गृहपृष्ठ पाटामगर स्मृति मैत्रीपूर्ण व्याडमिन्टनको उपाधी आयोजकलाई
पाटामगर स्मृति मैत्रीपूर्ण व्याडमिन्टनको उपाधी आयोजकलाई
नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) रुपन्देहीले स्वर्गीय पत्रकार देव बहादुर पाटामगरको स्मृतिमा रुपन्देहीमा क्रियाशिल पत्रकारहरुका बीचमा मैत्रिपूर्ण डबल ब्याट्मिन्टन प्रतियोगिता सम्पन्न गरेको छ ।
मंगलबार बुटवलमा भएको प्रतियोगिताको उपाधी आयोजकको तर्फबाट कमल थापा र सुन्दर गुरुङको जोडीले हात पार्न सफल भयो । आयोजककै मिलन गाहा र सुन्दर तरामुको जोडीलाई हराउँदै गुरुङको जोडी विजेता बन्न सफल रह्यो ।
विजेता टिमले मेडल, प्रमाणपत्र र पाँच हजार पुरस्कार प्राप्त गरे । उपविजेतामा चित्त बुझाएका मिलन र सुन्दरको जोडीले तीन हजार नगद सहित, मेडल र प्रमाण पत्र प्राप्त गरे ।
त्यसैगरी सेमिफाइनलमा पुग्न सफल प्रेस युनियनका तर्फबाट यमलाल भूषाल र विश्वास ढकालको जोडी र कृषि पत्रकार समाजका तर्फबाट दिनेश कुमार श्रेष्ठ र घनश्याम गौतमको जोडीले मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्राप्त गरे ।
विजयी खेलाडिहरुलाई जिल्ला खेलकुद विकास समिति, रुपन्देहीका अध्यक्ष योग बहादुर गुरुङले पुरस्कार प्रदान गर्दै पत्रकार जगतले खेलकुदलाई गरेको माया र प्रवर्रद्धनप्रति खुशी व्यक्त गरे ।
फोनिज रुपन्देहीका संस्थापक अध्यक्ष स्वर्गीय पत्रकार पाटामगरको स्मृतिमा बुटवल आयोजित प्रतियोगितामा १० टिमको सहभागिता रहेको फोनिज रुपन्देहीका अध्यक्ष सनु थापाले जानकारी दिए ।
बुटवलबाट प्रकाशित राज्यसत्ता साप्ताहिकका सम्पादक रहेका पत्रकार पाटामगरको २०६५ साल फागुन १४ गते बुटवल लखनचोक चौराहमा ट्रकले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको थियो । फोनिज रुपन्देहीले हरेक वर्ष उनको स्मृतिमा रचनात्मक कार्यक्रम गर्दै आइरहेको छ ।
पत्रकार पाटाको योगदान स्मरण गर्दै स्व.देव बहादुर पाटामगर स्मृति पत्रकारिता पुरस्कारको समेत स्थापना गरिएको छ ।
प्रकाशित समय १८:४५ बजे
















