गृहपृष्ठ सरकार प्रमुख नै रुन्चे भए : नेता शाही
सरकार प्रमुख नै रुन्चे भए : नेता शाही
फाइल तस्बिर
सरकारका प्रमुख नै रुन्चे भएको कर्णाली प्रदेशसभा सांसद तथा नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले बताएका छन् । कर्णाली प्रदेशको तेस्रो अधिवेशनमा दलको तर्फबाट बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘सरकार पार्टीभन्दा माथि हुनुपर्छ र सबैको हुनुपर्छ । कर्णालीको एक वर्ष निराशाजनक भएको छ । सरकार रुन्चे भयो । यसले विकासमा बाधा पुर्याउँछ ।’
उनले थपे, ‘नाङ्गै भए पनि सुटबुटमा राम्रो देखिएको छ भन्ने प्रवृत्तिले सरकार बन्दैन । केन्द्र प्रदेशलाई अधिकार दिने पक्षमा छैन त्यसैले सबै मिलेर कर्णालीको विकास गर्नुपर्छ ।’
बैठकमा नेकपाको नेता यामलाल कँडेलले संघीय सरकारलाईभन्दा प्रदेश सरकारलाई जनताले नजिकको सरकार मानेको भए पनि संघले अधिकार नदिँदा समस्या भएको बताए ।
उनले भने, ‘सरकारलाई प्रश्न सोध्ने धेरै छन् । अब जवाफ मुखले होइन कामले दिने बेला आएको छ ।’ यो चार वर्षको अवधिमा जनतालाई विश्वास दिलाउने गरी सरकारले काम गर्नुपर्ने भन्दै नेता कँडेलले राजनीतिक मुद्दालाई होइन विकास र निर्माणलाई प्रमुख मुद्दा बनाएर अगाडि बढ्नुपर्ने बताए ।
राप्रपाकी शोसीला शाहीले कर्णाली सरकारले एक वर्षको अवधीमा उपलब्धिमुलक काम नगरेको बताईन् ।
बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले दुईवटा विधेयक टेबुल गरेका छन् । कर्णाली प्रदेश सार्वजनिक प्रसारण सम्बन्धमा कानुनी व्यवस्था गर्न बनेको विधेयक २०७५ र कर्णाली प्रदेशमा सुशासन प्रत्याभुती गर्ने सम्बन्धमा बनेको विधेयक २०७५ बैठकमा टेबुल भएका हुन् ।
कर्णाली प्रदेशको आगामी बैठक फाल्गुन १८ गते शनिबार दिउँसो १ बजेका लागि स्थगीत भएको छ ।
प्रकाशित समय १९:२४ बजे

















