गृहपृष्ठ राजनीतिक सक्रियता बढाउँदै पूर्वराजा ज्ञानेन्द्र

राजनीतिक सक्रियता बढाउँदै पूर्वराजा ज्ञानेन्द्र

भन्छन्- देशको चिन्ता लाग्यो, नेतृत्व लिन तयार छु

Ex-king-gyanendra-komal-himani फाइल तस्बिर

मुलुकमा राजतन्त्रको औपचारिक अवसानसँगै गणतन्त्र स्थापना भएको एक दशक बितिसकेको छ । संविधानसभामार्फत संविधान जारी भई मुलुक संघीय प्रणालीमा प्रवेश गरिसकेको छ । तर, संघीयता संस्थागत नभइसकेको यो घडीमा पूर्वराजा ज्ञानेन्द्र शाहले भने सक्रियता बढाउँदै लगेका छन् ।

काठमाडौँ उपत्यकाभन्दा बाहिरी जिल्ला घुम्न र सर्वसाधारण भेटघाटमा व्यस्त पूर्वराजा ज्ञानन्द्रले जनसम्पर्क बाक्लो बनाउन थालेका छन् । आफ्ना शुभेच्छुकलाई भेट्ने तर आफ्ना कुरा बाहिर अभिव्यक्त नगर्ने पूर्वराजा शाहले सबैका कुरा सुन्नेमात्रै गर्छन् । उनी जहाँ जान्छन्, त्यहाँ ‘राजा आऊ देश बचाऊ’को नारा लाग्ने गरेको छ । भीड पनि लाग्ने गरेको छ । तर, उनको सचिवालयले भने शाहको भ्रमणलाई देवीदेवताको दर्शन र भेटघाटको कार्यक्रममात्रै भएको बताउँदै आएको छ ।

महिना दिनअघि पश्चिम नेपालको नेपालगन्ज र पोखरा भ्रमण गरेका पूर्वराजा ज्ञानेन्द्र अहिले झापा पुगेका छन् । तराईका सिमरा र आसपास करिब १० दिन भ्रमण गरेर उनी बुधबार पूर्वनेपालको भ्रमणमा निस्किएका हुन् । पूर्वमा रहँदा ज्ञानेन्द्रले इलाम, धरान, धनकुटा, पाँचथरलगायतका ठाउँ भ्रमण गर्ने कार्यतालिका रहेको उनको सचिवालयले जनाएको छ । त्यसपछि पुनः तराईका केही ठाउँहरु जनकपुर, सर्लाहीलगायतका स्थानमा जाने कार्यतालिका छ । भ्रमणमा पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमलसँगै निजी सचिव सागर तिमल्सिना र निजी सुरक्षा गार्ड सशस्त्रका डिएसपी शिव राउतलगायत सहभागी छन् ।

मुलुकको नेतृत्व लिन तयार रहेको उद्घोष
पारिवारिक भ्रमणका लागि भन्दै सिमरामा करिब १० दिन बिताएका पूर्वराजा ज्ञानेन्द्रले जनताको चाहना भए मुलुकको नेतृत्व लिन पछि नपर्नेसमेत बताए । विभिन्न चाडबाडका अवसरमा कडा भाषामा शुभकामना सन्देश जारी गर्दै मुलुकको राजनीतिक अवस्थाप्रति असन्तोष जनाउँदै आएका ज्ञानेन्द्रले खुलेरै मुलुकको नेतृत्व लिन तयार रहेको बताएका हुन् ।

सिमरास्थित प्रभु शमशेर राणाको निवासमा उनले आफूनिटकका विभिन्न व्यक्तिसँगको भेटमा मुलुकको नेतृत्व लिने इच्छा जाहेर गरेका हुन् । ‘राष्ट्रिय एकता र भावनामाथि निर्मम प्रहार भएको छ, एकताविरुद्धको षड्यन्त्रलाई पराजित गर्नुपर्ने, बाह्यशक्तिको प्रभावमा अस्थायी सत्ता हावी भएकोलगायतका विषय पूर्वराजाले बताउनुभएको छ,’ राप्रपाका नेता प्रदीपविक्रम राणाले न्युज कारोबारसँग भने, ‘विचार र वादभन्दा माथि उठेर जनताको चाहनाअनुसार अघि बढ्नुपर्छ । म जनताको राय बुझ्न आएको हुँ, जनताको चाहना भयो भने मुलुकको नेतृत्व लिन पछि पर्दिन भन्नुभयो ।’

ज्ञानेन्द्रले तीन साताअघि एकीकरणका नायक पृथ्वीनारायण शाहको २९७औँ जयन्तीको पूर्वसन्ध्यामा नेपालको अस्तित्वमा घात–प्रतिघातका बादल मडारिएको चेतावनी दिएका थिए । मातृभूमिको अस्तित्वमा घात–प्रतिघातको कालो बादल मडारिएको भन्दै विज्ञप्ति जारी गरेपछि देश दौडाहमा निस्किएका शाहको ‘मुलुकको नेतृत्व लिने’ अभिव्यक्तिलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

ज्ञानेन्द्रकै सुझावमा राप्रपाको एकता
दुई महिनाअघि पोखरा भ्रमणमा निस्किएका बेला राप्रपाका नेताहरूलाई बोलाएर पूर्वराजा शाहले मिलेर जान सुझाव दिएका थिए । शाहको सुझाव राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा र राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्रले मानेको देखियो । केही दिनअघि दुवै दलले पार्टी एकता गरेका छन् । दुई दलको एकता पूर्वराजाकै सुझावको जगमा भएको निकटस्थहरुको दाबी छ । उता, कमल थापा नेतृत्वको राप्रपाले पनि हिन्दू अभियान चलाइरहेको छ ।

पार्टी एकतामा नआएका अरू राप्रपाभन्दा कमल थापाको पार्टी ठूलो छ । अध्यक्ष थापा देश दौडाहमा निस्कँदै छन् । पूर्वराजा शाह पनि देश दौडाहमा छन् । यी सबै संयोगमात्रै मान्न नसकिने विश्लेषकहरु बताउँछन् । पूर्वराजा शाह र राप्रपाहरूभित्र चलेको चलखेलले ‘केही पाकिरहेको’ संकेत गर्ने ंविश्लेषक आनन्दराम पौडेल बताउँछन् । ‘पूर्वराजा काठमाडौँमा भन्दा पनि जिल्लाहरूमा घुम्दै आएका छन् । मन्दिरमा जाने, पूजा गर्ने, शुभेच्छुकहरूसँग भेट्ने आदि कार्यले गर्दा पूर्वराजा शाहप्रति गाउँका जनताको सहानुभूति बढ्न थालेको छ,’ उनी भन्छन्, ‘भ्रमण विशुद्ध धार्मिक र पारिवारिक भनिए पनि राजनीतिक देखिन्छ, यसभित्र केही रहस्य छ ।’

प्रकाशित समय २१:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु