गृहपृष्ठ कृषि सामग्री वितरणमा घोटला, किसान आन्दोलित

कृषि सामग्री वितरणमा घोटला, किसान आन्दोलित

krishak-andolit-newskarobar

रुपन्देहीको शुद्धोधन गाउँपालिकामा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (तरकारी जोन) का किसानलाई वितरण गर्न भनेर ल्याएको सामग्रीमा उपभोक्ता समितिका केही व्यक्तिले मनोमानी गरेपछि किसान आन्दोलित भएका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजनाअन्तर्गत साना व्यवसाय कृषि उत्पादन केन्द्र (ब्लक) विकास कार्यक्रमअन्तर्गत शुुद्धोधन गाउँपालिका कृषि विकास शाखाको ८५ प्रतिशत अनुदान तथा बेलवा प्रगति तरकारी ब्लक वितरण केन्द्रको १५ प्रतिशतको आर्थिक सहयोगमा बुधबार कृषि सामग्री वितरण गरिएको थियो ।

बुधबार वितरित कृषि सामग्री खास किसानहरुले नपाएको र पदाधिकारीले नातावाद, कृपावादका आधारमा दोहोर्याएर बाँडेको किसानको आरोप छ । शुद्धोधन–१ का असन्तुष्ट किसानले आफूहरुले सामग्री नपाएको भन्दै विरोध जनाएका हुन् । गाउँपालिकाका अध्यक्ष किशुनचन्द्र चौधरीको रोहबरमा उपभोक्ता समितिले वितरण गरेको कृषि सामग्री पाउन नसकेकोमा सोही स्थानमा किसान कृष्ण नाउले दुःख व्यक्त गरे ।

समितिले सबै सामान किसानलाई बाँडेको बताए पनि केही सामान एउटा घरमा लुकाएर राखिएको स्थानीय शम्भु चौहानको आरोप छ । २८ कठ्ठा जमिनमा तरकारी उत्पादन गर्दै आएका रामभरोस मल्लले पनि उपभोक्ता समितिले नातागोता हेरेर राहात वितरण गरेको भन्दै आपत्ति जनाए । समितिका अध्यक्ष सुनिल हरिजनले मनपरी ढंगले कृषि उपकरण वितरण गरेको किसानहरुको आरोप छ ।

उपभोक्ता समितिले भने किसानको आरोपमा सत्यता नगरेको जिकिर गरेको छ । समितिका सचिव अयोध्याप्रसाद मल्लाहले केही सामान किसानकै रोहवरमा एउटा घरमा राखिएको बताए । समितिले ३१ लाख ६८ हजारबराबरको कृषि सामग्री वितरण गरेको छ ।

किसानलाई १६ लाख ४० हजारबराबरका ४१ वटा पम्पसेट, ५ लाख ४० हजारका १९ वटा बोरिङ, २ लाख १० हजारका ३१ वटा पावर स्प्रियर ट्यांकी, १ लाख ४० हजारको डिजिटल काँटा र ५२ हजारको २० क्विन्टल प्रांगारिक मल वितरण गरिएको ब्लक वितरण केन्द्रका सदस्य राकेश मल्लाहले जानकारी दिए ।

प्रकाशित समय २०:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु