गृहपृष्ठ प्रेसमाथिको हस्तक्षेप कांग्रेसलाई सह्य हुँदैन : देउवा
प्रेसमाथिको हस्तक्षेप कांग्रेसलाई सह्य हुँदैन : देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रेसमाथि हुने कुनै किसिमका हस्तक्षेप कांग्रेसलाई सह्य नहुने बताएका छन् । शनिबार पोखरामा नेपाल प्रेस युनियन कास्कीको नवौं अधिवेसन तथा पुरस्कार वितरण समारोहको उद्घाटन गर्दै देउवाले सरकार प्रेस स्वतन्त्रता माथि आक्रमण गर्न उद्यत रहेको आरोप लगाए ।
उनले प्रेस स्वतन्त्रता र प्रजातन्त्र एक अर्कामा अन्योन्याश्रित भएको बताए । वर्तमान सरकार हरेक क्षेत्रमा असफल भएको बताउँदै उनले हिजो जथाभावी सपना बाँडेको सरकारले जनअपेक्षाअनुरुप काम गर्न नसकेको जिकिर गरे ।
वि.सं. २००७ देखि प्रेस स्वतन्त्रता एवं लोकतन्त्रका पक्षमा निरन्तर सङ्घर्ष गरेको कांग्रेस लोकतन्त्रको रक्षा एवं प्रेस स्वतन्त्रताका पक्षमा सधैँ क्रियाशील बन्ने उनको भनाइ थियो ।
सभापति देउवाले नेपाल प्रेस युनियन कास्कीले स्थापना गरेको प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार कविर राणा र समिरजंग शाहलाई सम्मान गरे । ३५ हजार ५५५ नगदसहितको उक्त पुरस्कार दुई जनालाई संयुक्तरुपमा प्रदान गरिएको हो ।
कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले प्रेस स्वतन्त्रता एवं लोकतन्त्रका विरुद्धमा हुने जुनसुकै क्रियाकलापमा सशक्त कलम चलाउनुपर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले नेपालमा प्रजातन्त्र एवं प्रेस स्वतन्त्रताको आन्दोलनमा प्रेस युनियनले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए ।
प्रकाशित समय १९:०३ बजे

















