गृहपृष्ठ कांग्रेस किचलो : महासमिति बोलाउनुपर्ने जिल्ला सभापतिको निस्कर्ष

कांग्रेस किचलो : महासमिति बोलाउनुपर्ने जिल्ला सभापतिको निस्कर्ष

महासमितिको निर्णय उल्टाएर केन्द्रीय समितिले अवैधानिक निर्णय गर्यो

nepali_congress

नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले फेरि महासमिति बैठक बोलाउनुपर्ने निस्कर्ष निकालेका छन् । महासमितिको बैठकबाट पारित विधान पार्टीले उल्ट्याएको भन्दै जिल्ला सभापतिहरूले आपत्ति जनाउँदै पुनः महासमिति बैठकको माग गरेका हुन् ।

काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरूको बैठकले महाधिवेशनपछिको सर्वोच्च निकाय महासमितिको निर्णय उल्टिएको भन्दै यस्तो निस्कर्ष निकालेको हो । ‘महासमितिको निर्णय केन्द्रीय समितिलाई उल्ट्याउने अधिकार छैन’, कांग्रेस नुवाकोट सभापति जागदिश नरसिंह केसीले भने, ‘विधान उल्लंघन भयो । फेरि महासमिति बोलाएर निर्णय गर्नुपर्ने देखियो ।’

आइतबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले बहुमतबाट विधान पारित गरेको थियो । महासमिति बैठकमा जिल्ला सभापतिहरूले केन्द्रीय सदस्यहरू पनि तलैबाट लडेर आउनुपर्ने, समानुपातिकमा पनि पटकपटक अवसर दिन नहुने माग गरेका थिए ।

जिल्ला सभापतिहरूको यो मागमा सभापति शेरबहादुर देउवाले पनि प्रतिबद्धता जनाएका थिए । तर महासमिति सकिएको एक महिनमै सभापति देउवाले आफूले गरेको प्रतिबद्धता भुल्दै केन्द्रीय समिति बैठकबाट उल्टाएपछि जिल्ला सभापतिहरु आक्रोशित भएका हुन् ।

महासमितिको निर्णय केन्द्रीय समितिले नमानेका कारण अब पार्टी कसरी चल्छ भन्ने प्रश्न उठेको मुगु सभापति खड्कबहादुर शाहीले बताए । ‘अब केन्द्रीय समितिले गरेका निर्णय तल्लो तहले मान्ने कि नमान्ने?’, उनले भने, ‘यसले पार्टी कसरी चल्छ भन्ने मै प्रश्न उठेको छ ।’

आफूहरूले उठाएको माग एक व्यक्तिगत नभई आम महासमिति सदस्यको भएको जिल्ला सभापतिहरुको दावी छ ।  उनीहरुले महासमितिको बैठकमा पारित निर्णय र केन्द्रीय समितिलाई दिएको निर्देशनलाई ‘गैरजिम्मेवार र निर्मम ढंग’ले लत्याउने काम गरेर महासमितिको स्थान, मर्यादा र गरिमालाई समाप्त पार्ने कसरत गरेको आरोप लगाए ।

संस्थापन समूहको प्रतिक्रियापछि जिल्ला सभापतिहरूले भने महासमितिबाट भएका सबै निर्णय वैधानिक नभएको बताएका छन् ।

देउवा समूहका केही नेताले तलबाट आउँदा हार्ने डर र समानुपातिकमा पटकपटक हालिमुहाली गर्न यस्तो निर्णय गरेको जिल्ला सभापतिहरूको आरोप छ । जिल्ला सभापतिहरूको मागमा असन्तुष्ट समूहका शीर्ष नेताले पनि साथ दिएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलसँगै एक दर्जन बढी केन्द्रीय सदस्यले केन्द्रीय समितिको निर्णयमा आपत्ति जनाउँदै फरक मत दर्ज गराएका छन् ।

प्रकाशित समय १९:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु