गृहपृष्ठ कृषिको आधुनिकीकरण गरे १० करोडलाई खाद्यान्न पुग्छ : प्रचण्ड

कृषिको आधुनिकीकरण गरे १० करोडलाई खाद्यान्न पुग्छ : प्रचण्ड

prachanda-newskarobar

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषिको आधुनिकीकरण गर्न सके तीन करोड होइन, १० करोडलाई पुग्ने खाद्यान्न उत्पादन गर्न सकिने बताएका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयले रामपुरमा आयोजना गरेको कृषि मेलाको शनिबार उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘कृषिको विविधीकरण, आधुनिकीकरण, विज्ञान र प्रविधिको सदुपयोग गरेर तीन करोड होइन, १० करोडलाई पुग्ने खाद्यान्न उत्पादन गर्न सकिने तागत नेपालको जमिन र नेपाली किसानमा छ ।’

कृषिमा आधारित अर्थतन्त्रबाट मात्रै आर्थिक समृद्धिको जग बस्ने अध्यक्ष प्रचण्डको भनाइ छ । ‘कृषिमा आधारित अर्थतन्त्र र कृषिमा आधारित उद्योगबाट मात्रै नेपालको आर्थिक क्रान्ति वा आर्थिक समृद्धिको नयाँ युगको सूत्रपात गर्न सम्भव छ,’ उनले भने, ‘कृषिमा आधारित उद्योग स्थापना गर्ने कुरा अगाडि नबढेसम्म बेरोजगारी समस्या पनि समाधान हुँदैन ।’ कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई नेपालको विशिष्ट, उत्कृष्ट र दक्षिण एसियाको नमुना विश्वविद्यालय बनाउनुपर्ने उनले बताए ।

सरकाले नीति तथा कार्यक्रमबाट कृषिमा सुधारका काम गरिरहेको अध्यक्ष प्रचण्डले बताए । नयाँ संकल्पका साथ उत्पादन वृद्धि र रोजगारी सृष्टिका साथ नयाँ अभियानका रुपमा अगाडि लैजान जरुरी रहेको प्रचण्डले भनाइ छ । आफू सामान्य किसानको छोरो हुनुको नाताले कृषिमा क्रान्ति गर्नुपर्छ भन्ने सोचेर राजनीतिमा होमिएको भन्दै उनले भने, ‘कृषिमा विज्ञान र प्रविधिको उच्च प्रयोग हुनुपर्छ । कृषिमा क्रान्तिकारी तरिकाले भिन्न इजरायल, कृषिमा प्रविधिको प्रयोगमा अगाडि रहेका चीन र भारतबाट हामीले सिक्नुपर्छ ।’

शनिबारदेखि सुरु भएको मेला मंगलबार समापन हुनेछ । कृषि तथा वन विज्ञान विश्वविद्यालयले पहिलोपटक कृषि मेलाको आयोजना गरेको हो ।

प्रकाशित समय १९:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु