर्दै सभामुखलाई ज्ञापनपत्र बुझाइएको संसदीय समाजवादी फोरमका महासचिव रामसहायप्रसाद यादवले जानकारी दिए । ‘पार्टीको माघ १८ गते बसेको संसदीय दलको बैठकले संविधान र प्रतिनिधिसभा नियमावलीविपरीत रौनियारलाई निलम्बन गरेको ठहर गर्दै तत्काल फुकुवा गर्न सभामुखलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार पार्टीले सभामुखको ध्यानाकर्षण गराएको हो,’ महासचिव यादवले न्युज कारोबारसँग भने ।
फोरमको ज्ञापनपत्रपछि सभामुख महराले सो विषयमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालसँग पनि छलफल गरेका छन् । सांसद रौनियार प्रमुख रहेको पप्पु कन्सट्रक्सन प्रालि कालोसूचीमा परेपछि संघीय संसद सचिवालयले गत १९ असोजमा उनलाई निलम्बन गरेको थियो ।
प्रकाशित समय १९:१२ बजे
















