गृहपृष्ठ कर्णालीमा किसान नायक नायिकाको छनौट हुने

कर्णालीमा किसान नायक नायिकाको छनौट हुने

bimala_kc_newskarobar

कर्णालीमा कृषिमा प्रभावकारी काम गर्ने किसान मध्येबाट किसान नायक नायिका छनौट गरी पुरस्कार प्रदान गरिने भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले बताएकी छन् । सोमबार मन्त्रालयको वार्षिक प्रगती समीक्षा कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।

‘कर्णाली प्रदेशमा सम्भावना भनेको किसानहरुको छ,’ मन्त्री केसीले भनिन्, ‘जसका लागि किसानहरुलाई प्रोत्साहित गर्न हामीले विभिन्न पुरस्कारका कार्यक्रमहरु घोषणा गरेका छौं ।’ व्यावसायिक कृषक प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि २०७५ बनाइएको उनले जानकारी दिइन् ।

‘हामीले प्रत्येक गाउँपालिका वा नगरपालीकाका लागी ५०/५० लाखको अख्तियारी समेत गरिसकेका छौं,’ उनले भनिन्, ‘अब कर्णालीमा कनिका छरेजस्तै बजेट छरिने छैन ।’

किसानहरुका लागि विभिन्न पुरस्कारहरु मध्ये मुख्यमन्त्री उत्कृष्ट पुरस्कारभित्र स्थानीय तहस्तरीय कृषक पुरस्कार, जिल्लास्तरिय उत्कृष्ट कृषक पुरस्कार, प्रदेशस्तरिय नायक नायिका पुरस्कारलगायत प्रदेशभर करिब २ सय जनालाई पुरस्कार वितरण गरिने मन्त्री केसीले बताईन् ।

त्यस्तै भूमी व्यवस्था, कृषि तथा सहरकारी मन्त्रीमा आफु नियुक्त भएको अवसर पारी किसानका गुनासा सुन्न हेलो किसान सरकार हटलाईन र विज्ञसँग किसानलाई जोड्न हप्ताका ६ दिन विशेष फरकफरक विषयमा कृषकलाई जानकारी दिन विज्ञ समेत बोलाउने गरेको उनले बताइन् ।

 

मन्त्रालयबाट माटो परिक्षण

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशले आजैबाट माटो तथा मल प्रयोगशाला सञ्चालनमा ल्याउने समेत बताएको छ । किसानहरुको समस्यालाई ध्यानमा राखी आजैदेखि माटो परीक्षणको काम समेत सुरु गरिने मन्त्रालयले बताएको छ ।

माटो तथा मल परीक्षण प्रयोगशाला भए पनि मलको लागि हाल उपकरण नआईसकेको हुँदा माटो परीक्षण कार्य सुरु गरिएको मन्त्रालयले जानकारी दिएको हो । माटो परीक्षण गरी खेती किसान गर्न एकदमै आवश्यक भएकोले यो कार्यको थालनी गरिएको मन्त्री केसीले बताइन् ।

उनले भनिन्, ‘हामीले आजैका मितिदेखि माटो परीक्षणका कामहरु अगाडि बढाउने छौं । त्यसको लागि किसानहरुलाई आवश्यक परेमा घुम्ती शिविर पनि सञ्चालनमा ल्याइने छ ।’

 

एकवर्षमा के भयो उपलब्धि कृषी मन्त्रालयको

भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्रीमा केसी नियुक्त भएपछि र मन्त्रालयले काम कार्बाही सुरु गरेदेखि आजको दिन ठिक एक वर्ष पुगेको छ । यो अवधीमा चालु आव २०७५/७६ को कृषि विकास कार्यक्रम कार्यान्वयनकको लागि १७ वटा कार्यविधी तयार भएका छन् ।

त्यस्तै एक निर्वाचन क्षेत्र एक सहकारी खेतीमा आधारित सिँचाई कार्यक्रममार्फत २४ स्थानमा सिँचाई निर्माण कार्यक्रम सम्पन्न गरी २० हेक्टर क्षेत्रफलमा सिँचाई सुविधा विस्तार, कालीकोटमा एक सेलार स्टोर निर्माण, एक निर्वाचन क्षेत्र एक युवा लक्षित भेडा, बाख्रा प्रर्वधन कार्यक्रमअन्तर्गत २० स्थानमा कार्यक्रम सम्पन्न भएको छ ।

त्यस्तै पशुसेवा कार्यक्रम अन्तर्गत ५ वटा कार्यविधि तयार पारिएको छ । एक वडा एक प्राविधिक अन्तर्गत भेटेनेरी प्राविधिकहरुलाई स्थानीय तहको सहभागीतामा पशुसेवा सम्बन्धी उपकरणहरुको वितरण १० वटै जिल्ला गरिएको छ ।

त्यस्तै सहकारीतर्फ प्रदेशभर १४ वटा सहकारी भवन तथा संकलन केन्द्र निर्माण, सहकारी सम्बन्धी विभिन्न विधेयकहरु निर्माण गरिएको छ । मन्त्रालय मातहतका २८ वटा कार्यलयहरु स्थापना गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

एकवर्षको अवधीमा काम गर्ने क्रममा विभिन्न चुनौतीहरु आए पनि आगामी दिनमा अझै उत्कृष्ट ढंगबाट काम गर्ने योजना रहेको मन्त्री केसीले बताइन् ।

मन्त्रालयले आयोजना गरेको एववर्षे समीक्षा कार्यक्रममा बोल्दै कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष पुण्य प्रसाद रेग्मीले नेपालको ठूलो समस्या भनेको व्यापार घाटा भएको र यो घाटा पूर्तिका लागि किसानले उत्पादनमा जोड दिनुपर्ने बताए ।

प्रकाशित समय १८:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु