गृहपृष्ठ जुम्ला र आसपासका क्षेत्रमा घरघरै प्लास्टिक टनेल

जुम्ला र आसपासका क्षेत्रमा घरघरै प्लास्टिक टनेल

बेमौसमी तरकारी खेती गर्ने क्रम बढेपछि जुम्ला र आसपासका क्षेत्रमा घरघरै प्लास्टिक टनेल निर्माण हुन थालेका छन् । हिउँदे मौसममा जिल्लामा ताजा तरकारीको अभाव हुने गरेकाले किसानले प्लास्टिक टनेल निर्माण गरी बेमौसमी तरकारीको उत्पादन थालेका हुन् ।

जुम्लामा हिउँदको समयमा तरकारी अभाव हुन्छ । अहिले जिल्लामा नेपालगन्ज र सुर्खेतबाट गाडीबाट तरकारी ढुवानी भइरहेको छ । तराईबाट आएको तरकारी महँगो हुने भएपछि किसान तरकारी खेतीमा आकर्षित भएका हुन् ।

अधिकांश किसानको आकर्षण बेमौसमी तरकारी खेतीमा देखिएको छ । प्लास्टिक टनेलमा तरकारी खेती गर्न थालेपछि जिल्लामा उत्पादन पनि बढ्दै गएको छ । कनकासुन्दरी गाउँपालिका-५ लुड्कुका गगन बुढाले प्लास्टिक टनेलमार्फत गाउँमा बेमौसमी तरकारी उत्पादन हुन थालेको बताए । बुढा विगत केही वर्षबाट गाउँमै बस्दै आएका छन् । ‘तरकारी खेती गर्न थालेपछि किसानको आम्दानी बढिरहेकै छ । बजारका बासिन्दाले समेत ताजा तरकारी उपभोग गर्न थालेका छन्,’ उनले बताए ।

बाहिरी हावापानीको प्रभाव नपर्ने भएकाले टनेलमा तरकारी उत्पादन पनि राम्रो हुने गरेको उमा बुढाले जानकारी दिए । प्लास्टिक टनेलमा उत्पादन भएको साग प्रतिमुठा १५ देखि २० रुपैयाँमा बिक्री हुने गरेको छ । स्थानीयवासीले धनियाँ, टमाटर, प्याज, काउली, लसुन, गाँजरलगायत तरकारी उत्पादन गरिरहेका छन् । सदरमुकाममा अधिकांश तरकारीको भाउ १ सयदेखि १५० रुपैयाँ छ ।

बुढाले गत वर्ष तरकारी खेतीबाट १ लाख रुपैयाँ बचत गरेको जानकारी दिए । उनले खुर्सानी उत्पादनलाई प्राथमिकता दिएको बताए । सदरमुकाममा बेमौसमी तरकारीको माग बढेकाले व्यावसायिक खेतीमा आकर्षण बढेको उनको भनाइ छ । यता सिञ्जा गाउँपालिका-६ कै मुन्कौरा बुढाले बजारमा तरकारी खेती गर्दै छन् । उनको बारीमा साग, धनियाँ, टमाटर र गाँजरको उत्पादन हुने गरेको छ ।

मंसिरदेखि फागुनसम्म तरकारीका बिरुवा चिसोबाट जोगाउन टनेल निर्माण गरिएको उनको भनाइ छ । कतिपय बारीमा आएर साग, धनियाँ, टमाटर र गाजर लिने गरेको बुढाले बताए । बुढाले तरकारीबाट ५० हजार रुपैयाँभन्दा बढी आम्दानी गरेको बताए । नियमित रूपमा घरमा खाने गरेको उनको भनाइ छ । केही वर्षयताबाट तरकारी खेतीको लहर चलिरहेको छ ।

नेपालगन्ज र सुर्खेतबाट आउने तरकारीको मूल्य प्रतिकिलो २५० रुपैयाँभन्दा माथि रहेको उनले जानकारी दिए । उनका अनुसार गाउँगाउँमा तरकारी उत्पादन बढ्दै गएपछि बाहिरको तरकारी कम भित्रन थालेको छ । (रासस)

प्रकाशित समय १५:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु