गृहपृष्ठ सांसदको निधनपछि प्रदेश सरकारद्वारा सडक सुरक्षाको विषयमा सुझाव दिन समिति गठन
सांसदको निधनपछि प्रदेश सरकारद्वारा सडक सुरक्षाको विषयमा सुझाव दिन समिति गठन
दाङ जिल्ला क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य उत्तरकुमार ओली गत माघ २४ गते लमहीमा भएको सडक दुर्घटनामापरी गम्भीर घाइते भए । दुर्घटनामा परी गम्भीर घाइते भएका ओलीको उपचारको क्रममा शुक्रबार निधन भएको छ ।
दुर्घटनापश्चात प्रारम्भिक उपचार कोहलपुर मेडिकल कलेजमा गरेपछि थप उपचारको लागि उनलाई हेलिकोप्टरबाट काठमाडौं लगिएको थियो ।
सांसद ओली सडक दुर्घटना परी ज्यान गुमाउने एक्ला व्यक्ति होइनन्, प्रदेश-५ का विभिन्न स्थानमा सडक दुर्घटना परी अकालमा नै ज्यान गुमाउनेको संख्या ठूलो छ ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख (प्रहरी उपरीक्षक, एसपी) गणेश चन्दका अनुसार प्रदेशमा पछिल्लो सात महिनामा सवारी दुर्घटनामा ३ सय ४९ जनाको मृत्यु भएको तथ्यांक छ ।
सडक दुर्घटनामा परी सबैभन्दा धेरै दाङमा ७४ र रूपन्देहीमा ६८ जनाले ज्यान गुमाएका छन् । कपिलवस्तुमा ४३, नवलपरासीमा ३९, बाँकेमा ३२, पाल्पामा २४, बर्दियामा १९, प्यूठानमा १२, रोल्पामा १२, रुकुममा १० र अर्घाखाँचीमा पाँचजनाको मृत्यु भएको छ ।
सात महिनामा करिब साढे ३ सयको ज्यान सडक दुर्घटनाबाट नै भएको छ । जुन तथ्यांक डरलाग्दो हो ।
मोटरसाइकल दुर्घटना मात्रै ३ सय ८२ वटा भएको प्रदेश ट्राफिक प्रहरीले जानकारी दिएको छ । जिप, कार र भ्यान एक सय १३, बस ८७, ट्रक र ट्यांकर ६८, ट्याक्टर ६१ र ट्याम्पो ३७ वटा दुर्घटनामा परेका छन् । सवारी दुर्घटनामा परी अकालमै ज्यान गुमाउनेको डरलाग्दो स्थिति देखिएपछि प्रदेश सरकारले यसमा चासो देखाएको छ ।
शुक्रबार बसको मन्त्रिपरिषद् बैठकले सडक सुरक्षा सुझाव समिति गठन गरेको छ । मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयबारे जानकारी दिँदै प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लिला गिरीले सडक दुर्घटनाको दर कसरी रोक्न सकिन्छ, खास कारक के हो भन्ने विषयमा छनबिन गरी प्रतिवेदन पेश गर्न समिति गठन गर्ने निर्णय गरिएको जानकारी दिए ।

यसभन्दा पहिला सवारी दुर्घटनाबाट मृत्यु भएका समाचारहरू आइरहँदा प्रदेश सरकारले ठोस कदम चालेको देखिएको थिएन । तर, शुक्रबार सवारी दुर्घटनामा परी प्रदेशसभा सदस्यको निधन भएपछि भने यतातिर प्रदेश सरकारले चासो देखाएको छ ।
‘माननियकै निधनले हामीलाई छोयो ’
गठन गरिएको समितिले सडकको अवस्था, बाटोको संरचना, सवारी साधानको अवस्थादेखि ट्राफिक प्रहरी कार्यालयको कार्य, जनशक्ति लगायतको विषयमा विस्तृत प्रतिवेदन तयार गर्नेछ ।
बढी सवारी दुर्घटना हुने स्थान पहिचानदेखि घुम्ती वा तीव्र गति के कारण सवारी दुर्घटना बढेका हुन् ? यस विषयमा समेत समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गर्ने मन्त्री गिरीले जानकारी दिए ।
प्रदेशका प्रमुख न्यायाधिवक्ता ठाकुरप्रसाद डिसीको संयोजकत्वमा सडकको सुरक्षाको विषयमा अध्ययन, अनुसन्धान गरी प्रतिवेदन बुझाउन उक्त समिति गठन गरिएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव, प्रदेशका प्रहरी प्रमुख सदस्य र भौतिक पूर्वाधार विकास मन्त्रालयका उप-सचिव सदस्य सचिव रहने गरी सडक सुरक्षा सुझाव समितिका गठन गर्ने निर्णय गरेको थियो ।
समितिले गठन भएको दई महिनामा सुझाव पेश गर्नुपर्ने सीमा मन्त्रिपरिषद्ले निर्धारण गरिदिएको छ । शुक्रबार नै बसको मन्त्रिपरिषद्ले निधन भएका प्रदेशसभा सदस्य उत्तर कुमार ओलीको शोक प्रस्थाव पारित गरेको छ ।
मुख्यमन्त्रीद्वारा शोक व्यक्त
मुख्यमन्त्री शंकर पोखरेलले शोक विज्ञप्ती जारी गर्दै दाङ जिल्ला क्षेत्र नम्बर ३ (ख) का प्रदेशसभा सदस्य उत्तरकुमार ओली निधनप्रति शोक व्यक्त गरेका छन् ।
प्रकाशित शोक विज्ञप्तीमा भनिएको छ, ‘गत माघ २४ गते लमहीमा भएको सडक दुर्घटनामा परी गम्भीर घाइते हुनु भएका उहाँको काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो । दुर्घटनापश्चात प्रारम्भिक उपचार कोहलपुर मेडिकल कलेजमा गरेपछि थप उपचारको लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको थियो ।’ प्रदेशसभा सदस्यको निधनले प्रदेशसभाले योग्य र कुशल सदस्य गुमाएको शोक विज्ञप्तीमा उल्लेख गरिएको छ ।
‘स्वर्गीय ओलीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै, शोकको यस घडीमा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु,’ मुख्यमन्त्रीद्वारा जारी गरिएको शोक विज्ञप्तीमा उल्लेख छ ।
प्रकाशित समय १५:५२ बजे

















