गृहपृष्ठ घरघरमा मल र बीउ पुर्‍याउँदै साना किसान सहकारी

घरघरमा मल र बीउ पुर्‍याउँदै साना किसान सहकारी

mal_newskarobar

झापा भद्रपुर नगरपालिका‑४ स्थित साना किसान सहकारी संस्थाले किसानको घरघरमा मल र बीउ पुर्‍याउन थालेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउन लम्बिएपछि किसानलाई बर्खेखेतीका लागि आवश्यक पर्ने मल, बीउ सहकारीले घरघरमा पुर्‍याउन थालिएको हो ।

किसानलाई बर्खेबाली लगाउन सहज होस् भनेर संस्थाले आफ्ना सदस्य र गैरसदस्य किसानको घरघरमा मल, बीउ पुर्‍याउन थालेको संस्थाका अध्यक्ष मदनबहादुर बस्नेतले जानकारी दिए । ‘सेवा क्षेत्र रहेको भद्रपुर वडा नं ४, ६ र ७ का किसानलाई घरघरमै मल र बीउ पुर्‍याउन सुरु गरिएको छ,’ उनले भने, ‘लकडाउनका बेला किसानलाई केही भए पनि सहयोग मिल्ने विश्वास छ ।’

संस्थाले पहिलो चरणमा २०० बोरा डिएपी मल र १०० बोरा उन्नत जातको धानको बीउ सहुलियत मूल्यमा उपलब्ध गराएको छ । संस्थाले कृषि सामग्री संस्थान दमकस्थित कार्यालय र वीरगन्जबाट मल तथा बीउ ल्याएर वितरण गरेको हो ।  समयमै मल, बीउ उपलब्ध गराउन नसकिए उत्पादन घट्ने भएकाले थप मल, बीउ ल्याएर वितरण गर्ने योजना रहेको संस्थाले जनाएको छ ।

प्रकाशित समय ०९:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु