गृहपृष्ठ मन्त्री अधिकारीका उल्लेख्य काम : विमानस्थल सुधारदेखि निर्माणसम्म
मन्त्री अधिकारीका उल्लेख्य काम : विमानस्थल सुधारदेखि निर्माणसम्म
गौतम बुद्ध विमानस्थल बन्दै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारिँदै
वर्ष दिनअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको सपथ लिएलगतै रविन्द्र अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार गर्ने, राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमास्थलको काम तीव्र बनाउने घोषणा गरेका थिए ।
उनले घोषणा गरेअनुसार वर्ष दिनमा ति कार्यहरूमा प्रशस्त प्रगति भएको छ । तर, आफ्नो योजना अनुसार काम भएको भने उनले देख्न पाएनन् । मन्त्री बन्दा २६ प्रतिशत मात्रै भौतिक प्रगति भएको गौतमबुद्ध विमानस्थलको प्रगति ७० प्रतिशत पुगेको छ । त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग सुधारको काम सुरु हुन लागेको छ ।
गौतम बुद्ध विमानस्थलको काम तीव्र
अधिकारी मन्त्री बन्दा गौतम बुद्ध विमानस्थलको भौतिक प्रगति मात्रै २६ प्रतिशत थियो । कामको गति कछुवाको जस्तै थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत प्रभावकारी समन्वय गर्न सकेको थिएन । आयोजनालाई अगाडि बढाउने जिम्मेवार निकाय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पनि बेखबर अवस्थामा थियो ।
अधिकारी मन्त्री बनेको १२ महिनापछि सो आयोजनाको अवस्था अर्कै भएको छ । कूल २६ प्रतिशत भौतिक प्रगतिमा रहेको आयोजनाको कार्यप्रगति करिब ७० प्रतिशतको हाराहारीमा पुगेको छ ।
मन्त्री अधिकारीले पदभार सम्हालेलगतै नेपाल नागरिक उड्डयन प्राधिकरणलाई प्रभावकारी समन्वय गर्न निर्देशन दिएपछि भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्रमा पारेर निर्माण भइरहेको सो विमानस्थलको निर्माण अबको केही महिनाभित्र निर्माण सम्पन्न हुने अवस्था पुगेको छ ।
‘विमानस्थल बन्छ कि बन्दैन भन्ने अन्योल हटेको छ, अब केही महिनामै सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेका छौं, आयोजनाका प्रमुख भन्छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा मन्त्रीको रुपमा अधिकारीले पदभार ग्रहण गरेपछि गौतमबुद्ध विमानस्थलाई जसरी भए पनि अगाडि बढाउने सोच बनाइयो । ठेकेदारका समस्या समाधान गरियो, पैसाको उचित प्रबन्ध र व्यवस्थापन गरियो । प्राविधिक तथा अन्य समस्यासमेत निरुपण गरियो । फलस्वरुप यतिखेर विमानस्थल युद्धस्तरमा निर्माण भइरहेको हो ।
एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै समस्या आउने बित्तिकै हवाईजहाजलाई थाइल्याण्ड, कोलकत्ता, लखनऊ र नयाँदिल्ली ‘डाइभर्ट’ गर्नुपर्ने बाध्यता छ । अर्कोतिर विमानस्थलको प्रगति नहुँदा सरोकारवाला निकायमा निराशा फैलिइरहेको थियो ।
एक वर्षको अवधीमा मन्त्री अधिकारीले देखाएका तदरुकताले यो विमानस्थलको काम तोकिएभन्दा छिटो सम्पन्न हुने चरणमा रहेको आयोजनाका अधिकारीहरु बताउँछन् ।
त्रिभुवन विमानस्थलको धावनमार्ग सुधार हुँदै
मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग सुधारको लागि अबको महिना दिनबाट काम सुरु हुँदैछ । सन् १९७५ ताका निर्माण गरिएको विमानस्थलको धावनमार्गमा नयाँ कालोपत्रे गर्न लागिएको हो । मन्त्री अधिकारीकै योजनामा अघि बढेको यो कामको ठेक्काको काम पूरा भैसकेको छ ।
चैत १८ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको स्तरोन्नतिको काम सुरु हुने विमानस्थलका महाप्रबन्धक राजकुमार श्रेत्री बताउँछन् । झण्डै ४ दशकभन्दा बढी समयसम्म सामान्य मर्मत गरेर मात्रै काम चलाइँदै आएकोमा अब पिचलाई फेर्ने गरी स्तरोन्नति थाल्न लागिएको जनाइएको छ ।
त्रिभुवन अन्तर्रराष्ट्रिय विमानस्थलका महाप्रबन्धक क्षेत्रीले न्यूज कारोबारसँग भने, ‘२०७६ जेठसम्म धावनमार्ग मर्मत सक्ने योजना छ, काम तोकिएकै समयमा सक्न अहिले पूर्वतयारी स्वरुपमा आवश्यक निर्माण सामग्री जुटाउने काम भइरहेको छ ।’
चीनको सरकारी कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङले यसको जिम्मेवारी पाएको छ । त्रिभुवन विमानस्थलको धावनमार्गको पिच पटक-पटक उप्किन्छ । हिउँदमा फाटफुट रुपमा उत्पन्न हुने यस्तो समस्या वर्षायाम लागेपछि निकै बढ्छ ।
समस्या स्थायी रूपमा समाधानका लागि १ वर्ष लगाएर अब विमानस्थलको धावनमार्गलाई पूर्ण रुपमा नयाँ बनाउने योजना छ । अहिलेको कालोपत्रेलाई सबै उप्काएर नयाँ बिछ्याइनेछ । विमानस्थलका महाप्रबन्धक श्रेत्रीले भने ।
पोखरा विमानस्थलको काम पनि धमाधम
२०२१ जुलाइमा पूरा गर्ने गरी पोखरा विमानस्थलको काम थालिएको थियो । सन् २०२२ मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा गर्न विमानस्थल तोकिएकै मितिमा सम्पन्न गर्नुपर्ने बताइँदै आएको थियो । तर पर्यटनमन्त्री अधिकारीले विमानस्थल तोकिएको समय भन्दा ६ महिनाअघि निर्माण सम्पन्न हुने गरी कामको पहल गर्दै आएका थिए ।
सरकारको लक्ष्य पूरा गर्न विमानस्थल तोकिएकै मिति अघिनै सम्पन्न गर्नुपर्ने उनले जोड दिँदै आएका थिए । मन्त्री अधिकारीले आयोजनाका अधिकारीलाई काम तीव्र बनाउन निर्देशन दिँदै आएका थिए ।
निजगढको अन्योल फुक्दै
निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको काम समेत तीव्र गतिमा अघि बढाउन मन्त्री अधिकारीले पहल थालेका थिए । विमानस्थल निर्माण गर्न छुट्टै विकास बोर्ड गठन गरेर आयोजनाको निमार्ण कार्य अघि बढाउने उनको योजना थियो ।
‘विभिन्न विषयका कारण काम अलमलिएपछि मन्त्री ज्यूले छुट्टै विकास बोर्ड गठन गर्ने र डिपीआएर तयार पार्नुपर्ने प्रस्ताव गर्नुभएको थियो,’ आयोजना प्रमुख ओम शर्मा भन्छन्, ‘आयोजना पहिला केही काम नभई अलमलिएको थियो, एक वर्षको बीचमा ठूलो प्रगति भएको छ । मन्त्रालय तहबाट थुप्रै नीतिगत समस्या समाधान भइरहेको उनले बताए ।
प्रकाशित समय १७:२० बजे

















