गृहपृष्ठ उनिएको म नेपाली

उनिएको म नेपाली

dr suraj niraula-newskarobar

१०४ वर्षे जहानियाँ शासन तोडेर आए,
कति उदार छातीहरुमा गोलीको छेदन पाए ।
कति स्वच्छ अनि गहकिला मतिष्कहरु झुन्डिए,
कति कर्मठ देशभक्त छोराहरु जेलैभित्र सडिए ।
मर्माहट र चित्कारसँग,
नेपाल आमा रोइरहेथिइन् ।
तैपनि म,
शान्ति र विकासका लागि हाँसिरहेथेँ ।

पञ्चायती व्यवस्थामा रमिए,
श्रीमान् गम्भीर नेपालीमा रत्तिए ।
शासक पोषिए, सुसारे मोटाए,
तर, अघाएनन् कहिल्यै ।
सुनका भित्ताहरु बनिए,
घरहरुले पुगेन कहिल्यै ।
आखिर शासक त उही शोषक पो रहेछन् ।
म थिचिएँ, मिचिएँ अनि दबिएँ ।
अझै मैले हिम्मत हारिन ।

फेरि, क्रान्ति ब्युत्याएँ,
पञ्चायत ढाले, प्रजातन्त्र निम्त्याए ।
हर्षोल्लासमा आफैंलाई बिर्सिए, खूब रमाए ।
हेरेँ, भोकले आमा अझै छट्पटाइरहेथिन् ।
मुटु कटक्क खायो, छाती समाएँ ।
हात गोडा फतक्क गले ।
पुनः बम, बारुद अनि बन्दुकबीच
म मर्दै बाँचिरहे,
तैपनि, आशा छाडिन ।
पानी होइन…
पानी होइन यहाँ खोलोभित्र
नेपाली रगत बग्न थाले,
कैयौं सपूतहरु सहिद भए ।
कैयौं आमाहरु निःसन्तान् भइन् ।
अन्तत: प्रजातन्त्रमाथि लोकतन्त्र पाएँ ।
गणतन्त्र बोकी हिँडिरहेछु अब ।
वजन्दार गणतन्त्र साह्रै भारी रहेछ
तैपनि बोक्न नेताहरु मारामार गर्दैछन् ।
एक आपसमा जुदाइरहेछन् ।
नेपाली नेपाली फुटाइरहेछन् ।
मातृभूमि खण्डित गर्दैछन् ।
उफ् ! यो देश
गृहयुद्धमा जाने भो मेरो देश ।
हिजोको अनुहार, आजको अनुहार
फेरिएको छ ।
घिनौना राजनीतिक खेलहरु उस्तै छन् ।

नेताभित्रको शैतान उही नै छ ।
निराश र थकित शरीरसँग
लुटिएको हौसला लिई
फर्किएर हेरे,
आमा घोप्टो परेर रोइरहे थिइन् ।
उनका रुने आँसुहरु पनि सकिएछन् ।
चिच्याउने स्वर पनि भासिएछन् ।
मुहारमा उनका मुस्कान धरी निचोरिएछन् ।
उनलाई सीधा हेर्ने साहस छैन ममा ।
उफ् !
सतिले सरापेको मेरो देश ।

कस्तो बिडम्बना !
पीडामा दबिएको म नेपाली पिल्सिरहेछु ।
कुनामा पन्छिएको म नेपाली रोइरहेछु ।
शूलमा उनिएको म नेपाली झुलिरहेछु ।
धोकामा लट्किएको म नेपाली हेरिरहेछु ।
बस् एकोहोरो हेरिरहेछु ।

प्रकाशित समय १५:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु