गृहपृष्ठ मंगलबार पनि बस्न सकेन संसदीय सुनुवाइ समितिको बैठक
मंगलबार पनि बस्न सकेन संसदीय सुनुवाइ समितिको बैठक
फाइल तस्बिर ।
कोरम नपुगेपछि मंगलबारका लागि बोलाइएको संसदीय सुनुवाइ विशेष समितिको बैठक स्थगित भएको छ । मंगलबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक कोरम नपुगेपछि अन्तिम समयमा आएर स्थगीत भएको हो ।
मधेशी आयोगका प्रस्तावित अध्यष डा. विजयकुमार दत्त र थारू आयोगका प्रस्तावित अध्यक्ष विष्णुप्रसाद चौधरीको सुनुवाइका लागि बैठक बोलाइएको थियो । संवैधानिक परिषद्ले उनीहरूको नाम तत् तत् आयोगका लागि सिफारिस गरेको थियो ।
संवैधानिक परिषद्ले गरेको सिफारिस संसदीय सुनुवाइ समितिले सुनुवाइ गरी अनुमोदन गरेपछि मात्र संवैधानिक निकायमा नियुक्ति हुने संवैधानिक व्यवस्था छ । सोही व्यवस्थाअनुसार उनीहरूको सुनुवाइ गर्न भन्दै मंगलबार दिउँसोका लागि संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको थियो ।
यसअघि आइतबार पनि कोरम नपुगेकै कारण समितिको बैठक स्थगीत भएको थिए । संवैधानिक परिषद्को सिफारिसप्रति प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले असन्तुष्टि जनाउँदै आएको छ । कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाको अनुपस्थितिमा उक्त निर्णय गरिएको भन्दै असन्तुष्टि जनाएको हो । प्रतिनिधिसभाका प्रमुख प्रतिपक्षी दलका संसदीय दलका नेता संवैधानिक परिषद् सदस्य हुने संवैधानिक व्यवस्था छ ।
दत्त र थारूलाई सिफारिस गर्ने बैठकमा देउवा उपस्थित थिएनन् ।
यद्यपी नेपाली कांग्रेसको अनुपस्थितीमै पनि नेकपाका सबै सांसदहरू उपस्थित हुँदा बैठकको कोरम पुग्थ्यो । किनकि समितिका १५ सदस्यमध्ये ९ जना सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद छन् । ८ जना सदस्य उपस्थित भए कोरम पुग्छ । यसरी पटक-पटक कोरम नपुगी समितिको बैठक स्थगीत हुनुलाई कतिपयले संवैधानिक परिषद्को सिफारिसप्रति नेकपामा मतैक्यता नभएको टिप्पणि पनि गरेका छन् ।
नेपालको संविधानको धारा २८४ मा संवैधानिक परिषद् सम्बन्धी व्यवस्था छ । उक्त धाराको उपधारा १ ले प्रधानमन्त्रीको अध्यक्षतामा संवैधानिक परिषद् रहने व्यवस्था गरेको छ । सोही उपधारामा प्रधानन्यायाधीश, प्रतिनिधिसभाको सभामुख, राष्ट्रियसभाको अध्यक्ष, प्रतिनिधिसभाको विपक्षी दलको नेता तथा प्रतिनिधिसभाको उपसभामुख सदस्य रहने व्यवस्था गरेको छ । संवैधानिक परिषद्को सदस्य सचिवमा नेपाल सरकारको मुख्य सचिव रहने व्यवस्था छ ।
प्रकाशित समय १८:०३ बजे

















